सरकारले २०८२ सालको बिदा सार्वजनिक गरेको छ । सार्वजनिक बिदाअनुसार शनिवारसहित वर्षभरि ९७ दिन बिदा हुनेछ । तीमध्ये ४५ दिन सार्वजनिक र ५२ दिन शनिवार बिदा परेको छ ।
गएको मन्त्रिपरिषद्को बैठकले पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पञ्चाङ्ग पात्रोका आधारमा बिदा स्वीकृत गरेसँगै बिदा सार्वजनिक गरेको हो । राजपत्रमा प्रकाशित सूचनाअनुसार १३ दिन पर्व बिदा, ३ दिन सम्बन्धित धर्मसंस्कृति भौगोेलिक क्षेत्र र स्थान विशेष, २ दिन महिला कर्मचारी, १ दिन शिक्षण संस्था, ४ दिन काठमाडौं उपत्यका, ४ दिन जात्रा र पर्व, ६ दिन मुलुकभर सार्वजनिक दिवस, १ दिन अपाङ्गता भएका कर्मचारीलाई, २ दिन सार्वजनिक जन्म जयन्ती, ३ दिन सम्बन्धित धर्मावलम्बीहरूका लागि बिदा दिने निर्णय गरेको छ ।
सार्वजनिक बिदा हुने पर्वमा वैशाख १ गते नयाँ वर्ष, चण्डी र वैशाख पूर्णिमा, साउन २४ गते जनैपूर्णिमा, ३१ गते कृष्णजन्माष्टमी, असोज ६ गते घटस्थापना, असोज १३ देखि १८ गते अर्थात् फूलपातीदेखि द्वादशीसम्म दशैं बिदा, कार्तिक ३ देखि ७ गतेसम्म तिहार बिदा, कार्तिक १० गते छठ पर्व, मंसिर १८ गते धान्यपूर्णिमा, पुस १० गते क्रिसमस डे, पुस १५ गते तमु ल्होछार, माघ १ गते माघे संक्रान्ति, माघ ५ गते सोनाम ल्होछार, फागुन ३ गते महाशिवरात्री, फागुन ६ गते ग्याल्पो ल्होछार, इदउल फित्र र बकर इद परेको दिन, फागुन १८ गते पहाडी र १९ गते तराईमा फागु पूर्णिमा र चैत १३ गते रामनवमी पर्व परेको छ ।
त्यसै गरी पर्व बिदाअनुसार साउन २५ गते गाईजात्रा, भदौ १५ गते गौरा पर्व र सिरुवा पर्वको दिन बिदा हुनेछ । उक्त दिन सो पर्व मनाउनेका लागि मात्र बिदाको व्यवस्था गरेको छ । भदौ १० गते हरितालिका तीज र भदौ ३० गते जितिया पर्व मनाउने महिला कर्मचारीलाई बिदा हुनेछ । माघ ९ गते सरस्वती पूजाको दिन शिक्षण संस्था, साउन २५ गते गाईजात्रा, भदौ २१ गते इन्द्रजात्रा, चैत ४ गते घोडेजात्रा र मच्छिन्द्रनाथको भोटो देखाउने दिन उपत्यकामा सार्वजनिक बिदा हुनेछ ।
दिवस बिदाअन्तर्गत वैशाख १८ गते (मे–१) मजदुर दिवस, जेठ १५ मा गणतन्त्र दिवस, माघ १६ सहिद दिवस, असोज ३ गते संविधान दिवस, फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस, फागुन २४ गते अर्थात् मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवसका दिन सार्वजनिक बिदा परेको छ । त्यसै गरी राष्ट्रिय रूपमा मनाइने तर कार्यालय खुल्ने प्रकृतिका दिवसहरूमा जेठ २१ गते जातीय भेदभाव तथा छुवाछुत उन्मूलन र भदौ २२ गते निजामती सेवा दिवस रहेका छन् ।
