ठक्कर दिएर फरार भएका कार चालक पक्राउ

सवारी दुर्घटना गराएर फरार भएका एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको शंखरापुर नगरपालिका–६ सुनटोलका ४५ वर्षीय जयनारायण श्रेष्ठ रहेका छन् । उनलाई प्रहरीले आज सवारी साधनसहित पक्राउ गरेको हो ।

गएको सोमबार साँझ ६:४० बजे काठमाडौंको शंखरापुर नगरपालिका वडा नं. ९ खुलालटारस्थित सडकखण्डमा इन्द्रायणीबाट साँखुतर्फ जाँदै गरेको अल्फाबेट नम्बर नखुलेको सेतो रङको कारले पैदलयात्री ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नं. ३ ताप्के डाँडाँका रेतबहादुर तामाङलाई ठक्कर दिएको थियो । तर, चालक सवारी साधनसहित फरार भएका थिए ।

घाइतेको उपचारको क्रममा सोही दिन वीर अस्पतालमा मृत्यु भएको थियो । फरार चालक र सवारी साधनलाई प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले आज मध्याह्न साढे १२ बजे पक्राउ गरेको हो । उनलाई प्रहरीले चाबहिलमा लुकीछिपी रहेको अवस्थामा पक्राउ गरेको हो ।