भ्रष्टाचार मुद्दामा अदानचुलीका उपाध्यक्षसहित ११ जनालाई सफाइ

विशेष अदालतले भ्रष्टाचार मुद्दामा ११ जनालाई सफाइ दिएको छ। सफाइ पाउनेमा हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डे तथा उक्त गाउँपालिकाकी उपाध्यक्ष सौमती रावल ऐडीलगायत छन्। 

विशेष अदालतले तीन महिनाअघि दायर मुद्दाामा फैसला गर्दै ११ प्रतिवादीलाई सफाइ दिएको हो। विशेषका सदस्यहरू खुसीप्रसाद थारू, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासबाट यस्तो फैसला भएको हो। 

१६ फागुन ०८० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत गाउँपालिकामा सिँचाइ आयोजना निर्माणका क्रममा अनियमितता भएको दाबीसहित मुद्दा दायर गरेको थियो। 

उक्त मुद्दामा निमित्त प्रशासकीय अधिकृत पाण्डेका साथै गाउँपालिकामै इन्जिनियरका रूपमा कार्यरत मकरध्वज शाही, सब–इन्जिनियर जयराम छन्त्याल, योजना शाखामा कार्यरत मंगल भण्डारी र लेखापाल दीपक नेपालीलाई प्रतिवादी बनाइएको थियो। 

गाउँपालिकाको ढकनीकुनादेखि मुढेघट्टसम्मको सिँचाइ सम्झौतामा निर्धारित सर्त तथा मापदण्डविपरीत निर्माण कार्य भएको दाबी अख्तियारले गरेको थियो। सम्झौताविपरीत काम गराइ, झुठा नापी किताब र उपभोक्ता समितिको बिलका आधारमा भुक्तानी गरेको अभियोग लगाइएको थियो। 

आर्थिक वर्ष ०७४/७५ को उक्त आयोजनामा ४२ लाख २९ हजार रुपैयाँभन्दा बढी भुक्तानी गरी भ्रष्टाचार भएको भन्दै मुद्दा दायर भएको हो। उक्त निर्माण कार्य सम्पन्न प्रतिवेदनसमेत झुठा बनाई फिल्डमा भएको कामभन्दा बढी देखाई भुक्तानी गरिएको थियो। 

यस मुद्दामा वडा नं. ३ का अध्यक्ष दत्त विष्टले पनि सफाइ पाएका छन्। यसैगरी, अनुगमन समितिका सदस्यहरू मानबहादुर टमटा र धनसरा टमटाका साथै उपभोक्ता समितिका अध्यक्ष दत्त रोकाय र कोषाध्यक्ष सिर्जना बुमीलाई पनि विशेषले सफाइ दिएको छ।