वाणिज्य बैंकहरूको आम्दानीमा सुधार, वितरणयोग्य मुनाफामा संकुचन, कुन बैंकको वितरणयोग्य मुनाफा कति ?

आर्थिक वर्ष ०८०/८१ मा वाणिज्य बैंकहरूको आम्दानीमा सुधार आए पनि लगानीकर्तालाई लाभ दिने क्षमतामा भने ह्रास आएको छ । सोमबार बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकहरूको आम्दानीमा प्रमुख हिस्सा ओगटेको ब्याज आम्दानीमा सुधार आउँदा समग्र आम्दानी बढेको हो । ब्याजमा लाग्ने खर्च कटाएपछिको २० वटा बैंकको खुद ब्याज आम्दानी एक खर्ब ९२ अर्ब १२ करोड ८५ लाख पुगेको छ । आव ०७९/८० मा यस्तो आम्दानी एक खर्ब ८६ अर्ब ६ करोड ३६ लाख थियो । 

त्यस्तै, ०८०/८१ मा ब्याजसँगै अन्य आम्दानीसमेत जोडिएको खुद सञ्चालन आम्दानी दुई खर्ब एक अर्ब २५ करोड छ । आव ०७९/८० मा खुद सञ्चालन आम्दानी एक खर्ब ७३ अर्ब ६६ करोड थियो । आम्दानीमा आएको सुधारले खुद नाफामा पनि वृद्धि भएको छ । ०८०/८१ मा २० वटै वाणिज्य बैंकहरूको खुद नाफा ६४ अर्ब एक करोड ७४ लाख पुगेको छ । ०७९/८० मा यस्तो नाफा ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ मात्रै थियो । 

आम्दानीमा भएको वृद्धिले बैंकहरूले तिर्ने आयकरमा पनि वृद्धि भएको छ । आव ०७९/८० मा २५ अर्ब ९६ करोड रुपैयाँको आयकर तिरेका बैंकहरूले आव ०८०/८१ मा २९ अर्ब २६ करोड ९६ लाख रुपैयाँ आयकर तिरेका छन् । नाफा बढाए पनि बैंकहरूको वितरणयोग्य मुनाफा भने घटेको छ । आव ०८०/८१ मा बैंकहरूको औसत वितरणयोग्य मुनाफा ३८ करोड ११ लाख छ । आव ०७९/८० मा यस्तो मुनाफा ८१ करोड २० लाख थियो । समीक्षा अवधिमा प्रतिसेयर वितरणयोग्य मुनाफा औसतमा ९.५५७ प्रतिशतबाट ७.०१५ प्रतिशतमा खुम्चिएको छ । २० मध्ये चार वाणिज्य बैंक मुनाफा वितरण गर्नै नसक्ने अवस्थामा छन् ।

एनआइसी एसिया, हिमालयन बैंक, कुमारी र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक छ । हिमालयन बैंकको वितरणयोग्य मुनाफा पाँच अर्ब ७८ करोड ४६ लाखले ऋणात्मक छ । आव ०७९/८० मा तीन अर्ब २४ करोड २६ लाख ऋणात्मक थियो । एनआइसी एसिया बैंकको वितरणयोग्य मुनाफा दुई अर्ब ३० करोड ४० लाखले ऋणात्मक छ । जबकि अघिल्लो आवमा तीन अर्ब ५३ करोड ४२ लाखले धनात्मक थियो । कुमारी बैंकको वितरणयोग्य मुनाफा तीन अर्ब ७८ करोड ८९ लाख र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वितरणयोग्य मुनाफा तीन अर्ब ४३ करोडले ऋणात्मक छ । 

बैंकहरूले गत आर्थिक वर्षमा सर्वाेच्च अदालतबाट मुद्दा हारेपछि करिब १३ अर्बको फर्दर पब्लिक अफरिङ (एफपिओ)को प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनबापतको कर एकैपटक तिर्नुपरेको थियो । त्यस्तै, कर्जा असुलीमा समस्या आएकाले निष्क्रिय कर्जाको अनुपातमा वृद्धि भएको छ । निष्क्रिय कर्जाका लागि कर्जा नोक्सानी व्यवस्थाबापतको रकम बढाउनुपर्दा वितरणयोग्य मुनाफा खुम्चिएको हो । ०८०/८१ मा बैंकहरूको औसत निष्क्रिय कर्जाको अनुपात ३.५३७ प्रतिशत छ । आव ०७९/८० मा यस्तो अनुपात ३.००९ प्रतिशत थियो । 

तर, आर्थिक शिथिलताले उद्योगधन्दा थिलथिलो बनाइरहेका वेलामा बैंकहरूको आम्दानीलाई सन्तोषजनक मान्नुपर्ने बैंकरहरूको तर्क छ । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेले निर्माण व्यवसायी र उद्योगी–व्यवसायीले लिएका कर्जा बिग्रिएकाले बैंकहरूको आम्दानी बढ्दा पनि मुनाफा वितरण क्षमतामा ह्रास आएको बताए । उनले भने, ‘वर्तमान आर्थिक अवस्थामा मागमा आएको शिथिलता, ठूला उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसकिरहेको र निर्माण क्षेत्रले भुक्तानी नपाएको अवस्थामा अधिकांश बैंकहरूको कर्जा बिग्रिएको छ । यस्तो वेलामा पनि बैंकहरूको पर्फमेन्स सन्तोषजनक मान्नुपर्छ ।’

