नेपाललाई बाँकी विश्वसँग जोड्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापना भएको ६० वर्ष नाघिसकेको छ । विकल्पमा अन्य दुई विमानस्थल बनेका छन् । तर यी तीनै विमानस्थलको सुरक्षा र व्यवस्थापनलाई लिएर बारम्बार प्रश्न उठ्ने गरेको छ । अझ त्रिभुवन विमानस्थलमा त राज्यले अवैध काम रोक्न खटाएका कर्मचारी नै आपराधिक समूहको सञ्जालसँग जोडिएको देखिएपछि थप जोखिम बढेको छ ।
नेपालबाट मानव तस्करी भएको भन्दै सरकारले केही मुलुकका लागि भिजिट भिसामा कडाइ गर्दै आएको छ । विशेषगरी संयुक्त अरब इमिरेट्स लगिएका नेपालीलाई तेस्रो मुलुक लैजाने गिरोह नै सक्रिय भएपछि कडाइ गरिएको हो । तर यस्ता अवैध गतिविधि रोक्न भनेर विमानस्थलमा खटाइएका राज्य संयन्त्र नै मानव तस्करीको गिरोहका साझेदार बनेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले यही मंसिर २७ गते नक्कली कागजात तयार पारेर विदेश पठाउने गिरोहका ३३ जनालाई सार्वजनिक गर्यो । जसमा थिए, पाँच सरकारी कर्मचारी-अध्यागमन अधिकृत नरविर खड्का, विमानस्थलमा सुरुवातमै कागजात हेर्ने दुई प्रहरी, टिकटका आधारमा बोर्डिङ पास दिने नेपाल एयरलायन्सका दुई अधिकृत होम पोखरेल र अरविन्द यादव । यी सबैले नक्कली कागजात बाकेर भिजिट भिसामा जाने भन्दै विमानस्थल पुगेकालाई माफियाको योजनामा साथ दिएका हुन् ।
अध्यागमन अधिकृत खड्काको मोबाइलबाट नक्कली कागजात बोकेका ३० जनालाई पास गराइएको सूची नै बरामद भएको छ । १ लाख ५० हजारमा नक्कली कागजात बनाउने कन्सलटेन्सी सञ्चालकदेखि विमानस्थलमा सेटिङ मिलाउने बिचौलिया, एयरलायन्सका कर्मचारी र अध्यागमन कर्मचारीसम्मको सञ्जाल अन्तर्राष्ट्रिय विमानस्थलमा बनेको छ । जसमा १५ सयभन्दा बढी राहदानी त प्रहरीले एकै पटकमा बरामद गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्र राठौरले भने, ‘डेढ लाखदेखि दुई लाख दिइएको छ । यो सेटिङमै चलेको छ । प्रमाणको आधारमा अस्ति पक्राउ पर्नु भएका नविन खड्काकै कुरा गर्दा पनि उहाँको फोनमा केही चिटहरु फेला परेका छन् । हामीलाई प्राप्त सूचनाअनुसार त्यसैअनुसार मानिसहरु पठाइएको भन्ने छ । यसबाट सेटिङमा हुन्छ भन्ने तथ्य प्रमाणित छ ।’
सरकारले अवैध रुपमा विदेश पठाउनेहरुलाई नियन्त्रणका लागि भन्दै मानव बेचबिखन ब्युरोको टोली पनि विमानस्थलमा राखेको थियो । जसले एक वर्षमा नक्कली कागजात बोकेर विदेश जान खोज्ने ७ हजार ६ सय ४७ जनालाई विमानस्थलबाटै फिर्ता गरेको थियो । तर स्पष्ट जिम्मेवारी नदिइनुका साथै दबाबसमेत आएको भन्दै ब्युरो त्यहाँबाट बाहिरियो । मावन बेचबिखनको डरलाग्दो स्वरुप नेपालबाटै तयार हुने गरेको ब्युरोको बुझाइ छ ।
मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमख जीवनकुमार श्रेष्ठ भन्छन्, ‘सुरुवातदेखि हाम्रो ऐन, कानुन दुरुस्त हुनुपर्यो । ऐन कानुनको कार्यान्वयन दुरुस्त ढंगले हुनु पर्यो । र ऐन कानुन कार्यान्वयनका लागि बसेका जति पनि निकायका व्यक्तिहरु छन् उनीहरुको आचरण ठिक हुनु पर्यो । हामीसँग स्रोत साधन पनि त्यही अवस्थामा उपलब्ध हुनुपर्यो । यति गर्न सक्यो भने सायद प्रभावकारी काम हुनसक्छ ।’
त्यसो अन्तर्राष्ट्रिय विमानस्थलभित्र राज्यले परिचालन गरेको संयन्त्र कसरी आपराधिक समूहको प्रभावमा छ भन्ने सुन तस्करीले पनि देखाउँछ । विद्युतीय चुरोटमा सुन ल्याउनेदेखि चिनियाँ समूहको ३ सय किलो सुन तस्करीमा साथ दिने भन्सार एजेन्ट, भन्सार कर्मचारी, सरसफाइ कर्मचारीसम्म गरेर २४ जना यसै वर्षमात्रै पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय सुरक्षाको गम्भीर चासो रहने विमानस्थलमा सरकारी कर्मचारीकै आपराधिक समूहसँगको यो तहको संलग्नता डरलाग्दो भएको पूर्वप्रहरी प्रमुख धीरजप्रताप सिंह बताउँछन् ।
एउटा अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेको गैरकानुनी कामसमेत रोक्न नसकिरहेका बेला थपिएका अन्य दुई विमानस्थललाई कसरी सुरक्षित बनाउने र माफियाको प्रभावबाट कसरी मुक्त गर्ने भन्ने विषय चुनौतीपूर्ण छ । त्यसैले अन्तर्राष्ट्रिय विमानस्थलमा परिचालन गरिएका सरकारी संयन्त्रको दक्षता र प्रभावकारितामाथि बेलैमा सचेत नभए कुनै पनि बेला दुर्घटना निम्तिन सक्छ । यो समाचार कान्तिपुर टिभि अनलाईनबाट साभार गरिएको हो ।