स्काउटपछिका दिन…किशोरीहरु भन्छन्—“सक्षम बन्न त स्काउट सबै बिद्यालयमा हुनैपर्छ”

महादेवबेशी - महिला हिँसा बिरुद्ध खुलेरै आवाज उठाउन सक्छु जस्तो लाग्छ धादिङ थाक्रे गाउँपालिका ४ की सम्झना बस्नेतलाई । उनको यो आँट बिद्यालयमा स्थापना भएको स्काउटले दिएको साहस हो । आत्मबल देखी आफ्नो काम आफैँ गर्नुपर्छ भन्ने भावना समेत स्काउटले सिकाएको जनजागृति माध्यमिक बिद्यालयकी छात्रा सम्झना बस्नेत बताउँछिन् । सुरुमा सेती देवी माध्यमिक बिद्यालयमा समुह प्रमुखको रुपमा काम गरेकी बस्नेत अहिले पनि अप्रत्यक्ष रुपमा काम गरिरहेकी छिन् ।

“यो स्काउटमा लागेपछि हरेक कुरामा परिवर्तन भएको छ । बोल्न नसक्ने कुराहरु सबै सामु बोल्न सक्ने भएको छु, शारिरीक देखि मानसिक रुपमा पनि यो स्काउटले सवल बनाएको छ,” समुह प्रमुखको रुपमा काम गरेकी सम्झना अगाडी भन्छिन्—“बिद्यालयमा यो स्काउट आएपछि समाजमा भएका हिँसाका बिरुद्धमा पनि आवाज उठाउन सक्ने भएको छौँ, पहिले सबैको अगाडी बोल्न डर लाग्थ्यो तर अहिले खुलेर बोल्न सक्ने भएको छु, यो स्काउट त सबै बिद्यालयमा हुनैपर्छ जस्तो लाग्छ ।”

स्काउटमा बसेपछि अनुशासनको दायरा फराकिलो हुनुका साथै जुनसुकै काम गर्न पनि आँट आउने सेतीदेवी माबिकी भुतपुर्व छात्रा रेश्मा थापा बताउँछिन् । उनलाई पनि स्काउटमा बस्दा सबै सामु अनुशासित हुन,आत्मबल बिकास गर्न तथा शारिरीक रुपदेखी सामाजिक पक्षसम्म सबल बनेको अनुभुति हुन्छ ।

स्काउटमा लागेपछि शारिरीक तथा मानसिक दक्षतामा बृद्धि हुने सेतीदेवी मावीका शिक्षक तथा स्काउट मास्टर जनक थापाको अनुभव छ । बिगत २ बर्षदेखी स्काउटका बिभिन्न तालिम लिएर स्काउट मास्टरका रुपमा रहेका थापाले सबै बिद्यार्थीहरुलाई समान तालिम रहने बताए । किशोर, किशोरीमा कुनै भेदभाव नहुने यो तालिममा जनचेतनामूलक कार्यक्रम, सरसफाई, हिँसाबिरुद्ध आवाज, आत्मबल बढाउने खेलकुदहरु लगायत बिबिध कार्यक्रमहरु भईरहने स्काउट मास्टर थापाले बताए ।

धादिङ जिल्लाका २६ वटा सामुदायिक बिद्यालयमा स्काउट स्थापना भएको समाजिक अभियानमा लागेकी स्काउट लिडर रबिना पौडेलले बताईन् । बाँकी ५ सय १७ बिद्यालयमा पनि स्काउट स्थापना गर्न ऐन शंशोधन लगायतमा छलफल भईरहेको स्काउट जिल्ला आयुक्त बिनोद मान श्रेष्ठले बताए ।