सरकारले आगामी वर्ष विदेशस्थित नेपाली नियोगले सम्बन्धित मुलुकका सार्वजनिक बिदालाई समेत दृष्टिगत गरी बढीमा १८ दिनसम्म आफैंले सार्वजनिक बिदा समायोजन गर्न सक्ने निर्णय गरेको छ । बिदाको दिन अत्यावश्यक सेवाअन्तर्गत अस्पताल, दूरसञ्चार, प्रहरी, अध्यागमन, कारागार, फोहोरमैला व्यवस्थापन, फायरबिग्रेड, टक्सार र सार्वजनिक सेवा प्रसारण संस्थाअन्तर्गत रेडियो नेपाल र नेपाल टेलिभिजन, मुद्रण विभाग, हुलाक, शान्तिसुरक्षा, विपद् आदिजस्ता दैनिक र आकस्मिक सेवा प्रदान गर्ने मन्त्रालय, विभाग तथा कार्यालयले गरी १३ सेवा प्रदायक मन्त्रालय र सो अन्तर्गतको निकायले सार्वजनिक बिदाको दिन दैनिक सेवा प्रवाह गर्नुपर्ने छ ।
राजपत्रमा प्रकाशित सूचनाअनुसार बिदाको दिनमा २२ प्रकारका सेवा दिने मन्त्रालयअन्तर्गतका निकायले आवश्यक सेवा दिनुपर्नेछ । त्यसअन्तर्गत नागरिकतासम्बन्धी, राहदानी, कन्सुलर, भन्सार तथा राजस्व, क्वारेन्टाइन, सवारी अनुमतिपत्र, सवारीसाधन दर्ता तथा नवीकरणलगायत यातायात व्यवस्थापनसम्बन्धी सेवा, उद्योग वाणिज्य तथा कम्पनी प्रशासनसम्बन्धी, वैदेशिक रोजगार सेवालाई चालू गर्नुपर्नेछ ।
त्यसै गरी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणसम्बन्धी, मालपोत तथा नापी, स्थानीय तहबाट प्रवाह हुने सार्वजनिक सेवा, भेटेरिनरी, खानेपानी, विद्युत्, सडक तथा ढल मर्मत सम्भार, खाद्य गुणस्तर परीक्षण, विभिन्न शिक्षण संस्थाको परीक्षासम्बन्धी सेवा बिदाको दिन पनि सञ्चालन गर्नुपर्ने छ ।
वैदेशिक अध्ययन अनुमति (एनओसी), नेपाल प्रहरीबाट प्रदान गरिने चारित्रिक प्रमाणपत्रसम्बन्धी सेवा, सम्बन्धित मन्त्रालय वा निकायले तोकेको सार्वजनिक सेवा प्रवाहसम्बन्धी अन्य कारोबार, प्रदेश सरकार र स्थानीय तहले तोकेका सार्वजनिक सेवा प्रवाहसम्बन्धी अन्य सेवा र बैंकिङ तथा बिमासम्बन्धी कारोबार गर्ने सरकारी निकायले सेवा चालू गर्नुपर्नेछ ।
सूचनामा प्रदेश सरकारले आफ्नो प्रदेशभरि लागू हुने गरी ६ दिनमात्र बिदा दिनुपर्नेछ । ६ दिनभन्दा बढी सार्वजनिक बिदा घोषणा गरेमा काठमाडौं उपत्यकाका तीन जिल्लाको हकमा गृह मन्त्रालयले निर्णय गरेअनुसार हुनेछ । प्रदेश सरकारले ६ दिन बिदा दिनुअघि कुनकुन दिन बिदा दिने हो भन्ने विषयमा प्रदेश राजधानी रहेको जिल्ला प्रशासन कार्यालयले यकिन गरी सार्वजनिक बिदाका लागि गृह मन्त्रालयमा अनुरोध गरी पठाउनुपर्ने व्यवस्था गरेको छ । सूचनामा सरकारले खाजाको समयसमेत निर्धारण गरेको छ । खाजाको लागि दिउँसो साढे १ देखि २ बजेसम्म व्यवस्था गरेको छ ।