मन्त्रिपरिषद्का सदस्यहरूको सम्पति विवरण सार्वजनिक, धेरैजसो मन्त्रिहरु करोडपति

मन्त्रिपरिषद्का सदस्यहरूको ६ वर्षदेखि रोकिएको सम्पत्ति विवरण सार्वजनिक गर्ने अभ्यास  सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । ०७४ फागुनमा केपी ओली नेतृत्वको सरकारको कार्यकालपछि मन्त्रीहरूको सम्पत्ति विवरण गोप्य थियो । 

सरकारले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का २१ सदस्यको सम्पत्ति विवरण एकसाथ सार्वजनिक गरेको छ । ३ जेठको मन्त्रिपरिषद् बैठकले वर्तमान मन्त्रिपरिषद्का सदस्यहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

 बाध्यकारी कानुनी व्यवस्था नभए पनि पारदर्शिताका दृष्टिले उच्चपदस्थ पदाधिकारीले सम्पत्ति विवरण सार्वजनिक गर्ने अभ्यास छ । सम्पत्ति विवरणमा व्यक्तिगत गोपनीयतासम्बन्धी कानुन लागू हुन्छ । तर, सरकारले कार्यव्यवस्था नियमावलीमा व्यवस्था गरेरै संघ सरकारका प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने व्यवस्था सुरु गरेको थियो । 

मन्त्रिपरिषद्का सदस्यहरूले सम्पत्ति विवरण सार्वजनिक गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेखेपछि सरकारमाथि दबाब बढेको थियो । गत २४ वैशाखमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्राचार नै गरेका थिए । आफूहरूले बुझाइसकेको सम्पत्ति विवरण सार्वजनिक गरिदिन उनीहरूले एकैपटक अलग–अलग रूपमा प्रधानमन्त्री कार्यालयमा पत्राचार गरेका थिए । 

भ्रष्टाचार निवारण आयोग ऐन, २०५९ को दफा ५० मा ‘सार्वजनिक पद धारण गरेको ६० दिनभित्र र त्यसपछि हरेक नयाँ आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको निकाय वा अधिकारीसमक्ष पेस गर्नुपर्ने’ व्यवस्था छ । त्यस्ता व्यक्तिले आफ्नो र परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण पेस गर्नुपर्छ । 

यसरी प्राप्त भएको सम्पत्ति विवरण गोप्य राख्ने व्यवस्था भए पनि प्रधानमन्त्री र मन्त्रीहरूका हकमा सार्वजनिक गर्ने अभ्यास चलिआएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ मा पनि यससम्बन्धी व्यवस्था छ ।

यसअघि ०७४ को ओली नेतृत्वको सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सरकार बनेको दुई महिनापछि सार्वजनिक गरिएको थियो । तर, त्यसपछि हेरफेर भएका र थपिएका मन्त्रीको सम्पत्ति विवरण गोप्य राखियो ।

प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डले गत वर्ष भदौ २० मा पेस गरेको सम्पत्ति विवरणअनुसार दिवंगत पत्नी सीता दाहालको नाममा भरतपुर महानगरपालिका– वडा नं. १४ मा पार्किङसहितको १४ कट्ठा क्षेत्रफलमा बनेको घर छ । उक्त घर प्राप्तिको स्रोतमा पैतृक उल्लेख गरिएको छ । त्यस्तै, भरतपुर महानगरकै वडा नं. १२ मा अंशबापत प्राप्त भएको एक कट्ठा जमिन रहेको प्रधानमन्त्री प्रचण्डले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । पैतृक सम्पत्तिबापत नै प्राप्त भएको पाँच तोला सुन, प्रतिनिधिसभा सदस्यको हैसियतले पाएको २५ लाख रुपैयाँ एभरेष्ट बैंक लिमिटेडमा मौज्दात रहेको देखिन्छ । 

उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ 
भौतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठले गत २१ वैशाखमा बुझाएको सम्पत्ति विवरणअनुसार पत्नी जुलीकुमारी महतोको नाममा जनकपुर उपमहानगरपालिका वडा नं. ९ मा तीन कट्ठा क्षेत्रफलमा ०५५ सालमा बनेको साढे दुई तलाको घर र ललितपुर महानगरपालिका वडा नं. २५ मा दुई रोपनी १३ आना दुई पैसा एक दाममा ०६६ सालमा जग्गा खरिद गरी साढे दुई तलाको घर बनाएको उल्लेख छ ।   