गत आर्थिक वर्षको मौद्रिक नीतिले केही ऋणीलाई पुनर्तालिकीकरणको सुविधा पनि दिएको थियो । असोजसम्म सुविधा लिएपछि ब्याज उठ्न नसकेको उनको भनाइ छ । ०८१ को असारसम्म सेयर बजारमा सुधार नआइसकेकाले बैंकहरूको सेयर बजारमा केन्द्रित कर्जामा सुधार नआएको उनले बताए । यद्यपि, चालू आर्थिक वर्षको मौद्रिक नीतिले आगामी दिनमा अर्थतन्त्रमा सुधार ल्याउनेमा उनी आशावादी छन् । उनले भने, ‘चालू आवको मौद्रिक नीतिले राहत दिन सक्छ । आउने वर्ष अवश्य राम्रो हुने देखिन्छ । असारसम्म त सेयर बजार पनि बढेको थिएन । बैंकहरूको कतिपय लगानी सेयरमा पनि डुबेको थियो । नेपाल बैंकको हकमा केही ठूला ऋण बिग्रिए । एउटै ऋणीको एक अर्बभन्दा बढीको ऋण बिग्रेको छ । यस्तो अवस्थामा पनि हाम्रो वितरणयोग्य मुनाफा सन्तोषजनक छ ।’

कुन बैंकको वितरणयोग्य मुनाफा कति ?
प्रभु बैंक, प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक, नेपाल बैंक, नबिल बैंक, नेपाल एसबिआई बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वितरणयोग्य मुनाफामा सुधार देखिएको छ । आव ०७९/८० मा दुई अर्ब २३ करोडले ऋणात्मक देखिएको प्रभुको वितरणयोग्य मुनाफा आव ०८०/८१ मा एक अर्ब २२ करोडले धनात्मक बनेको छ ।

प्राइमको एक अर्ब ८६ करोडले सुधार आएर एक अर्ब १९ करोड वितरणयोग्य मुनाफा पुगेको छ । कृषि विकास बैंकको यस्तो मुनाफा एक अर्ब ४१ करोडले सुधार आएर दुई अर्ब ६६ करोड २७ लाख पुगेको छ । नेपाल बैंकले ७६ करोड ९३ लाख वितरणयोग्य मुनाफा पुर्‍याएको छ । नबिल बैंकको वितरणयोग्य मुनाफा तीन अर्ब ८५ करोड पुगेको छ भने नेपाल एसबिआई बैंकको एक अर्ब १३ करोड पुगेको छ ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको मुनाफा तुलनात्मक रूपमा सुधार आए पनि तीन अर्ब ४३ करोडले ऋणात्मक नै छ । सबैभन्दा बढी वितरणयोग्य मुनाफा भएका बैंकहरूमा नबिल, एभरेष्ट, कृषि विकास, स्ट्यान्डर्ड चार्टर्ड बैंक र सानिमा बैंक छन् । एभरेष्टको यस्तो मुनाफा तीन अर्ब ५१ करोड रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्डको दुई अर्ब ४९ करोड र सानिमाको एक अर्ब ४१ करोड रुपैयाँ छ ।  

आर्थिक शिथिलताका बाबजुद बैंकहरूको नाफा सन्तोषजनक : तिलकराज पाण्डे, प्रमुख कार्यकारी निर्देशक, नेपाल बैंक
वर्तमान आर्थिक अवस्था, मागमा आएको शिथिलता, ठूला उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसकिरहेको र निर्माण क्षेत्रले भुक्तानी नपाएको अवस्थामा अधिकांश बैंकहरूको कर्जा बिग्रिएको छ । राष्ट्र बैंकले पुनर्तालिकीकरणको सुविधा दिएपछि असोजयताको ब्याज उठ्न सकेको छैन । उद्योगधन्दा अझै घाटामा छन् । यस्तो अवस्थामा पनि आव ०८०/८१ को बैंकहरूको आम्दानी र नाफा सन्तोषजनक मान्नुपर्छ । 

बैंकहरूको वित्तीय अवस्था अनुमान गरेजति खराब देखिएन : पर्शुराम कुँवर क्षेत्री, पूर्वबैंकर
बैंकहरूको वित्तीय अवस्था खराब नै हुन्छजस्तो लागेको थियो । तर, मैले सोचेभन्दा धेरै राम्रो वित्तीय विवरण आयो । तर, गत आवमा ब्याज खर्च बढेको देखियो । बैंकहरूको ब्याज आम्दानी ६.७६ प्रतिशतले बढ्दा ब्याज खर्च भने ८ प्रतिशतले बढेको देखियो । यसले नाफालाई केही असर गरेको हुन सक्छ । कर्जा नउठ्नु पुरानै समस्या हो । अर्थतन्त्र शिथिल भएको समयमा यस्तो अवस्था आउनु स्वाभाविक नै हो । बैंकहरूले हेर्नुपर्ने भनेको पुँजी पर्याप्तता अनुपात र तरलता अनुपात हो । त्यसमा कुनै समस्या देखिएको छैन । यो समाचार नयाँपत्रिका दैनिकबाट साभार गरिएको हो ।