शरीरलाई फिट राख्न कति व्यायाम गर्ने, के खाने?

फिटनेस भनेको दीर्घकालीन कुरा हो। छोटो समयका लागि फिट भएर हुँदैन। तपाईंको जीवनशैली, दिनचर्या नै फिटनेसमा हुनुपर्छ। फिटनेसलाई विभिन्न चरण र समूहमा विभाजन गर्न सकिन्छ। महिला, पुरूष अनि उमेर समूह यसमा जोडिन्छन्।

विश्व स्वास्थ्य संगठनले फिट रहनको लागि कम्तीमा एक सातामा ७५ मिनेटको सिभियर व्यायाम गर्नुपर्छ भनेको छ भने मोडरेट व्यायामका लागि एक सातामा १ सय ५० मिनेटको जरूरी पर्छ।

खानाको विषयमा धेरै प्रसंग आएका छन्। शरीरलाई फिट राख्न ब्यालेन्स डाइट, किटो डाइट, इन्टरमिटेन्ट फास्टिङ लगायतको प्रयोग गरेको पाइन्छ। यसलाई अपनाए पनि\ नअपनाए पनि स्थानीय र मौसमी खानामा जोड दिनुपर्छ। हामीले दीर्घकालसम्मको लागि ध्यान दिनुपर्छ। किटो डाइट र इन्टरमिटेन्ट फास्टिङ अहिले पनि अनुसन्धानकै क्रममा छन्। यो अनुसन्धान पुरूषहरूमा मात्रै गरिएको छ।

अर्को जोसुकैले बिहान धेरै र बेलुका थोरै खाना खानुपर्छ। घाम अस्ताइसकेपछि खान हुँदैन। जुन बेला सक्रिय भइन्छ त्यो बेला धेरै खाने हो तर दिन ढल्किँदै गएपछि खाना कम गर्दै जानुपर्छ। बेलुकाको समयमा प्रोटिन डाइटमा ध्यान दिनुपर्छ। कार्बोहाइड्रेटको काम इनर्जी दिने मात्रै हो। बढी भएको कार्बोहाइड्रेटले मोटोपना बढाउँछ। त्यसैले चाहिने मात्रै कार्बोहाइड्रेट लिनुपर्छ। प्रोटिनले मांसपेशी बलियो बनाउँछ भने शरीरको इन्सुलेटको लागि फ्याट चाहिन्छ। योसँगै आइरन, जिंक पनि चाहिन्छ। यी सबैको सन्तुलन मिलाउन जरूरी छ।

शारीरिक श्रम धेरै गर्नेले कार्बोहाइड्रेटसँगै प्रोटिनमा जोड दिनुपर्छ। तर शारीरिक रूपमा सक्रिय हुँदैनन् भने उनीहरूले कार्बोहाइड्रेट थोरै खानुपर्छ।

मुटुको धड्कन घटाउने औषधी नखाएकाहरूको बसिरहेको बेलामा धड्कन कम छ भने मुटु र फोक्सो स्वस्थ छ भनेर भन्न सकिन्छ।शारीरिक रूपमा बलियो हुँदैमा फिट हुन्छ भन्ने होइन। मुटुको धड्कन आफूले थाहा पाउने गरी व्यायाम गर्नुपर्छ। एक सातामा १ सय ५० मिनेट दौडिएको या एक सातामा ७५ मिनेट कडा व्यायाम गरेको राम्रो हो। त्यो कसरत एक दिन गरे पनि हुन्छ भनिएको छ तर ७५ मिनेटलाई विभाजन गरेर कडा व्यायाम गर्दा शरीरलाई फाइदा पुर्‍याउँछ।