त्यस्तै, जग्गातर्फ पत्नी महतोका नाममा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा सात बिघा तीन कट्ठा, सिन्धुलीको कमलामाई नगरपालिकामा चार कट्ठा, ललितपुर महानगरपालिकामा एक रोपनी सात आना र जनकपुर उपमहानगरपालिकामा तीन कट्ठा ११ धुर जग्गा विभिन्न समयमा खरिद गरेको सम्पत्ति विवरणबाट खुल्छ । रघुवीरकै नाममा जनकपुर उपमहानगरपालिका वडा नं. १४ मा एक बिघा १५ कट्ठा जग्गा छ । 

त्यस्तै, दुई करोड २५ लाख रुपैयाँ नगद छ । यसको स्रोतका रूपमा काठमाडौं र ललितपुरका जग्गा बिक्री र पैतृक जग्गाको कृषि बालीबाट प्राप्त सम्पत्तिलाई उल्लेख गरिएको छ । त्यस्तै, ४३ तोला सुन र डेढ किलो चाँदी पैतृक तथा उपहारबापत रहेको पनि सम्पत्ति विवरणमा छ । त्यस्तै पैतृक, खरिद र उपहारबापत पाएको सात थान औँठी, तीन थान सिक्री, तीन जोडा कानमा लगाउने र दुई जोड चुरा (बाला) रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ । मन्त्री महासेठ र पत्नी महतोका नाममा सात/सातवटा बैंकमा खाता रहेको उल्लेख छ ।  

पत्नी महतोका नाममा गुलविल फाइनान्स, काठमाडौं र लक्ष्मी बैंक काठमाडौंलगायतमा पाँच लाख रुपैयाँबराबरको, महिला लघुवित्त संस्थामा अर्को एक करोड मूल्यको र कर्पोरेट बैंक वीरगन्जमा अर्को दुई करोड ५० लाख रुपैयाँ मूल्यको सेयर देखिन्छ । यसको स्रोतमा ऋण, सापटी, सहयोग र पैतृक तथा कृषि आय देखाइएको छ । सगोल परिवारका स्व. रामविलास महासेठका नाममा धनुषाको मिथिला विहारी नगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकामा करिब ३३ बिघा, आमा स्व. मायावती महासेठका नाममा साबिक बालावाखर पटेरवा गाविसमा करिब ३९ बिघा १४ कट्ठा (हाल नापीमा छुट) र सगोलको घरजग्गा मिथिला विहारी नगरपालिकामा करिब १० कट्ठा जग्गा छ । 

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ 
गत २० वैशाखमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठले बुझाएको सम्पत्ति विवरणअनुसार गृहजिल्ला गोरखाको सिरानचोक गाउँपालिका वडा नं. ८ मा पैतृक सम्पत्तिबापत प्राप्त उनको करिब ३९ रोपनी जग्गा छ । यो पनि २०५८ सालमै पार्टीलाई हस्तान्तरण गर्ने घोषणा गरेको र यो प्रक्रियामै रहेको उनले उल्लेख गरेका छन् । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकमा सेवा–सुविधाबापत एक लाख २२ हजार ९१८ रुपैयाँ नगद मौज्दात छ । सवारीसाधनका रूपमा पार्टी अध्यक्ष प्रचण्डले प्रयोगका लागि दिएको महिन्द्रा गाडी रहेको पनि उनले उल्लेख गरेका छन् । 

