आजपनि घट्यो सेयर बजार

सेयर बजारले आज पनि दबाबकै सामना गरेको छ । आज नेप्से सूचक १७.९३ विन्दुले घटेर १८७६.६० अंकमा आएर अडिएको छ । १ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सूचीकृत अन्यबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । 

पछिल्ला दिनहरुमा केही बढ्ने संकेत देखाएको नेप्से पुनः बिच्किएको छ । आइतबार झन्डै ४८ अंकले बढेपछि सोमबारदेखि बेच्नका लागि ट्रेडरहरु हावी भएका थिए । सोहीक्रम मंगलबार पनि देखिएको थियो । तर यो ट्रेन्डमा बुधबार पनि कुनै परिवर्तन हुन सकेन । यस दिनसमेत नेप्से घट्ने क्रमले नै निरन्तरता पाएको छ । 

सेयर बजारका लागि आवश्यक पक्षहरुमा सुधार हुँदै गएको छ । यद्यपि, आम लगानीकर्ताको मनोबल भने अझै दह्रो बन्न सकेको छैन । विशेषगरी मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा अनावश्यक विलम्ब गरिएको छ । यसले पनि आम लगानीकर्ताको मनोबल कमजोर भएको अनुमान गरिएको छ । लगानीकर्ताहरु यतिबेला दुविधामा परेका छन् । 

यता, एनसेलमा ८० प्रतिशत सेयर स्वामितत्व रहेको विदेशी लगानीकर्ता आजियाटा बाहिरिने घोषणा गरेको छ । यसले पनि विदेशी लगानीकर्तामा नराम्रो सन्देश प्रवाह भएको छ । बुधबार बजार दोहोरो अंकले घट्नुमा यो समाचारको पनि मनोवैज्ञानिक असर परेको अनुमान गरिएको छ । यसले लगानी वतावरण खासै नभएको भन्ने  सन्देश प्रवाह भएको देखिन्छ । 

यस्तै, बुधबार कारोबारको सुरुवातमै नेप्सेमा गडबढी उत्पन्न भयो । प्रि ओपन सेसनमा कारोबार नै हुन सकेन । त्यसपछि पनि नियमिति समयभन्दा २४ मिनेटपछि मात्र बजार खुल्यो । यसले प्रविधिमा पनि आशंका उत्पन्न भएको छ । यसबाट पनि थोरै भए पनि लगानीकर्ता निरुत्साहित बनाउन भूमिका खेलेको कतिपयको भनाई रहेको छ । 

सेयर बजार निकै हदसम्म मनोविज्ञानमा चल्ने गर्छ । लगानीकर्ताको मनोभावना कमजोर हुनासाथ त्यसको असर सूचकमा देखिन्छ । यता, केन्द्रीय बैंकले मौद्रिक नीति समीक्षामा विलम्ब गरिरहेको छ । 

अर्थतन्त्र सुधार हुने गरी मौद्रिक नीति समीक्षा सार्वजनिक गर्न अर्थमन्त्री तथा प्रधानमन्त्रीले अप्रत्यक्षरुपमा दबाब दिएका छन् । व्यवसायीहरुले पनि केन्द्रीय बैंकले निकै नियन्त्रण गरेकाले अर्थतन्त्र चलायमान हुन नसकेको बताउँदै आएका छन् । 

यता, केन्द्रीय बैंक भने सरकार र निजी क्षेत्रले भनेजस्तो एकैपटक नीगितगत व्यवस्थाहरु खुकुलो पारिहाल्ने मनस्थितिमा देखिएको छैन । यही कारण गभर्नरले थप अध्ययन गरिरहेको खबरहरु पनि सार्वजनिक भइरहेका छन् । 

कात्तिक अन्तिम साता आउनुपर्ने मौद्रिक नीति मंसिर दोस्रो साता चलिरहँदा पनि आउन सकेको छैन । यद्यपि, केन्द्रीय बैंकका पदाधिकारीहरुले यसै साताभित्र मौद्रिक नीतिको समीक्षा सार्वजनिक हुने बताइरहेका छन् । यद्यपि, केन्द्रीय बंकले यसअघि कसिएका नीतिहरुलाई क्रमशः खुकुलो पार्दै लगेको छ । 

सेयर बजारसँग सम्बिन्धत नीतिहरुमा पनि लचकता अपनाउँदै जाने थालेको अवस्था छ । प्रणालीमा तरलता थपिएको छ । अर्थतन्त्रका सूचकहरु पनि सबल बन्दै गएका छन् । ब्याजदर पनि क्रमशः सस्तो हुन थालेको छ । यद्यपि, अहिलेसम्म कर्जा प्रवाह भने अपेक्षा अनुसार वृद्धि भएको छैन । 

यता, सेयर बजारका लगानीकर्ताहरुले भने पछिल्लो समय बजारले राम्रो वृद्धि समाउन नसकेपछि थोरै नाफा हुने बित्तिकै सेयर बेचिहाल्ने गरेका छन् ।  लाभांशको सिजन पनि चलिरहेको छ । 

अहिले सेयरधनी बन्नेले निकै छोटो समयमा लाभांश हात पार्न सक्नेछन् । सस्तो मूल्यमा सबल वित्तीय सूचक र लाभांश क्षमता राम्रो भएका कम्पनी पनि छानिरोजी किन्न पाइने अवस्था छ । 

भाउ निकै सस्तो भएका बेला जोखिम पनि कम हुन्छ । बजार बढ्दा पुँजीगत लाभका साथमा लाभांश पनि हात पार्ने सम्भावना रहन्छ । यद्यपि, बजार सुधारका लागि आम लगानीकर्ताको मनोविज्ञान भने सकारात्मक हुन आवश्यक छ । 

यस दिन २८५ कम्पनीको करिब ३३ लाख ५९ हजार कित्ता सेयर कारोबार भएको छ । ६ करोड २८ लाख रुपैयाँसहित कारोबार रकममा सोना मिनरल्स एन्ड आयल लिमिटेड अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआइसी एसिया बैंकको डिबेन्चर र सिटिजन लाइफ इन्सुरेन्स परेका छन् ।