सुरक्षण मुद्रण कोषका निलम्बित कार्यकारी निर्देशकको अवैध सम्पत्ति खोज्न अमेरिकी सरकारको सहयोग

सुरक्षण मुद्रण कोषका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलले विदेशमा लुकाएको सम्पत्ति खोज्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अमेरिकी सरकारको पनि सहयोग लिएको छ । दुई देशबीच पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौता नभए पनि अमेरिकाले आवश्यक विवरण दिएर अनुसन्धानमा सघाएको हो । 

अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिस, क्रिमिनल डिभिजन, वासिंगटन डिसीले पौडेलले अमेरिकामा घर खरिद गरेकोदेखि अमेरिकी स्थायी आवासीय अनुमतिपत्र लिएको विषयमा आधिकारिक पुष्टि गरेर अनुसन्धानमा सघाएको हो । आयोगले कानुन, न्याय तथा संसदीय मन्त्रालय हुँदै पारस्परिक कानुनी सहायता ऐनअनुसार अमेरिकी सरकारसँग उनको विवरण माग गरेको थियो । 

अमेरिकी सरकारको सहयोगमा उनको विदेशमा रहेको सम्पत्तिदेखि पिआरको पुष्टि गर्न सम्भव भएको आयोगले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ । अमेरिकी सरकारले दिएको जानकारीअनुसार ८ असोज ०७८ मा पौडेलले श्रीमती एलिना बस्नेतको नाममा न्युयोर्कमा पाँच लाख १५ हजार अमेरिकी डलरमा घर खरिद गरेका थिए । विवरणअनुसार अमेरिकामा उनले हुन्डीबाट समेत आर्थिक कारोबार गरेको देखिएको छ । त्यस विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छुट्टै अनुसन्धान गरिरहेको छ । 

यो अनुसन्धानमा अमेरिका मात्र होइन, सिंगापुरले पनि नेपाललाई सघाएको छ । सिंगापुरको अटोर्नी जनरर्ल च्याम्बर्सले उनको सिंगापुरको युनाइटेड ओभरसिज बैंकमा खाता रहेको पुष्टि गर्दै त्यसमा शंकास्पद कारोबार भएको विवरण पठाएको थियो । सिंगापुरमा मात्र उनले २८ करोड रुपैयाँ लुकाएका छन् । 

संयुक्त अरब इमिरेट्स (युएई) र क्यानडामा पनि उनले भ्रष्टाचार गरेर सम्पत्ति लुकाएको सूचना आयोगले पाएको छ । आयोगले पारस्परिक कानुनी सहायतासम्बन्धी कानुनअनुसार ती देशसँग पनि विवरण माग गरे पनि जवाफ आइनसकेको अख्तियार स्रोत बताउँछ । द्विपक्षीय सम्झौता नहुँदा कतिपय देशले अपराध तथा भ्रष्टाचारमा संलग्नहरूको सूचना उपलब्ध नगराउने गरेका छन् । अख्तियारले उनको विदेशमा रहेका केही कारोबारका विषय नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी एकाइमार्फत समेत संकलन गरेको थियो । राष्ट्र बैंकले विश्व जानकारी सञ्जालमार्फत सिंगापुरको खातामा भएको शंकास्पद कारोबारबारे जानकारी लिएको थियो । 

