भारतीय संसद्को तल्लो सदन लोकसभाका ५४३ सदस्यका लागि भएको निर्वाचन परिणामअनुसार त्रिशंकु संसद्

भारतमा भारतीय संसद्को तल्लो सदन लोकसभाका ५४३ सदस्यका लागि भएको निर्वाचन परिणामअनुसार त्रिशंकु संसद् बनेको छ । कुनै पनि राजनीतिक दलको स्पष्ट बहुमत नभएकाले गठबन्धन सरकार बन्ने निश्चित छ । १९ अप्रिलदेखि १ जुनसम्म सात चरणमा भएको निर्वाचनमा क्षेत्रीय दलहरू निर्णायक देखिएका छन् । 

‘अबकी बार चार सय पार’को नारा अघि सारेको भाजपालाई ठूलो धक्का लागेको छ । उसले सामान्य बहुमतको अंक पनि जुटाउन सकेन । विपक्षी गठबन्धन भाजपालाई एकल बहुमत पुग्नुअगाडि नै रोक्न सफल भएको छ । अर्कोतर्फ चुनावी परिणामलाई लिएर टिभीमा प्रसारित सम्पूर्ण एक्जिट पोल गलत साबित भएका छन् । निर्वाचनपूर्व नै भारतीय जनता पार्टी नेतृत्वमा राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडिए) र भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको इन्डियन नेसनल डेभलपमेन्टल इन्क्लुसिब अलायन्स (आइएनडिआइए) गठबन्धन बनाएर मैदानमा उत्रेका थिए । यसैका आधारमा भाजपा नेतृत्वको एनडिएले बहुमतको अंक पार गरेको छ । 

सन् २०१४ र २०१९ मा एकल बहुमत लिएको भाजपालाई सरकार बनाउन बैसाखी चाहिने भएको छ । प्रधानमन्त्री मोदीले यसपटक एनडिए गठबन्धनले चार सय सिटभन्दा बढी जित हासिल गर्ने दाबी गरेका थिए । तर, गठबन्धन तीन सयको अंक भेटाउन पनि असफल भएको छ । निर्वाचनमा ९७ करोड मतदाता थिए । तर, मतदानको प्रतिशत अपेक्षाकृत थिएन । 

दुई चुनावमा एक्लै बहुमत हासिल भएको भाजपा बहुमतबाट घटेर भारतको सबैभन्दा ठूलो दलमा सीमित भएको छ । भाजपाले सत्ताको दुरुपयोग गरेर विपक्षीमाथि उत्पीडन गरेको आरोप थियो । विपक्षी दलहरूले मोदीको कार्यशैलीको आलोचना गर्दै आएका छन् । ५४३ भारतीय लोकसभामा सरकार गठन गर्न आवश्यक २७२ मत चाहिन्छ । राजनीतिक घटनाक्रममा नाटकीय परिवर्तन नभए अब एनडिए गठबन्धनको सरकार गठन हुनेछ । भाजपाबाट प्रधानमन्त्रीका उम्मेदवारका रूपमा नरेन्द्र मोदी छन् । 

एनडिए गठबन्धनका सहयोगी दलहरूसँग मिलेर भाजपाले सरकार गठन गर्नेछ । भाजपाले बिहारकेन्द्रित नीतीश कुमार नेतृत्वको जनता दल युनाइटेड र आन्ध्र प्रदेशकेन्द्रित चन्द्रबाबु नायडु नेतृत्वको तेलुगु देसम पार्टीलाई साथमा लिएर सरकार गठन गर्नेछ । सन् २०१४ मा भाजपाले २८२ र सन् २०१९ मा ३०३ सिट जितेको थियो । यसअघि दुवै चुनावमा एनडिए गठबन्धनको सिट संख्या तीन सय नाघेकोमा यसपटक तीन सयभन्दा कम संख्यामा सीमित भएको छ । 

भाजपाको पकड विस्तार भएको मानिएको उत्तर प्रदेशमा भाजपाले धक्का पाएको छ । समाजवादी पार्टीले प्रभावशाली उपस्थिति देखाएको छ । राम मन्दिरलाई भाजपाले चुनावी एजेन्डा बनाए पनि मतदाताले त्यसमा भोट हालेका छैनन् । मंगलबार मतगणना हुनुभन्दा केही दिनअघि सार्वजनिक भएका एक्जिट पोलमा भाजपा एक्लैले बहुमत हासिल गर्ने र एनडिए गठबन्धनले दुईतिहाइ मत प्राप्त हुने आँकडा सार्वजनिक भएका थिए । तर, पूर्वानुमानविपरीतको चुनावी नतिजा देखिएको छ ।