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने 
उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले गत ४ वैशाखमा पेस गरेको सम्पत्ति विवरणअनुसार पत्नी निकिता पौडेलका नाममा काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको वडा नं. ८ मा पाँच आनामा बनेको घर छ । तीन करोड ७५ लाख रुपैयाँमा खरिद गरेको घरको डेढ करोड रुपैयाँ ऋण चुक्ता गर्न बाँकी नै रहेको उल्लेख छ । यसको स्रोतका रूपमा गोपीकृष्ण इन्टरनेसनलको सञ्चालन, भाडा, नारी टिभी, ब्रान्ड एम्बेस्डरबाट प्राप्त पारिश्रमिक, तलब, लाभांशलगायत रहेको खुलाइएको छ । त्यस्तै, जग्गातर्फ लामिछानेका नाममा पैतृक सम्पत्तिबापत भक्तपुरमा एक रोपनी एक आना र पत्नी पौडेलका नाममा गोपीकृष्ण प्रालिमा माइतीतर्फको पारिवारिक सगोलको १० रोपनी आठ आना जग्गाको २५ प्रतिशत सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।  

अधिकांश बुबाआमाबाट र केही खरिद गरेकोसहित विभिन्न गहनामा पत्नी पौडेलको करिब ८० तोला सुन र १५ किलो चाँदी रहेको सम्पत्ति विवरणमा खुलाइएको छ । उपप्रधानमन्त्री लामिछानेका नाममा ग्लोबल आइएमईमा पाँच हजार र नेपाल बैंक लिमिटेडमा एक लाख पाँच हजारसहित एक लाख १० हजार रुपैयाँ र पत्नी पौडेलका नाममा विभिन्न पाँच बैंकमा पाँच लाख ५८ हजार ५११ रुपैयाँ मौज्दात देखिन्छ । पत्नी पौडेलकै नाममा गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्सको आठ करोड ७५ लाख रुपैयाँ मूल्यको २५ प्रतिशत सेयर रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ । 

पौडेलकै नाममा घर किन्न लिएको डेढ करोड रुपैयाँ ऋण पनि सम्पत्ति विवरणमा खुलाइएको छ । उनैका नाममा दम्पतीकै निजी आय तथा बचतबाट खरिद गरेको ४२ लाख रुपैयाँ मूल्यको टाटा नेक्सन इभी कार रहेको पनि सम्पत्ति विवरणमा छ । अन्य सम्पत्तितर्फ पत्नी पौडेलको नाममा रहेको नारी टेलिभिजनको हालको मूल्य तीन करोड र गोपीकृष्ण कामाक्ष्य मिडिया कम्पनीमा एक सञ्चालक रहेकामा त्यसको मूल्य हाल एक करोड रुपैयाँ रहेको उपप्रधानमन्त्री लामिछानेले पेस गरेको सम्पत्ति विवरणमा उल्लेख छ । 

अर्थमन्त्री वर्षमान पुन
गत १८ वैशाखमा पेस गरेको सम्पत्ति विवरणअनुसार अर्थमन्त्री वर्षमान पुनका नाममा रोल्पाको रोल्पा नगरपालिका वडा नं. ७ मा ८२० वर्गमिटरको पैतृक सम्पत्ति, तलब–भत्ता, भ्रमण–भत्तासमेतको ३३ लाख ७० करोड ६१८ रुपैयाँ मौज्दात, पार्टीको सम्पत्ति रहेको एक हलुका सवारीसाधन छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, शक्तिबहादुर बस्नेत
गत २८ वैशाखमा मन्त्री बस्नेतले पेस गरेको सम्पत्ति विवरणअनुसार छोरी संगम बस्नेतका नाममा जाजरकोटमा दुई ठाउँमा जग्गा र पत्नी सत्य पहाडीका नाममा १० लाख रुपैयाँ मूल्यबराबरको माइतीबाट प्राप्त जग्गा छ । त्यस्तै, पारिश्रमिक, तलब–भत्ता, पैतृक र खरिदसमेतबाट आर्जित ३५ लाख रुपैयाँ नगद र पाँच तोला सुन तथा राष्ट्रिय वाणिज्य बैंकमा १० लाख रुपैयाँ पारिश्रमिकबापतको रकम मौज्दात छ । त्यस्तै, पत्नी पहाडीका नाममा ६ लाख रुपैयाँ मूल्यको सेयर छ । पार्टीले दिएको एउटा स्करपियो गाडी पनि उनले सम्पत्ति विवरणमा खुलाएका छन् ।

 संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी 
मन्त्री जोशीले गत ६ चैतमा बुझाएको सम्पत्ति विवरणअनुसार बझाङमा उनको २÷२ रोपनीमा बनेको दुईवटा घर र जयलक्ष्मीदेवी जोशीका नाममा काठमाडौंको कीर्तिपुरमा पाँच आना जग्गामा बनेको घर छ । त्यस्तै, जयराज जोशी र निर्मलाकुमारी जोशीका नाममा विभिन्न क्षेत्रफलमा जग्गा देखिन्छ । जयलक्ष्मीका नाममा चार तोला, लोकेन्द्र जोशीका नाममा ८८.६६ ग्राम, निर्मला कोइरालाका नाममा ३९ ग्राम र रूपा रतालाका नाममा १६ तोला सुन र ६० तोला चाँदी देखिन्छ । उनैका नाममा राष्ट्रिय वाणिज्य बैंकमा एक लाख रुपैयाँ मौज्दात, जयलक्ष्मीको आठ लाख मूल्यको सेयर, निर्मलाकुमारी कोइरालाको नाममा एक स्कुटर रहेकोलगायतको सम्पत्ति विवरण उनले खुलाएका छन् । 

रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री 
गत १० वैशाखमा बुझाएको सम्पत्ति विवरणअनुसार मन्त्री शर्माको पति कृष्णध्वज खड्काको नाममा कीर्तिपुरमा ६ आनामा बनेको अढाई तलाको घर छ । यो पारिश्रमिक, ऋण र पैतृक आयबाट खरिद गरेको उनले खुलाएकी छिन् । त्यस्तै, पैतृक र उपहारबापत ६ तोला सुन र दुई तोला चाँदी तथा दुई बैंक र एक सहकारीमा गरेर २१ लाख ७८ हजार रुपैयाँ मौज्दात छ । राष्ट्रिय वाणिज्य बैंकबाट ६५ लाख रुपैयाँ ऋण लिएको पनि उनको सम्पत्ति विवरणमा उल्लेख छ । पारिश्रमिक र ऋणमा ३६ लाख रुपैयाँमा खरिद गरेको हुन्डाई कारलाई पनि उनले सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन्। 
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी
गत २१ वैशाखमा बुझाएको सम्पत्ति विवरणअनुसार मन्त्री गिरीको नाममा पर्वतको कुश्मामा सात आनामा बनेको पैत्रिक घर, कुश्मामै आफ्नो नाममा सात आना र आमाकोे नाममा चार आना जग्गा रहेको उनले खुलाएका छन् । त्यस्तै, पैतृक सम्पत्तिबापत २३ तोला सुन, सांसदको तलब–भत्ताको दुईवटा बैंकमा गरेर एक लाख मौज्दात, न्यु एरा रेस्टुरेन्ट एन्ड पार्टी प्यालेस पोखरामा ५० लाख रुपैयाँबराबरको सेयर रहेको उनले सम्पत्ति विवरणमा खुलाएका छन् । ४० लाख रुपैयाँ ऋण रहेको पनि उनले उल्लेख गरेका छन् । 

