रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश

तपस्वी भनिएका रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बिहीबार बम्जनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको श्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । 

श्रेस्तेदार अधिकारीका अनुसार बिहीबार बम्जनतर्फका पाँच र दुईजना सरकारी वकिल गरी सातजनाले बहस गरेका थिए । विभिन्न स्थानबाट यौन दुरुपयोग, जबरजस्ती करणी, बेपत्ता पारिएकोसहितका आरोपमा उजुरी परेका बम्जनलाई सर्लाही जिल्ला अदालतबाट भने बाल यौन दुरुपयोग मुद्दामा पक्राउपुर्जीजारी भएको थियो । 

अदालतले बिहीबार बम्जनले १८ वर्षकी किशोरीलाई बालयौन दुरूपयोग गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले काठमाडौंको बूढानिलकण्ठबाट मंगलबार पक्राउ गरेका बम्जनलाई बुधबार सार्वजनिक गरेर सर्लाही पठाएको हो । फरार रहेका बम्जनलाई सीआईबीका डीएसपी धर्मराज भण्डारी नेतृत्वको टोलीले पक्राउ गरेको थियो । उनलाई गाडीबाट सर्लाही लगिएको हो ।