६२ करोड गैरकानुनी सम्पत्ति आर्जन गरेको विषयमा आयोगले ९ जेठमा पौडेलविरुद्ध मुद्दा दायार गरेको थियो । यसमा विशेष अदालतले बुधबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । आदेशसँगै चार महिना अख्तियारको हिरासतमा बसेपछि उनी जेल चलान भएका छन् । उनीविरुद्ध भ्रष्टाचारका चार मुद्दा दायर भएकोमा दुईमा दोषी ठहर भइसकेका छन् । सरकारी सेवामै रहँदा अमेरिकाको पिआर लिएको मुद्दामा विशेषले १४ जेठमा दोषी ठहर गरी एक वर्ष कैद सुनाइसकेको छ । ८ जेठमा पौडेलसहित चारजनाविरुद्ध सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा नौ करोड ६२ लाख भ्रष्टाचार गरेको ठहरसहित फैसला सुनाएको थियो । पौडेलका कारण सरकारलाई २५ करोड ४७ लाखभन्दा बढी नोक्सानी भएको ठहरसहित दुई वर्ष कैद सजाय सुनाएको थियो । प्रेस खरिदमै अनियमिततासम्बन्धी गत ३० वैशाखमा उनीविरुद्ध अर्काे मुद्दा दायर भएकोमा त्यो भने विचाराधीन छ । ०६१ मा राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कम्प्युटर इन्जिनियर पदबाट सेवामा प्रवेश गरेका पौडेल ०७४ मा सुरक्षण मुद्रणको कार्यकारी निर्देशक नियुक्त भएका थिए ।

नेपालमा ठेक्का, थाइल्यान्ड र अमेरिकाबाट सिंगापुरमा कमिसन 

सिंगापुरमा कमिसन लिनकै लागि पौडेलले खाता खोलेको अख्तियारको अनुसन्धानमा देखिएको छ । करिब तीन वर्षको अवधिमा युनाइटेड ओभरसिज बैंकको उनको खातामा २८ करोड ९५ लाख रुपैयाँबराबरको विदेशी मुद्रा विभिन्न कम्पनीले जम्मा गरेका छन् । 

सिंगापुरको इन्टासेफ कम्पनीले मात्र उनको खातामा सातपटक गरेर चार करोड ५१ लाख ८९ हजार रुपैयाँ कमिसनका रूपमा जम्मा गरिदिएको थियो । ब्यान्कोटेक कम्पनीले १२ पटक गरेर १० करोड ७७ लाख चार हजार जम्मा गरेको विवरणसमेत अनुसन्धानमा पुष्टि भएको थियो । 

नेपालकै वर्ल्ड डिस्ट्रिब्युसन नेपालले सातपटक गरेर सिंगापुरको उनको खातामा दुई करोड ८४ लाख २९ हजार रुपैयाँ जम्मा गरेको थियो । वर्ल्ड डिस्ट्रिब्युसनका सञ्चालक विजेन्द्र जोशी र उनकी श्रीमती सोनी जोशीले थाइल्यान्डमार्फत सो रकम जम्मा गरिदिएका थिए । आफ्नो कम्पनीलाई ठेक्का दिएबापत यसरी पौडेलको सिंगापुरको खातामा कमिसन जम्मा गरिदिएको बयान उनीहरूले दिएका छन् । 

विजेन्द्रले भनेका छन्, ‘हाम्रो संयुक्त कम्पनी वर्ल्ड डिस्ट्रिब्युसन नेपाल प्रालिका तत्कालीन एमडी अरुण श्रेष्ठको अनुरोधमा कम्पनीको तर्फबाट विदेशी मुद्रा विकल पौडेलले ठेक्का मिलाइदिएबापत कमिसनस्वरूप विकल पौडेलको खातामा जम्मा गरेको हो ।’ सो कम्पनीलाई पौडेलले मिलेमतोका आधारमा दिएका ठेक्काहरूको अख्तियारले छुट्टै अनुसन्धान अधिकृत तोकेर छानबिन गरिरहेको छ । 

अख्तियारले गत १० माघमा उनलाई पक्राउ गरी अनुसन्धान थालेको थियो । उनको घरबाट बरामद ल्यापटप र मोबाइलबाट घुस लेनदेनका थप प्रमाण पत्ता लागेका हुन् । मोबाइलबाट उनको राजनीतिक नेतृत्व तथा कर्मचारी प्रशासनका उच्च तहका व्यक्तिसँग ठेक्का तथा कमिसनका विषयमा भएका कुराहरूसमेत आयोगले पत्ता लगाई त्यसमा छुट्टै छानबिन गरिरहेको छ । 