स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरू १५ अगस्ट १९४७ देखि २७ मे १९६४ सम्म १७ वर्ष भारतका प्रधानमन्त्री थिए । नेहरूपछि तेस्रो कार्यकालका लागि मोदी प्रधानमन्त्री हुने भन्दै प्रधानमन्त्री मोदीले यसलाई यस निर्वाचनको महत्वपूर्ण पहेलु भनेका छन् । सुरुमा तत्कालीन प्रधानमन्त्री अटल बिहारी बाजपेयी नेतृत्वमा एनडिए गठन भएको थियो । बाजपेयीकै नेतृत्वमा सन् १९९८ देखि २००४ सम्म भारतमा एनडिए गठबन्धनको सरकार गठन भएको यियो । २००४ मा भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसिभ एलाइन्स (युपिए)मा सरकार गठन भएपछिको दश वर्ष एनडिए प्रतिपक्षमा थियो ।

सन् २०१४ यता दुई कार्यकालमा बहुमत आए पनि उसले एनडिए साझेदार दललाई सरकारमा सहभागी गराएको थियो । यसपटक एनडिए गठबन्धनमा भाजपासँग तेलगु देसम पार्टी, जनता दल युनाइटेड, पाटली माकाल काची, द रिपब्लिकन पार्टी अफ इन्डिया आठवाले ग्रुप, शिवसेनालगायत छन् । 

यसपटकको निर्वाचनमा भारतीय राष्ट्रिय कंग्रेसले पछिल्ला दुई लोकसभा चुनावमा भन्दा उत्साहजनक नतिजा हासिल गरेको छ । यद्यपि, कंग्रेसले सयको संख्या पार गर्न सकेको छैन । कांग्रेससहितको गठबन्धन इन्डियामा आबद्ध समाजवादी पार्टी, डिएमकेले पनि विगतका दुई चुनावमा भन्दा उत्साहजनक नतिजा हासिल गरेका छन् । इन्डिया गठबन्धनमा नरहे पनि पश्चिम बंगालकेन्द्रित तृणमूल कंग्रेसले पनि लोकसभामा बलियो उपस्थिति जनाएको छ ।

एनडिएले आन्ध्र प्रदेशमा चन्द्रबाबु नायडु र बिहारमा नीतीश बाबुको नेतृत्वमा विजय हासिल गरे भन्दै प्रधानमन्त्री मोदीले आफ्नो सत्तासाझेदारका रूपमा उनीहरूलाई अथ्र्याएका छन् । भारतीय प्रधानमन्त्री मोदीले भाजपा मुख्यालयमा आयोजित कार्यक्रमलाई यो चुनावको पहेलु भन्दै थपे, ‘१९६२ पछि पहिलोपटक कोही सरकार दुई कार्यकाल पूरा गरेपछि तेस्रोपटक फिर्ता आएको छ । राज्यहरूमा विधान सभाको जहाँ चुनाव भएको छ, त्यहाँ एनडिएको भव्य विजय प्राप्त भएको छ ।’ 

अरुणाचल प्रदेश, आन्ध्र प्रदेश, उडिसा, सिक्किममा एनडिए गठबन्धनको सरकार बन्दै छ । यसलाई मोदीले महत्वपूर्ण उपलब्धिका रूपमा अथ्र्याएका छन् । भारतीय विदेशमन्त्री डा. एस जयशंकरले मोदी सरकारले देशलाई विकसित भारततर्फ लैजाने विश्वास व्यक्त गरेका छन् । ‘संसारको आँखामा हामीले आफूलाई विश्वबन्धु भारतका रूपमा उभ्याउनेछौँ,’ जयशंकरले भनेका छन् । लोकसभा निर्वाचनमा भाजपाकी प्रभावशाली नेतृ तथा मोदीका निकटस्थ मानिने केन्द्रिय मन्त्री स्मृति इरानी पराजित भएकी छिन् । गृहराज्यमन्त्री अजय मिश्र टेनी पनि पराजित भएका छन् ।