कृषि तथा पशुपन्छीमन्त्री ज्वालाकुमारी साह 
गत १४ वैशाखमा पेस गरेको सम्पत्ति विवरणअनुसार मन्त्री साहको नाममा बारामा दुईवटा घर, अमृत शर्माको नाममा बारामै अर्को घर छ । अमृत शर्माका नाममा ५० लाख रुपैयाँमा खरिद गरेको पैतृक जग्गा पनि छ । मन्त्री साहको नाममा १० तोला सुन र २५ तोला चाँदी, दुईवटा बैंकमा ४० लाख मौज्दात तथा चार कट्ठामा बनेको अढाई तले घर पनि छ । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी 
गत ३ वैशाखमा पेस गरेको सम्पत्ति विवरणअनुसार मन्त्री अधिकारीले बुझाएको सम्पत्ति विवरणमा वसुन्धरा पौडेल अधिकारीका नाममा कपिलवस्तुको वाणगंगा नगरपालिकामा घर छ । कपिलवस्तुको वाणगंगा र बुद्धभूमि नगरपालिकामा करिब डेढ बिघा तथा काठमाडौंको कीर्तिपुरमा ३५ लाख रुपैयाँ मूल्यको जग्गा छ । त्यस्तै, १० तोला सुन र पत्नीसहित उनको नाममा १५ लाख मौज्दात, छोरा मनोज अधिकारको नाममा १५ लाख रुपैयाँ मूल्यको सेयर छ । ४५ लाख रुपैयाँ ऋण दिएको, एक लाख २५ हजार रुपैयाँ मूल्यको मोटरसाइकल पनि उनले सम्पत्ति विवरणमा समेटेका छन् । 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी
मन्त्री भण्डारीले बुझाएको सम्पत्ति विवरणअनुसार उदयसिंह भण्डारीका नाममा बैतडीमा ६ कोठे घर र दुई रोपनी जग्गा छ । त्यस्तै, कविता भण्डारीका नाममा कञ्चनपुरको कृष्णपुरमा दुई कट्ठा जग्गा छ । मन्त्री भण्डारीले आफूसँग ६ तोला सुन, कविता भण्डारीसहित उनको नाममा विभिन्न खातामा १२ लाख २८ हजार रुपैयाँ मौज्दात र प्रसिद्ध भण्डारीको आठ लाख मूल्यको सेयर छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी
मन्त्री चौधरीले बुझाएको सम्पत्ति विवरणअनुसार उनका नाममा सुनसरीको दुहबीमा घर छ भने काठमाडौंमा दुई करोड ६७ लाख रुपैयाँ मूल्यको घर छ । यो स्वआर्जनबाट खरिद गरेको उनले उल्लेख गरेकी छिन् । त्यस्तै, स्वआर्जनबाटै सुनसरीका विभिन्न चार ठाउँमा ४६ लाख रुपैयाँमा जग्गा खरिद गरेको उनले उल्लेख गरेकी छिन् । दाङमा पनि उनको जग्गा  छ । 

आफूसँग ७५ तोला सुन र २५ किलो चाँदी रहेको पनि चौधरीले सम्पत्ति विवरणमा खुलाएकी छिन् । विभिन्न बैंकमा करिब १८ लाखको मौज्दात रहेको पनि उनले उल्लेख गरेकी छिन् । विभिन्न कम्पनीमा तीन लाख ९१ हजार १०५ कित्ता सेयर पनि स्वआर्जनबाट खरिद गरेको उनको सम्पत्ति विवरणमा छ । दुई करोड १० लाखको ऋण लिएकामा एक करोड १० लाख तिरिसकेको पनि उनले उल्लेख गरेकी छिन् । चार लाख ६५ हजार मूल्यको मोटरसाइकल पनि उनको नाममा छ । अन्य सम्पत्तिको विवरणमा उनले २५ किलो चाँदी र ८५ तोला सुन पनि उल्लेख गरेकी छिन् । 

खानेपानीमन्त्री राजेन्द्रकुमार राई 
मन्त्री राईले बुझाएको सम्पत्ति विवरणअनुसार उनको नाममा धनकुटाको पाख्रिबासमा अंशबापतको एउटा घर छ । त्यस्तै, पाख्रिबासमै दुईवटा चियाबगान छ । १० तोला सुन र सय तोला चाँदी पुख्र्यौली सम्पत्तिबाट प्राप्त गरेको उनले खुलाएका छन् । दुई बैंकमा ५५ लाख रुपैयाँ ऋण तथा पत्नी र बुहारीको नाममा १÷१ वटा स्कुटर पनि रहेको उनले उल्लेख गरेका छन् । १० लाख मूल्यका सातवटा गाई र २५ लाख मूल्यका ६३ वटा बाख्रा पनि उनले सम्पत्ति विवरणमा खुलाएका छन् । 

रक्षामन्त्री हरिप्रसाद उप्रेती 
मन्त्री उप्रेतीले सम्पत्ति विवरणमा उल्लेख गरेअनुसार भोजकुमारी उप्रेतीका नाममा सर्लाहीमा १५.५ कट्ठामा बनेको घर र गोविन्दप्रसाद उप्रेतीका नाममा २० कट्ठा जग्गा छ । २५ तोला सुन र १६ लाख मूल्यको गाडी पनि सम्पत्ति विवरणमा उनले खुलाएका छन् । 

