राष्ट्रपति निर्वाचन : दलहरुका आ-आफ्नै रणनीति

काठमाडौं - आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा दलहरु आ-आफ्नै रणनीतितर्फ उन्मुख हुन थालेका छन्।

पुस १० मा प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा राष्ट्रपति र सभामुख एमालेले लिने सहमति भइसकेको छ। उक्त सहमति अनुसार राष्ट्रपतिमा आफ्नो उम्मेदवारलाई जिताउन सत्ता गठबन्धनले सहयोग गर्नुपर्ने एमालेले बताउँदै आएको छ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस भने वर्तमान गठबन्धन भत्काएर पुरानै गठबन्धन बनाउन लागिपरहेको छ। त्यसका लागि उसले सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रलाई फकाउन थालेको छ। र, माओवादीको पछिल्लो व्यवहारले कांग्रेस हैसिएको छ।

माओवादीले राष्ट्रपतिमा साझा उम्मेदवार हुनुपर्ने, सकेसम्म राष्ट्रिय सहमति बनाउन कोसिस गर्ने त्यसो नभए विचार मिल्ने दलसँग सहकार्य गर्ने निर्णय गरेपछि कांग्रेस हैसिएको हो।

एमाले भने पूर्वसहमति अनुसार आफूले उठाउने उम्मेदवारलाई माओवादीले विनाशर्त सहयोग गर्नुपर्ने अडानमा छ। दलहरु आआफ्नै अडानमा हुँदा वर्तमान सत्ता गठबन्धनको भविष्यमाथि नै प्रश्न चिन्ह खडा हुन थालेको छ।

संसद्को सबैभन्दा ठूलो दल भए पनि सत्ताविमुख हुन पुगेको नेपाली कांग्रेस राष्ट्रपतिमा आफ्नो उम्मेदवार निर्वाचित गराएर सत्ता राजनीतिमा कमब्याक हुने रणनीतिमा छ। यसको लागि कांग्रेसले केन्द्र सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रलाई फकाउने रणनीति लिएको छ।

माओवादी भने राजनीतिक दलभन्दा बाहिरको व्यक्ति राष्ट्रपतिमा निर्वाचित गराएर आगामी सत्ता राजनीति सहज बनाउने रणनीतिमा छ। राष्ट्रपति चयनमा माओवादी केन्द्र निर्णायक रहेको छ।

राष्ट्रपति निर्वाचनको कारण सत्तारूढ सात दलीय दलहरूबीच भने खटपट सुरु भएको छ। पूर्वसहमति कार्यान्वयनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली दुई दिन विराएर प्रधानमन्त्री प्रचण्डसँग निरन्तर भेट गरिरहेका छन्।

शुक्रबार सत्ता गठबन्धनको तर्फबाट राष्ट्रपतिको उम्मेदवार चयनको विषयलाई मुख्य एजेण्डा बनाएर सत्तारूढ सात दल सम्मिलित नेकपा एमालेका अध्यक्ष ओलीको नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो। तर, उक्त बैठक राष्ट्रपति चयनको मुख्य एजेण्डामै प्रवेश गरेन।

माओवादीको रवैयाप्रति एमाले सशंकित मात्रै भएको छैन, एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना उम्मेदवारलाई जिताउने अभियानमा लागेका छन््। शुक्रबार ओलीले लोसपा अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरे। उनले विभिन्न विकल्पमा छलफल गरिरहेका छन्।

छिमेकी मुलुक भारतले राष्टपति निर्वाचनमा अत्याधिक चासो राखेर खेल खेल्न थालेपछि सो खेललाई काउण्टर दिन ओलीले यो नयाँ खेल शुरु गरेका हुन्।

भारतीय जासुसी संयन्त्रसहित नेपाली कांग्रेस र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिको निर्वाचनमा एमाले उम्मेदवारलाई हराउने रणनीतिमा छन्। यसलाई काउण्टर गर्न ती सबै पक्षलाई मुस्किल पार्ने खेलका गरी राष्ट्रपतिमा ठाकुरको नाम अघि सार्ने प्रयत्नमा छन् ओली।

अर्को पक्षबाट कांग्रेस सभापति शेरबहादुर देउवा वा कृष्ण सिटौला वा दमननाथ ढुंगानाको नाम अघि सारिन सक्ने र आफ्नो पक्षको उम्मेदवार पराजित हुन सक्ने अवस्था आउनसक्ने आकलनका साथ ओलीले ती सबैलाई काउण्टर दिन ठाकुरको नामको चर्चा चलाउने तयारीमा यो छलफल गरेको बताइएको छ।

ठाकुरको नाम अघि सार्दा देउवा, दाहाल र भारतीय पक्षले विरोध गर्न मुस्किल पर्ने र अर्को उम्मेदवार नै खडा गर्न नसक्ने सम्भावनाका आधारमा यो खेल शुरु गरिएको हो।