काठमाण्डौ महानगरका कुकुरलाई बन्ध्याकरण र रेबिज विरुद्धको खोप लगाइँदै

काठमाण्डौ महानगरपालिकाले सडकमा छोडिएका कुकुरलाई आजदेखि बन्ध्याकरण र रेबिज विरुद्धको खोप दिने भएको छ । आज महानगरका ९ वटा वडा (४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२) बाट एकैसाथ बन्ध्याकरण र खोपका कार्यक्रम सञ्चालन गर्ने मेयर बालेन्द्र शाह फेसवुकमा स्टाटस लेख्दै जानकारी दिए । उनले बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पशु कल्याण र पशु अधिकारका लागि आफूहरु सचेत रहेको बताएका छन् ।

आउँदो ३ महिनाभित्र ५ हजार ८ सय कुकुरको बन्ध्याकरण र १६ हजार कुकुरलाई रेबिज विरुद्धको खोप दिने पनि जानकारी दिएका छन् । मेयर शाहका अनुसार ९ वडा हुँदै ३२ वडासम्म अभियान चलाउने भनाइ छ । कुकुरलाई बन्ध्याकरण र रेबिज विरुद्धको खोप दिन  तोकिएका सङ्घसंस्था तोकिएका वडामा जानेछन् । जनप्रतिनिधि वा वडाबाट खटिएका कर्मचारीको रोहवरमा सामुदायिक कुकुर र बिरालो समाइने छ । यसरी समातिएका कुकुर बिरालाको विवरण भएको फाराम भर्नेछन् । त्यसपछि बन्ध्याकरण गर्ने ठाउँमा लैजानेछन् ।

बन्ध्याकरण र खोपका क्रममा यसका प्रक्रिया र अवस्थासँग सम्बन्धित फाराम भरिनेछ । त्यसपछि आराम गराएपछि ती कुकुर बिरालालाई उनीहरु बसोबास गर्ने गरेको ठाउँमा लगेर छोडिनेछ । यस क्रममा पनि फाराम भरिने र फाराममा वडाबाट सिफारिस गर्ने, प्रमाणित गर्ने, उपचारका संलग्न चिकित्सकसहितको हस्ताक्षर हुनेछ ।

खोप पाएको वा बन्ध्याकरण गरिएकाहरुको कानमा सङ्केत (एअर नोच) चिह्न हुने मेयर शाहले जानकारी दिएका छन् । यसरी काम गर्नेहरुले वडामा भएका सबै सामुदायिक कुकुर र बिरालाेको खोप र बन्ध्याकरणको काम सकेको वडाबाट सिफारिस भएपछि अर्को वडालाई जिम्मेवारी दिइनेछ ।

काठमाण्डाै महानगरपालिकाले २०८० सालमा कुकुर/बिरालो बन्ध्याकरण, भ्याक्सिनेसन तथा अभिलेखन कार्यविधि जारी गरेको छ ।