सहरी विकासमन्त्री धनबहादुर बुढा 
मन्त्री बुढाको नाममा डोल्पामा चारवटा घर छन् । पत्नीका नाममा काठमाडौंमा १७ आनामा साततले घर र अर्को २० आनामा बनेका तीनतले दुईवटा घर छन् । त्यस्तै, पत्नीका नाममा काठमाडौंमा सात आना जग्गा पनि छ । १५० तोला सुन र ३०० तोला चाँदी पनि मन्त्री बुढाले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । विभिन्न बैंक तथा वित्तीय संस्थामा उनको ६० लाख रुपैयाँ मौज्दात छ । हाइलक्स र प्राडो गाडी पनि उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । यो सबै सम्पत्ति पैतृक र व्यवसायबाट जोडेको उनले खुलाएका छन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल 
मन्त्री अर्यालले सम्पत्ति विवरणमा उल्लेख गरेअनुसार अम्बिका केसीका नाममा काठमाडौंमा तीन करोडमा खरिद गरेको घर छ । यो आफ्नो निजी कमाइबाट किनेको उनले जनाएका छन् । त्यस्तै काठमाडौं, भक्तपुर, धादिङ र लमजुङका विभिन्न ठाउँमा अम्बिका र आफ्नो नाममा पाँच करोड २८ लाख रुपैयाँ मूल्यमा खरिद गरेको जग्गा उनले सम्पत्ति विवरणमा देखाएका छन् । 

त्यस्तै, ८० लाख २० हजारमा खरिद गरेको १५० तोला सुन, ७४ हजार पाँच सयमा किनेको सय तोला चाँदी र पाँच लाख ४० हजारमा खरिद गरेको १० तोला हिरा पनि उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । अम्बिका र आफूसमेतको नाममा विभिन्न बैंक र सहकारीमा दुई करोड १८ लाख रुपैयाँ मौज्दात पनि उनले खुलाएका छन् । जनसागर सहकारीमा मात्र उनको र अम्बिकाको एक करोड ३० लाख मौज्दात छ । त्यस्तै, विभिन्न बैंक र सहकारीमा गरेर ६७ लाख मूल्यको सेयर छ । त्यसमध्ये जनसागर सहकारी, सुवर्णभूमि सहकारी र संयम सहकारीमा गरेर २३ लाख मूल्यको सेयर छ । 

एक करोड ५० लाख रुपैयाँ ऋण रहेको पनि उनले उल्लेख गरेका छन् । आफ्नो नाममा एक करोड २५ लाख मूल्यको टोयोटा प्राडो कार र अम्बिकाको नाममा ४३ लाखको टाटा नेक्सन इभी रहेको पनि उनले खुलाएका छन् । 
यसैगरी, अन्य सम्पत्तिमा उनले एक करोड १५ लाखमा स्वयम्भु स्टार बैंकेट, पाँच लाखमा सुमिरे ट्राभल्स एन्ड टुर्स प्रालि, एक करोडमा इजी लिंक रेमिट र तीन लाख रुपैयाँ मूल्यमा एपिए ह्याण्डीकाफ्टस खरिद गरेको पनि उनले उल्लेख गरेका छन् । यी सबै सम्पत्ति निजी कमाइ र व्यापारबाट जोडेको उनले जनाएका छन् । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ
मन्त्री श्रेष्ठले पेस गरेको सम्पत्ति विवरणअनुसार काभ्रेपलाञ्चोकमा नौ लाख ९५ हजार मूल्यको संयुक्त नाममा रहेको जग्गा छ । त्यस्तै, ११ तोला सुन, सय तोला चाँदी, एक सेट हिरा र एक सेट हिराको टप छ । यसैगरी, पारिश्रमिकबाट आर्जन गरेको एक करोड १५ लाख रुपैयाँ एनआइसी एसिया बैंक र ३७ लाख रुपैयाँ एभरेष्ट बैंकमा उनको मौज्दात छ । त्यस्तै, पारिश्रमिक र विवाहमा उपहारबापत श्रीमानको परिवारले दिएको एक लाख ८० हजार अमेरिकी डलर पनि उनले सम्पत्ति विवरणमा खुलाएकी छिन् । विभिन्न चारवटा कम्पनीमा उनको सेयर पनि छ । २० लाख मूल्यको गाडी र एक लाख ८५ हजार मूल्यको एउटा स्कुटर रहेको पनि उनले खुलाएकी छिन् । 

