आज अपराह्नपछि काठमाडौंमा मेघगर्जनसहित वर्षाको सम्भावना

देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । काठमाडौंसहित केही क्षेत्रमा वर्षा हुनेछ । दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया मौसम सफादेखि आंशिक बदली रहनेछ । कोसी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिए । 

देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । काठमाडौंमा पनि आज वर्षाको सम्भावना छ । अपाह्नपछि काठमाडौंमा वर्षाको सम्भावना रहेको मौसमविद् झाले जानकारी दिए । “काठमाडौंको अपहराह्नपछि हल्का वर्षाको सम्भावना छ,” मौसमविद् झाले बाह्रखरीसँग भने, “ठूलो वर्षाको सम्भावना छैन । र, केही ठाउँमा मात्रै वर्षा हुन्छ । काठमाडौंका सबै ठाउँमा वर्षा हुने छैन ।” 

राति कोसी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोसी प्रदेशलगायत वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । हाल देशमा मुख्यतया स्थानीय वायुको प्रभाव रहेको छ ।