साताका पुस्तक : प्रधानकाे ‘उदासीन रूखहरू’देखि चाैलागाईंकाे ‘चैतु काका’सम्म

‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ । हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरुलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौं – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटून् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरु सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरु साहित्यपोस्टको कार्यलयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।

यसैक्रममा ‘साताका पुस्तक’मा यो साता सात पुस्तक । प्रधानकाे ‘उदासीन रूखहरू’देखि  चाैलागाईंकाे ‘चैतु काका’सम्म; पुस्तककाे छाेटाे परिचयसहित ।

१. उदासीन रूखहरू — प्रेम प्रधान

साहित्यकार प्रेम प्रधानको मानवीय विज्ञानमा आधारित उपन्यास हो- “उदासीन रूखहरू” । यस उपन्यास फ्रायडेली मनोविज्ञान र अस्तित्ववादी मनोविश्लेषणाका प्रवाहबाट लेखिएको छ ।

“व्यक्ति सत्ताको महत्त्व र विशेषतालाई यसरी महत्त्व दिने सार्त्र स्वयम् दोस्रो विश्वयुद्धमा पक्राउ परेर जर्मनीहरूद्वारा नौ महिनासम्म कैदमा राखिएका थिए ।” भूमिकामा डा. जीवन नामदुङ लेख्छन्, “व्यक्तिलाई उनी विरोधाभासपूर्ण, जिम्मेवार र स्वशासित दुवै एकाइ मानेका छन् । दोस्रो विश्वयुद्धको कटु अनुभवपछि उनी पुराना मान्यता र परम्पराहरू अस्वीकार गरी स्वतन्त्र विवेक र जीवन प्रणाली अनुरूप व्यक्तिले समाजमा बाँच्न पाउने सिद्धान्तका हिमायती सार्त्रले वास्तवमा जीवन जिउने नवीन पद्धतिको आविष्कार गरेका छन् । यस उपन्यासका नायक मनोहरले भने जीवनयुद्धमा हात परेका मृत्यु, यौन, विवाहजस्ता व्यक्तित्वका एकाइबाट पनि जीवनलाई निस्सार, शून्य, एक्लो र लक्ष्यहीन देख्नु तथा स्वयम् यी सबको भोक्त नभएर रमितेमात्र हुनुजस्ता प्रसङ्गहरूले ‘आउटसाइडर’को म्योरसोलझैँ देखिए तापनि सामाजिक युद्धबाट जन्मेका र जन्मने सम्भावित परिणाम विचार्दै स्वयम् विसङ्गतिका भुँवरीमाझ पुग्न खोजेका छन् ।”

पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । २ सय २० पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३ सय ३० रुपियाँ रहेको छ ।

२. ओरालोको सिलसिला — ध्रुव मधिकर्मी

बहुआयामिक साहित्यकार ध्रुव मधिकर्मीकृत पुस्तक हो – “ओरालोको सिलसिला” । यसमा संस्कार, घर झगडा, चङ्गा, ढुङ्गा, भर्याङ्ग लगायत ४० वटा लघुकथाहरू सङ्ग्रहित छन् ।

भूमिकामा किशोर पहाडी लेख्छन्, “मधिकर्मीका लघुकथाहरूमा सामाजिकता छ, राजनैतिक स्पर्शहरू छन् । अनेकौँ विसंगतिहरू तर्फको कठोर व्यङ्ग्य छ र ती सबैलाई उन्ने एउटा कलात्मक धागो । त्यही धागोमा तन्द्रयाङतुन्द्रुङ झुण्डिएका छन् मधिकर्मीका पात्रहरू । ती पात्रहरू केही धार्मिक आस्थाका पात्रहरू छन् भने केही जनावर, चराचुरुङ्गी । तीदेखि बाहेक अरू सबै हम्रै समाजका पात्रहरू छन् । धार्मिक आस्थाका पात्रहरूका महादेव, भष्मासुर, विष्णु हुन् भने प्रतीकात्मक रूपमा बाघ, भेडा, घोडा, गधा जस्ता जनावरहरू पनि मधिकर्मीको यस कथासङ्ग्रहका पात्र बनेका छन् । यी बाहेक समाजका पात्रहरूमा मैले ध्यान दिएको, मधिकर्मीको एउटा पात्र चाहिा जताततै देखिन्छ । त्यो पात्र हो – ऊ ।”