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ
मन्त्री श्रेष्ठले सम्पत्ति विवरणमा उल्लेख गरेअनुसार वीरेन्द्रभक्त श्रेष्ठ र विकास श्रेष्ठका नाममा काठमाडौंमा दुईवटा घर छन् । त्यस्तै, १५ तोला सुन र ५० तोला चाँदी पनि छ । त्यस्तै, स्वआर्जन, पैतृक, वैवाहिक कमाइसहित विभिन्न बैंक तथा सहकारीमा ८३ लाख ७२ हजार ७५४ रुपैयाँ मौज्दात छ । त्यस्तै, नेपाल स्टक एक्सचेन्जमा सूचीकृत विभिन्न कम्पनीमा उनको एक करोड नौ लाख ८० हजार ५०९ रुपैयाँ मूल्यको सेयर छ । ५० लाख रुपैयाँ ऋण पनि उनले उल्लेख गरेका छन् । आठ लाख ५० हजारको ल्यान्ड क्रुजर (टोयोटा), दुई लाख ४६ हजारको स्कुटर र १९ लाख ७५ हजारमा विद्युतीय सवारी गरी कुल ३० लाख ७१ हजार रुपैयाँको सवारीसाधन खरिद गरेको उनले खुलाएका छन् । तीन लाख रुपैयाँका विभिन्न ब्रान्डेड घडी पनि उनले उल्लेख गरेका छन् । 

वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडी 
मन्त्री साहले बुझाएको सम्पत्ति विवरणअनुसार उनी र अन्य विभिन्न व्यक्तिका नाममा सप्तरीमा नौवटा घर छन् । त्यसमा दुईवटा छानाको घर, एउटा निर्माणाधीन, चारवटा एकतले, एउटा १२ थान छानाको घरलगायत छन् । सप्तरीमै परिवारका विभिन्न सदस्यका नाममा ११ वटा जग्गा र १३ लाख ३८ हजार पाँच सयमा उनले तीनवटा अरू जग्गा खरिद गरेको विवरणबाट खुल्छ । 

त्यस्तै, पत्नी सावित्रीदेवी साह सुडीको ५६ तोला सुन र ६५० ग्राम चाँदी, छोरा सुमित कुमारको ३५ तोला सुन, बुहारी माधवीको २२ तोला सुन र ३३९ ग्राम चाँदी, अर्की बुहारी शालिनी देवीको १७ तोला सुन र २७० ग्राम चाँदी र अर्की बुहारी मञ्जु साहको २८ तोला सुन र १७० ग्राम चाँदी रहेको उनले सम्पत्ति विवरणमा खुलाएका छन् । 

त्यस्तै, मन्त्री सुडीको विभिन्न बैंकमा ४१ लाख मौज्दात छ भने परिवारका सदस्यका नाममा चार लाख ९७ हजार छ । बुहारी मञ्जु साहका नाममा धनुषामा जानकी फन पार्कमा एक करोड ३५ लाख मूल्यबराबरको २५ प्रतिशत सेयर छ । उनले ८० लाख रुपैयाँ ऋण लिएको पनि देखिन्छ । पत्नी सावित्रीदेवी साहको नाममा एउटा गाडी पनि छ । १२ बोर बन्दुक पनि उनले सम्पत्ति विवरणमा खुलाएका छन् । 
स्वास्थ्यमन्त्री प्रदीप यादव र राज्यमन्त्री हसिना खान छुटे
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा केही दिनअघि मात्र नियुक्त भएका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव र राज्यमन्त्री हसिना खानबाहेक सबैको सम्पत्ति विवरण अद्यावधिक गरिएको छ । पदमा बहाल भएको ६० दिन पुगिनसकेकाले उनीहरूले विवरण बुझाउने समय बाँकी नै छ । 

यो समाचार नयाँ पत्रिका दैनिकबाट साभार गरिएको हो ।