पोखराको फिर्केखोलामा मापदण्ड मिचेर १६० संरचना

पोखरामा खोलामाथि नै घर/टहरा बनाएको पाइएको छ। पोखराको फिर्केखोला नापजाँच गर्दा खोलामाथि नै २० वटा घरटहरा निर्माण भएको पाइएको हो। जहाँ १८ वटा स्थायी र १० वटा अस्थायी संरचना निर्माण भएको पाइएको फिर्केखोलाको खोलाघर नापजाँच सम्बन्धी प्राविधिक प्रतिवेदनमा उल्लेख छ।

पोखरा महानगरपालिकाले बनाएको सो समितिले ३२ दिन लगाएर खोलाको नापजाँचपछि बनाएको प्रतिवेदनमा खोलाको मापदण्ड मिचेर १६० वटा संचरना बनाएको उल्लेख छ। जहाँ ३५ वटा स्थायी र ९७ वटा अस्थायी प्रकृतिका संरचना बनाएको जनाइएको छ।

अतिक्रमणको चपेटामा परेको फिर्केखोलाको कुल लम्बाइ करीब ८ किलोमिटर रहेको छ। फिर्केखोला साविक ज्ञारजाती, पछि सराङकोट गाविस हुँदै हाल पोखरा महानगरपालिका वडा–नं.१८, २, ४, ५, ७, ८, ६ र १७ भएर फेवातालमा मिसिएको छ। नापजाँचका क्रममा फिर्केखोला न्यूनतम ३.३० मिटरदेखि उच्चतम ४० मिटर चौडाईंसम्म फराकिलो भएर फैलिएको समितिका संयोजक वासुदेव पौडेलले जानकारी दिए। खोलाको उचाई ४ देखि ९ मिटरसम्मको गहिराई रहेको उनले बताए।

फिर्केखोलाको नापजाँचसँगै यसको सिमाङ्कन पनि गरिएको छ। नापजाँचपछि यकिन गरिएको खोलाघरको पश्चिम तर्फ ३०३ र पूर्वतर्फ २८५ वटा गरि ५८८ सीमा स्तम्भहरु गाडिएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा उल्लेख भएअनुसार फिर्केखोलामाथि २५ वटा पुल तथा कल्भर्टहरु छन्।

प्रतिवेदनमा फिर्केखोला तथा बुलौदीखोलाहुँदै फेवातालसम्म प्लाष्टिकजन्य फोहोर तथा सिसा र बिषाक्त रसायन पुग्ने गरेको जनाइएको छ। जसका कारण प्राणी जिवन संकटमा पर्नुका साथै मानव जिवनमासमेत घातक प्रकृतिका जटिल रोगहरुको जोखिम बढ्ने गरि वातावरणिय प्रदुषण भइरहेको उल्लेख छ। खोला फोहोर फाल्ने डम्पिङ साईड बन्दै गइरहेको भन्दै तत्काल यसको संरक्षण र विकास लक्षित परियोजना सञ्चालन नगर्ने हो भने कालान्तरमा यसको अस्तित्व नै समाप्त हुने सम्भावना रहेको प्रतिवेदनले औंल्याएको छ।

त्यस्तै, खोलामा बग्ने बिषाक्त पानीका कारण वरिपरिको कृषि उत्पादनमा ह्रास आइरहेको र खाद्यसंकटको सम्भावना रहेको, खोलाघरमै मापदण्ड विपरित पक्की संरचनाहरु निरन्तर निर्माण भईरहेकाले खोलाघरको हरियालीमा ह्रास आएको, शहरी तापमानमा वृद्धि भइ जलवायु परिवर्तनका असरहरुको नकारात्मक प्रभाव मानव जीवन र वातावरणमा प्रत्यक्ष रुपमा देखिएको, खोला छेउमा रहेका सार्वजनिक तथा पर्ती जग्गाहरु निरन्तर अतिक्रमण भई भविष्यमा आइपर्ने कुनैपनि प्रकारका विपत्तिहरुमा सुरक्षाका लागि आवश्यक पर्ने खाली स्थानहरुको अभाव हुने अवस्था आईपर्ने चेतावनी पनि प्रतिवेदनमा दिइएको छ।

प्रतिवेदनले खोला आसपासमा हुने भौतिक निर्माणको कार्यलाई तत्काल रोक्न भनेको छ भने वातावरण संरक्षणका लागि सरसफाई अभियानहरु सञ्चालन गर्न, वातावरणिय सुधारका लागि थप क्रियाकलापहरु गर्न, क्लिन पोखरा ग्रिन पोखराको अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउनपनि सुझाव दिइएको छ।

प्रतिवेदनले फिर्केखोला वरपर पर्यटनको अथाह सम्भावना रहेको औंल्याउँदै त्यसका लागि अल्पकालीन र दिर्घकालीन पर्यटन पुर्वाधारहरु निर्माणका लागि ठोष योजनाहरु लागु गर्न सुझाव दिएको छ। साथै विभिन्न स्थानमा पार्कहरु निर्माण गर्न, आवतजावतका लागि सहज पहुँचमार्गहरु विस्तार गर्न, ठाउँठाँउमा चेकड्यामहरु निर्माण गर्न, खोला आसपासमा ग्रिन जोनहरु विकास गरि पैदल तथा साईकल ट्रयाकहरु निर्माण गर्नपनि प्रतिवेदनमा सुझाइएको छ।

प्रतिवेदन पोखरा महानगरपालिकालाई बुझाईएको छ। प्रतिवेदन बुझ्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फिर्केखोलाका सम्बन्धमा यो प्रतिवेदन एक महत्वपूर्ण दस्तावेज तयार भएको बताए। उनले खोलामाथि बनेका र खोलाको मापदण्ड मिचेर बनाइएका संरचना हटाइने बताए। तर हटाउँदा स्थानिय सरोकारवालासँग छलफल र समन्वय गरिने उनको भनाई थियो। उनले भने,'प्रतिवेदनले फिर्केखोलाको अवस्था छर्लङ्ग देखाएको छ, अब कार्यपालिका बैठकमा छलफल पश्चात एउटा निर्णयमा पुग्छौं।’ उनले फिर्केखोलाको संरक्षणका लागि फिर्के करिडोर विकास कार्यक्रम सञ्चालन गरिने बताए।