श्रीओम श्रेष्ठ रोदन लेख्छन्, “विगत चार दशकदेखि निरन्तर लघुकथा लेखनमा प्रतिबद्ध छन् ध्रुवजी । युगीन सामाजिक समस्या, गरिबी, अभाव, असुरक्षा, दमन, शोषण, छद्म प्रवृत्ति तथा रुढीगत परम्पराप्रति व्यङ्ग्यात्मक तथा प्रतीकात्मक रूपमा लघुकथामा प्रस्तुत गर्छन् ध्रुवजी । युग र जीवनको समीपमा रहेको मान्छेको यथार्थलाई लघुकथा मार्फत उद्घाटन गर्ने विशिष्टता छ उनमा ।”

पुस्तकलाई सिर्जना अभियान समाजले प्रकाशनमा ल्याएको हो । ७६ पृष्ठमा फैलिएको पुस्तकको मूल्य १ सय ५० रुपियाँ रहेको छ ।

३. चैतु काका — अमृता पाठक चौलागाईं

शिक्षिका अमृता पाठक चौलागाईंको नवीनतम कृति हो – “चैतु काका” । यसमा ‘पुरुषको अहम्’,‘मैले दोस्रो बिहे गरेँ’,देखि लिएर ‘कुरूप को ?’,‘त्यसपछि म कहिल्यै मावल गइनँ’लगायत १६ वटा कथाहरू सङ्ग्रहित छन् ।

“अर्को मन परेको कथा ‘बोझ’ हो । हामीले पाउने कैयौँ उपहारहरू वास्तवमा बोझ मात्रै पनि हुन्छन् । न तिनलाई मासेर घर व्यवहार चलाउन हुन्छ, न तिनलाई देखाएरै हिँडिरहन मिल्छ । कतिपय अवस्थामा तिनको सुरक्षा पनि चुनौती बनिरहन्छ ।…” भूमिकामा कृष्ण धरावासी लेख्छन्, “यस सङ्ग्रहमा भएका कथाहरूले हाम्रै समाजमा हुने गरेका घटना र मनोदशालाई चित्रण गरिरहेका छन् । सामान्य र देखिभोगी रहिएकै कुराहरू राम्रो प्रस्तुतिले पठनीय भएका छन् । वैवाहिक सम्बन्धभित्रका दुर्व्यवहार, सामाजिक शोषण, आर्थिक दूरी, जातीय उत्पीडन, प्रेमका विविधता, मनोवैज्ञानिक विश्लेषण आदि कुराहरूले कथाहरू पठनीय बनेका छन् । अधिकांश कथाहरू अँध्यारो पक्षलाई उधिनेर बाहिर निकाल्न प्रयत्नरत छन् । त्यसैले यस सङ्ग्रहभित्रका कथामा हाँसो, खुसी, आनन्द, मनोरञ्जन खोज्नुभन्दा आफू बसिरहेको समाजमा जीवन कहाँ कसरी कठाङ्ग्रिइरहेको रहेछ भन्ने कुरा बुझ्नतिर लाग्नुपर्ने बोध हुन्छ ।”

पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । १ सय ५८ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३ सय रुपियाँ रहेको छ ।

४. अठासी वर्षमा कैलाश मानसरोवर — नन्दकला सुवेदी

अहिले ९२ वर्षको उमेरमा हिँड्दै गर्नुभएको नन्दकला सुवेदीले ८८ वर्षको उमेरमा कैलाश मानसरोवर यात्रा गर्नुभयो । नेपाल तथा भारतका विभिन्न शहर, बजार, ठाउँ, गाउँ, तीर्थस्थल, देवालय, मठमन्दिरहरूमा साथीसंगती एवम् परिवारजनसँग यात्रा गर्दा देखे भोगेका नयाँ नौला कुराहरूलाई नियात्रासङ्ग्रहमा पोख्नुभयो – “अठासी वर्षमा कैलास मानसरोवर” । यसमा ‘खोपिल्टा खनेर पानी’, ‘दिदीहरू हराए’, ‘अठासी वर्षमा कैलाश मानसरोवर’लगायत १२ वटा नियात्राहरू सङ्ग्रहित छन् ।

