अब काठमाडौंका सडकमा ‘एआई’को निगरानी

काठमाडौंका सडक क्रमशः ‘आर्टिफिसियल इन्टेलिजेन्स’ अर्थात् एआईको निगरानीमा आउँदै छन् । एआईमा आधारित सिसिक्यामेराको जालोबाट फरार व्यक्ति र शंकास्पद सवारीसाधन फुत्किन गाह्रो हुनेछ । अत्याधुनिक सिसिक्यामेरा जडान गरी प्रविधिमा आधारित पुलिसिङतर्फ प्रहरीले जोड दिइएका छ । र, उपत्यकाका सडकमा सुरक्षाकर्मीको उपस्थितिलाई प्रविधिले विस्थापित गर्दै लगेको छ ।

सहरका मुख्य सडकमा हालै एआईमा आधारित सिसिक्यामेराको प्रयोग बढेको छ । त्यस्ता क्यामेराले फरार व्यक्तिलाई पहिचान गर्नेदेखि शंकास्पद सवारीसाधनलाई ‘ट्र्याक’ गर्ने काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दीपककुमार थापाले बताए । यसले सडकमा प्रहरीको उपस्थितिलाई कम गर्नुका साथै अपराध नियन्त्रण र अनुसन्धानमा थप सहज हुने उनी बताउँछन् ।

हालै जडान गरिएका सिसिक्यामेरामा अटोमेटिक नम्बर प्लेट रिकग्निसन (एनपिआर) र फेस रिकग्निसन (एफसी) प्रणाली छ । यसले क्यामेराकै माध्यमबाट खोजीमा रहेका व्यक्ति तथा सवारीसाधनलाई ‘ट्र्याक’ गर्न सकिने एआइजी थापा बताउँछन् । उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीका अनुसार काठमाडौंको नौ स्थानमा एनपिआर क्यामेरा जडान गरिएका छन् । 

सानेपा, कोटेश्वरको अकासेपुल र ललितपुरको महालक्ष्मीस्थानमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा एनपिआर क्यामेरा जडान भएको हो । काठमाडौंको तिनकुने, महाराजगन्ज, नयाँ बसपार्कमा काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका प्रहरी कार्यालयको सहकार्यमा जडान भएका हुन् । त्यस्तै, नैकाप चोक, थानकोट खरीबोट र हाइभिजन कोलोनीमा चन्द्रागिरि नगरपालिकासँगको सहकार्यमा जडान गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । 

यस्ता क्यामेरा जडान गरिएका सडकमा गुडेका सबै सवारीसाधनका नम्बर प्लेटको फोटो क्याप्चर गरी सर्भरमा पठाउँछ । प्रहरी खोजीमा रहेका कुनै सवारीसाधन त्यहाँ देखिएकामा नियन्त्रणमा लिन सहज हुने एसएसपी मैनाली बताउँछन् । ‘चोरी भएका तथा हराएका सवारीसाधन पहिले नै सर्भरमा अपलोड गरिएको हुन्छ,’ उनी भन्छन्, ‘अब त्यस्ता सवारीसाधन क्यामेरा क्षेत्रमा देखिएकामा तत्कालै प्रहरी कन्ट्रोल रुममा नोटिफिकेसन आउँछ । जसकारण अब अपराध गरेर भाग्न सजिलो छैन ।’ 

यस्ता क्यामेरामा सवारीसाधनको गति नाप्ने प्रणालीसमेत जडान गरिएको छ । त्यस्तै, सिट बेल्ट नबाँध्ने र सवारी चलाउँदा ध्रूमपान गरेकोमा समेत क्यामेराकै मद्दतले ट्राफिक प्रहरीले कारबाही गर्नेछ । यस्ता सिसिक्यामेराकै आधारमा धेरै चालकलाई पछि कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्र भट्ट बताउँछन् । सवारी दुर्घटना गराएर भाग्ने सवारीसाधन पत्ता लगाई कानुनी दायरामा ल्याउन पनि यी क्यामेरा प्रभावकारी हुने उनको भनाइ छ । यो समाचार नयाँ पत्रिका दैनिकबाट साभार गरिएको हो ।