दोलखाको लामाबगर क्षेत्रबाट भएको सुन तस्करी गर्ने गिरोहविरुद्ध मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय दोलखाले आइतबार जिल्ला अदालत, दोलखामा पक्राउ परेका १५ तथा अन्य १२ फरार अभियुक्तविरुद्ध मुद्दा दायर गरेको हो । दुई महिना लामो अनुसन्धानपछि पाँचवटा कसुरअनुसार सजाय दाबी गरी मुद्दा दायर गरिएको छ ।
प्रहरीले सो समूहले ३३ किलो सुन तस्करी गरेको भन्दै सोहीअनुसार ३१ करोड ११ लाख ७० हजार चार सय ४६ रुपैयाँ बिगो दाबी गरेको छ । त्यस्तै, दुई अर्ब ९१ करोड ४८ लाख ३२ हजार पाँच सय ९३ युनिट युएसडिटीबराबरको क्रिप्टो कारोबार गरेको नेपाल राष्ट्र बैंक ऐनअनुसार पनि सजाय माग गरिएको छ । सो युनिटबराबर झन्डै चार खर्ब रुपैयाँबराबरको कारोबार हुने प्रहरी अधिकारी बताउँछन् ।
भन्सार ऐन, संगठित अपराध निवारण ऐन, नेपाल राष्ट्र बैंक ऐन, बालबालिकासम्बन्धी ऐन तथा अपराधसंहिताको एकीकृत कसुरअनुसार सजाय माग गरी मुद्दा दायर भएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनकै आधारमा मुद्दा दायर भएको जिल्ला न्यायाधिवक्ता अर्जुन कोइरालाले बताए ।
चीनबाट दोलखाको लामाबगर नाका हुँदै पटक–पटक सुन तस्करी भएको र त्यसको भुक्तानी क्रिप्टोमार्फत भएको प्रहरीले जनाएको छ । यसरी सुन तस्करीको रकम क्रिप्टोमार्फत भुक्तानीमा संलग्न महिमा माझीलाई पनि प्रहरीले पक्राउ गरेको छ । क्रिप्टो कारोबारको अभियोगमा पनि मुद्दा चलाउनेबारे छलफल भइरहेको दोलखाका प्रहरी प्रमुख डिएसपी दीपक खड्काले बताए ।
६ असोजमा दोलखाको उत्तरी नाका फलेकबाट तस्करी भई आएको ११ किलो ४५ तोला सुन प्रहरीले बरामद गरेको थियो । फलेक नाकाबाट सुन तस्करी गर्ने गिरोहका मुख्य नाइके चिनियाँ नागरिक ६६ वर्षीय टासी दावा भनिने आगर लामा र गेङ राउ हुन् ।
उनीहरूलाई सघाउने सनत प्रधान, लालबहादुर तामाङ, पेम्बा तामाङ, च्याङ्बा भनिने चसमान तामाङ, केसर तामाङ, माधव मगर, चेतनाथ न्यौपाने, नुर्बुछिरिङ शेर्पा र सुनमाला तामाङलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । तस्करीको सुन किन्ने काठमाडौंका सुन पसले दीपेन्द्र शाक्य र तिलक विक पनि प्रहरी हिरासतमै छन् । एक नाबालक पनि यो मुद्दाका प्रतिवादी छन् । फरार १२ मध्ये तिब्बतमा रहेका आकर लामाका आफन्त, क्रिप्टो कारोबारीलगायत छन् ।