भूमिकामा नन्दु उप्रेती लेख्छिन्, “अठासी वर्षको उमेरमा जब आमा समुद्र सतहभन्दा ४,५९० मिटर उचाइमा रहेको तिब्बतको मानसरोवर र त्योभन्दा झन्डै १०० मिटर माथिको कैलाश पर्वतको परिक्रमा गर्ने ठाउँ दार्चेनसम्म पुगेर सकुशल आउनुभयो, अब त आमालाई जसरी पनि नियात्रा लेखाउनै पर्छ भन्ने लाग्यो मलाई । आमाको स्वास्थ्य ठीक भएको बेला, जाँगर चलेको बेला जीवनभरिका सम्झनाहरू सबै लेख्नु होला है भनेर एउटा कलम र डायरी दिएँ । के लेखूँला र मर्ने बेलामा अब भन्दै समात्नु भएको थियो उहाँले मैले दिएको कलम र डायरी ।”

भूमिकामा घनश्याम राजकर्णिकार लेख्छन्, “शताब्दीको उमेरमा हिँडिरहेको अवस्थामा पनि यति राम्रो कृतिको प्रकाशन गर्नु भनेको चानचुने कुरो होइन । लेखिकाले यहाँ मैले पुग्न नसकेका वा घुमेर लेख्न नसकेका कुराहरू लेखेको पाउँदा म अत्यन्तै हर्षित भएको छु । यस पुस्तकभित्रका सामग्रीहरूले धेरै भन्दा धेरै सूचना दिन समर्थ भएका छन् । भौगोलिक, धार्मिक प्राकृतिक र सांस्कृतिक विषयहरू मुभी क्यामेराले खिचेजस्तै तरिकाले प्रस्तुत गरिएको छ। यो नै लेखिकाको विशेषता हो । यसमा प्रयोग भएको कथ्यभाषा पनि उस कृतिले प्राप्त गरेको विशिष्टता हो ।”

पुस्तकलाई नन्दकला सुवेदीका परिवारले प्रकाशनमा ल्याएका हुन् । १ सय ८ पृष्ठमा फैलिएको पुस्तकको मूल्य २०० रुपियाँ रहेको छ ।

५.ब्युँझिएको सास — अनुशा हुमागाईं

लेखक अनुशा हुमागाईंकाे प्रथम उपन्यास हो – “ब्युँझिएको सास” । यथार्थवादमा लेखिएको यस उपन्यासमा नारीका दुख, वेदना मात्र नभएर उनीहरूका इच्छाशक्ति, साहस र हिम्मतलाई सरल भाषाशैलीमा व्यक्त गरेकाे पाइन्छ ।

पछिल्लो कभर पृष्ठमा लेखिएको छ, “अनि, मैले सजिलो बाटो रोजेँ । यसलाई वर्षौं शरीर बेचेर मैले आफैँलाई र मम्मीलाई पालेँ । यसलाई मात्र हैन, यसका साथीहरूलाई पनि । म लाचार थिएँ, सहेँ । म काँतर पनि हुँ । पापी पनि हुँ । मैले केही बाटो देखिनँ । जे भयो त्यसलाई नियति ठानेर स्विकारेँ । आज मेरो जिन्दगी त बर्बाद भयो भयो । मैले गर्दा निभाको पनि जीवन तहसनहस भयो । सब कुरा थाहा पाएर पनि म सधैँ मौन भएँ । म कायर हुँ । म अपराधी हुँ । म आफ्नो शरीर नियाल्छु । शरीरका कुनै पनि अङ्ग मलाई रत्तिभर मन पर्दैनन् । लाग्छ संसारको सबैभन्दा कुरूप शरीर मेरै हो । शरीरबाट नमिठो गन्ध आइरहेझैँ, म आफैबाट कतै टाढा भाग्न खोज्छु तर आफैँबाट भागेर टाढा जान सक्ने ठाउँ संसारमा कहाँ छ ? मैले सुनेकी त छु संसारमा सबथोक सम्भव छ तर के आफैँबाट टाढा भाग्न सक्नु कहिल्यै सम्भव हुन सक्ला ? हो म त्यही असम्भव सत्यलाई जित्ने चाह राख्छु । मलाई आफैँबाट उन्मुक्ति चाहिएको छ । म आफैँबाट छुट्टिन चाहन्छु, सदाको लागि ।”

