प्रधानमन्त्री प्रचण्ड चीन भ्रमण सकेर आज स्वदेश फिर्ता भएका छन् । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री प्रचण्ड उतैबाट ६ असोजमा चीन पुगेका प्रचण्ड आज छेन्दुबाट काठमाडौं फर्किएका हुन् ।
६ असोजमा हान्झाउमा चिनियाँ राष्ट्रपति सी जिनफिङलाई भेटेका उनले भोलिपल्ट समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका थिए । द्विपक्षीय भेटवार्तापछि विभिन्न सहमति र सम्झौतामा हस्ताक्षर भएको थियो । त्यसपछि भने प्रचण्ड चीनका विभिन्न ठाउँमा घुमेर आज स्वदेश फर्किएका हुन् ।
त्रिभुवन विमानस्थलमा प्रधानमन्त्रीलाई उपप्रधान मन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, पर्यटनमन्त्री सुदन किरातीलगायतले स्वागत गरेका छन् ।
छेन्दुबाट प्रस्थान गर्दा सिचुवान प्रान्तका भाइस गभर्नर, नेपालका लागि चिनियाँ राजदूतलगायतले बिदाइ गरेका थिए । भ्रमणको सन्दर्भमा भने विभिन्न टिकाटिप्पनीहरु भईरहेको छ । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले छिमेकी मुलुक चीनबाट नेपालले अपेक्षाकृत लाभ लिन नसकेको बताएका छन् ।
नेपालको निरन्तरको राजनीतिक अस्थिरता र नेपालका प्रधानमन्त्रीहरुको चीन भ्रमणका क्रममा धेरै क्षेत्रमा सहमति गर्ने तर कार्यान्वयन पक्ष कमजोर हुंदा चीनको विश्वास जित्न नसक्दा सोचे अनुसार सहयोग र लगानी भित्र्याउन नसकिएको शेरचनले बताए ।
नेपालमा यस्तै अर्को अनुपयुक्त बहस विदेश भ्रमणको सफलताको मापदण्डका सम्बन्धमा हुनेगरेको देखिन्छ । भ्रमणका समयमा आतिथेय मुलुकले गर्ने सहायताको प्रतिबद्धतालाई सफलताको मानक मान्नेहरूको सङ्ख्या ठूलै छ ।
विकासोन्मुख भएकाले नेपालमा विकास सहायताको आकांक्षा हुनु पटक्कै अस्वाभाविक वा अनुचित होइन । तर, मित्र राष्ट्रको भ्रमणलाई ‘भिक्षाटन’ बनाउने प्रकारको अपेक्षाले राष्ट्रिय स्वाभिमान कमजोर बनाउँछ ।
यस्ता भिक्षाटनमा प्रचार र हस्ताक्षर गरिने कतिपय सहायता एवं सम्झौताको आवश्यकता र औचित्य कहिल्यै सिद्ध हुनसकेको छैन । कालान्तरमा घाँडो हुनपुगेका कतिपय सहायतालाई उतिबेला ठूलै उपलब्धिका रूपमा प्रचार गरिएको थियो ।
यसैले प्रधानमन्त्री दाहालको चीन भ्रमणको सफलताको मापन सम्झौतामा भएका हस्ताक्षर वा अनावश्यकरूपमा ठूलो भ्रमण टोलीलाई दिइएको मेजमानीका आधारमा हुन सक्तैन । दुई मुलकबीचको विश्वास कति बढ्यो भन्ने नै सफलताको कसी हुनुपर्छ ।
विश्वासको मात्रा गणितीय आधारमा मापन गर्न सकिँदैन । व्यवहारमा देखिने परिवर्तनले त्यसको सङ्केत गर्छ । उदाहरणका रूपमा, चीनसँगका नाकाहरू कति सहज हुन्छन् वा नेपालमा चिनियाँ सहयोगका काम कसरी हुन्छन् भन्ने मापनको एउटा आधार हुनसक्छ ।
यसैले भ्रमण उपलब्धिपूर्ण भयो वा भएन भनेर अहिले टिप्पणी गर्नु हतार हुन्छ । तैपनि दाहाललाई गरिएको स्वागत सत्कार र व्यवहारले भने चीनले नेपाललाई केही सङ्केत दिएको देखिन्छ । चीनकै समेत प्रयत्नमा निमार्ण भएको कम्युनिस्ट गठबन्धन भत्काउन नेकपा ९एमाले० अध्यक्ष खड्गप्रसाद ओलीसँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाल पनि सक्रिय रहेका थिए । तर, उनको स्वागत सक्तकारबाट चीनले दाहालसँग तुस राखेको छैन भन्ने सन्देश दिएको छ ।