आजदेखि नागरिकता प्रमाणपत्रको सिफारिस अनलाइन प्रविधिबाट अनिवार्य गरिएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मंगलवारदेखि लागू हुनेगरी काठमाडौंका ११ वटै पालिकामा अनलाइन सिफारिस अनिवार्य गरेको हो । काठमाडौं प्रशासनले सबै नगरपालिकालाई पत्राचार गरी अबदेखि हस्तलिखित फाराम स्वीकार नगर्ने स्पष्ट पारेको छ ।
सरकारको नीति र निर्णयको कार्यान्वयन गर्दै काठमाडौंका ११ वटै पालिकामा अनलाइन सिफारिस अनिवार्य गरेको काठमाडौं जिल्ला प्रशासनका प्रशासकीय अधिकृत उपेन्द्र शाहले जानकारी दिए । काठमाडौं प्रशासनले काठमाडौं महानगरपालिकासहित ११ पालिकालाई नागरिकता प्रमाणपत्रका लागि अनलाइनमार्फत सिफारिस गर्न पत्राचार गरेको हो ।
कतिपय नगरपालिकाअन्तर्गतका वडाहरूले अझै पनि नागरिकता सिफारिसका लागि हस्तलिखित पत्रहरू पठाइरहेकाले अब त्यस्तो पत्रलाई मान्यता दिन नसकिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । सरकारले देशभरि नागरिकता प्रमाणपत्रलाई अनलाइन प्रविधिमा जोड्ने नीति अपनाएको छ । सो अनुसार गृह मन्त्रालयले आफू मातहतका निकायलाई निर्देशन दिइसकेको छ । सोही निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयहरूले नागरिकता प्रमाणपत्र सिफारिसलाई अनलाइन प्रविधिमा जोड्ने कार्य गरिरहेका छन् ।