पुस्तकलाई बुलबुल पब्लिकेशन प्रा. लि. ले बजारमा ल्याएको हो । २ सय ८५ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३ सय ७५ रुपियाँ रहेको छ ।

६. समय — हरिगोविन्द भोमि

कथाकार हरिगोविन्द भोमिद्वारा लेखिएको लघुकथासङ्ग्रह हो – “समय” । यसमा ‘आधार’, ‘दृष्टिकोण’, ‘छिमेकी’, ‘छाउगोठ’लगायत ४० थान लघुकथाहरू सङ्ग्रहित छन् ।

“सामाजिक जीवनका यस्ता विविध पक्षका अलावा हरिगोविन्दले मित्रहरू छिमेकी बन्नासाथ पैदा हुने इर्ष्यालाई छिमेकी लघुकथामा, पैसा साथमा हुँदा मात्र नजिक हुने अवस्थालाई मित्रअमित्रमा नयाँ र पुराना पुस्ताबीच सोच र सम्बन्धको विषयलाई सन्देश, मानसिकता, फरक जीवन आदि लघुकथामा प्रष्ट पारेका छन् । यसैगरी भोट, अन्तर्द्वन्द्व, स्वार्थ, सुमधुर सम्बन्ध आदि लघुकथामा राजनैतिक क्षेत्रमा हुने विकृति, विसङ्गतिलाई विभिन्न प्रसङ्गमा उठाएका छन् । छाउगोठ लघुकथामा छाउगोठको समस्यालाई मात्र उठाईको छैन त्यसको समाधानलाई चेतनामूलक रूपमा प्रस्तुत गरिएको छ । सकारात्मक सोचको एउटा राम्रो रचना आआफ्नो ठाउँ हो ।” भूमिकामा धुव मधिकर्मी लेख्छन्, “भागबन्डा, सामलतुमल, आइ लभ यु, रहस्योद्घाटन, गोप्य, विस्मित् आदि लघुकथामा मानवीय पक्षलाई अलि फरक र रोचक पाराले देखाउने प्रयास छ । मन पर्ने कोखमा बाल मनोविज्ञान, प्रभावकारी छ । समय, तिहारको उपहार, मूलयाङ्कन, मानसिकता आदि लघुकथामा भएको समसामयिक सन्दर्भले पाठकलाई अलग्गै प्रभाव दिन्छ । ”

पुस्तकलाई सिर्जना अभियान समाजले प्रकाशनमा ल्याएको हो । ७५ पृष्ठमा फैलिएको पुस्तकको मूल्य १ सय ५० रहेको छ ।

७. 108 poems _  डा. याम बहादुर रोका

न्यूरो कार्डियो तथा मल्टिस्पेसियालिटी हस्पिटल विराटनगरका वरिष्ठ न्यूरोसर्जन, समाजसेवी तथा कवि डा. याम बहादुर रोकाकाे कवतिा सङ्ग्रह हो – “108 poems (volume 3)” । यसमा ‘The Highway’, ‘On the Balcony’, ‘I lie, You Believe’, देखि लिएर उपशीर्षक ‘The Sad Year Series’मा १२ थान कविता, उपशीर्षक ‘The Lonely Week Series’  मा ७ थान कविता, लगायत १०८ कविताहरू सङ्ग्रहित छन् ।

पछिल्लो कभर पृष्ठमा सुमन पाेखरेल लेख्छन्, “Poet Yam Bahadur Roka is a fine blend of emotions with experiences of a Neurosurgeon and a common man. He creates poetry by melding the feelings together with his distinct tool of word crafting. His poetry is mostly motivated by a desire to reclaim the lost soul of humanity.

कविता…

‘Go Back’

If  I could go back, I’d say sorry,

End the cause of my worry.

Crush the Flower, destroy the hope,

Maybe alter the world, the heart.

Try extinguish the fire, hide the tears,

Enjoy each day and not live in fear.

If I could go back, I’d never write these lines,

These words I say are not of the life I sought.

पुस्तकलाई फिनिक्स बुक्सले प्रकाशनमा ल्याएको हो । १ सय ५९ पृष्ठमा रहेकाे छ ।