उपचुनाव : इलाम–२ मा २० जना र बझाङमा १२ जनाको उम्मेदवारी दर्ता, हेर्नुहोस कुन दलबाट को-को छन् उम्मेदवार ?

प्रतिनिधि सभाअन्तर्गत इलाम–२ मा हुन गइरहेको उपचुनावका लागि २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले तोकेको समयअनुसार आज उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउनेमा १२ जना राजनीतिक दलको तर्फबाट र आठ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालय इलामकाअनुसार नेकपा एमालेबाट सुहाङ नेम्वाङ, कांग्रेसबाट डम्बर खड्का, नेकपा एकीकृत समाजबादीबाट जितबहादुर राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मङ्गोल नेश्नल अर्गनाइजेशनका मनेबहादुर लिम्बू, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं लिम्बू, डाकप्रसाद गौतमले उम्मेदवारी दर्ता गरेको छ । नेकपा माओबादी केन्द्रले एमालेका उम्मेदवारलाई समर्थन गरेको छ ।

त्यस्तै राप्रपाबाट लक्ष्मी गुरुङ, राप्रपा नेपालबाट गणेश बहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन दलबाट जयवन्त विक्रम शाह, नेपाली जनता दलबाट रेशम बहादुर सुनार, नेश्नल रिपब्लिकन पार्टीबाट धनराज रानामगरले उम्मेदवारी दर्ता गरेको छ । उम्मेदवारी दर्ता गरेका उम्मेदवारविरुद्ध भोलि बिहान १० बजेदेखि ३ बजेसम्म विरुद्ध उजुरी दिने कार्यसूची छ । भोलि नै दिउँसो ३ देखि ५ बजेसम्म मनोनयन पत्र र उजुरी जाँचबुझ गरी निर्णय गर्ने कार्यसूची रहेको निर्वाचन आयोगले जनाएको छ ।

चैत २६ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, चैत २७ गते उम्मेदवारले नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह दिने कार्यसूची रहेको छ । इलाम–२ मा ७९ मतदान स्थल तथा १४९ मतदान केन्द्र तोकिएका छन् । इलाम २ बाट निर्वाचित एमाले नेता सुवाचन्द्र नेम्वाङको निधन भएपछि त्यहाँ उपचुनाव हुन लागेको हो ।  

त्यस्तै प्रदेश सभाअन्तर्गत बझाङ १ (क) मा हुने उपचुनावका लागि १२ जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन आयोगले तोकेको समयअनुसार आज विभिन्न दल र स्वतन्त्र गरी १२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । बझाङ १ (क) मा सत्तारुढ गठबन्धनमा आबद्ध दल पनि आपसमा प्रतिस्पर्धा गर्ने भएका छन् । जिल्ला निर्वाचन अधिकृतको कार्यालय बझाङकाअनुसार उपचुनावका लागि नेपाली कांग्रेसका अभिषेक सिंह, नेकपा एमालेका दमनबहादुर भण्डारी र नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले उम्मेदवारी दर्ता गरेकाे छ । राष्ट्रिय स्वतन्त्र पार्टीले भने यसअघि नै प्रदेश सभामा उम्मेदवारी नदिने निर्णय गरेको छ ।

यस्तै राष्ट्रिय मातृभूमि पार्टीका तर्फबाट गजेन्द्रबहादुर थापा, नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही, नेसनल रिपब्लिक नेपाल पार्टीबाट कमल घर्तीमगर, जनता समाजवादी पार्टी (जसपा)का रामबहादुर जाग्री, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट किशोरकुमार खड्का, नेकपा (माओवादी केन्द्र)का जनक बुढा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट दीपकबहादुर खड्काले उम्मेदवारी दर्ता गरेको छ ।

जनमत पार्टीका सुशीला देवी विष्ट र नेपाली जनता दलका तर्फबाट अशोक सुनारले उमेदवारी दर्ता गरेको छ । सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि रिक्त प्रदेशसभा सदस्य पदमा उपचुनाव हुन लागेको हो । निर्वाचन आयोगको कार्यसूचीअनुसार भोलि उम्मेदवारको विरोधमा उजुरी दिने तथा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम छ ।

चैत २६ उम्मेदवारको नामावली प्रकाशन गर्ने र चैत २७ गते उम्मेदवारको नाम फिर्ता लिने कार्यक्रम छ । निर्वाचन अधिकृतको कार्यालयले चैत २७ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिह्न प्रदान गर्ने छ । बझाङ १ (क) मा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र हुने छन् ।