आयोगले पौडेलसँग मिलेर सरकारी ठेक्का हात पार्ने पाँच कम्पनीमाथि पनि छानबिन थालेको छ । नेक्स्टजेन सोलुसन, म्याक्स इन्टरनेसनल, वर्ल्ड डिस्ट्रिब्युसन नेपाल, ओम्नी इन्टरनेसनल (ओबिसिआई), इन्जिनियरिङ मार्केटिङ कन्सर्नलगायत कम्पनीबाट पौडेलका परिवार तथा आफन्तको नाममा पैसा गएकोसमेत देखिएको छ । 

नेक्सजेन सोलुसनलाई ठेक्का दिँदा अमेरिकामा रहेको इन्टासेफ कम्पनीले सिंगापुरमा रहेको उनको बैंक खातामा चार लाख दुई हजार डलर जम्मा गरिदिएको थियो । म्याक्स इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत साहिना हुसेनसँग मिलेर धेरै ठेक्का दिएको विषयमा पनि आयोगले छुट्टै अनुसन्धान गरिरहेको छ । 

कतिसम्म भने टेन्डरको स्पेसिफिकेसन नै व्यापारीले बनाउने गरेको देखिएको छ । दीपक आनन्द नामक व्यक्तिसँग उनले गरेको च्याटमा पठाइएको स्पेसिफिकेसनअनुसार नै बोलपत्र निकालेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ । 

विद्युतीय विवरणबाट उनले गैरकानुनी रूपमा अमेरिकामा श्रीमती एलिना बस्नेत तथा साला एलिसराज बस्नेतको नाममा हुन्डीबाट पैसा पठाएको देखिएको आयोगले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान गर्न अख्तियारले सिआइबीलाई पत्राचार गरिसकेको छ । 

साथै हुन्डीमार्फत पैसा अमेरिका पठाई बैंकिङ माध्यमबाट नेपालमा ल्याई सम्पत्ति शुद्धीकरण गरेको देखिएको भन्दै सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अख्तियारले छानबिन थालेको छ । नयाँ कानुनअनुसार सम्बद्ध अपराधमा अब अख्तियारले सम्पत्ति शुद्धीकरण कसुरमा पनि आफैँ अनुसन्धान गर्न पाउँछ । 

साथै पौडेलसँग शंकास्पद कारोबार देखिएका सायद ताहिर शाह, अकबर हुसेन, दीपक आनन्द, प्रदीप कार्की, केशवराज बस्नेत, देवकी खड्का बस्नेत, एलिसराज बस्नेत, जुना न्यौपाने खत्री, विष्णुमाया राई, अरण श्रेष्ठ, विनयमान साउन, सुधीर पराजुली, सिद्धार्थ थापा, नवीन तुलाधर, सरु थापामाथि थप प्रमाण भेटिएको अवस्थामा अनुसन्धान गरिने आयोगको अभियोगपत्रमा उल्लेख छ । 

नेपाल टेलिकमका निलम्बित प्रबन्ध–निर्देशक सुनील पौडेल र विकलको भ्रष्टाचार शैली अख्तियारको अनुसन्धानमा उस्तै देखिएको छ । पौडेलले पनि सिंगापुरमा बैंक खाता खोलेर कमिसन जम्मा गरेका थिए । पौडेल पनि हाल भ्रष्टाचार मुद्दामै अदालतको आदेशमा कारागारमा छन् । उनीहरू दुवैजना मिलेर ठूला ठेक्कामा सेटिङ मिलाउने गरेको सूचनाका आधारमा अख्तियारले एकै दिन पक्राउ गरी अनुसन्धान थालेको थियो । यो समाचार नयाँपत्रिका दैनिकबाट साभार गरिएको हो ।