प्रहरीले काठमाडौं उपत्यकाभित्रका विभिन्न ड्राइभिङ स्कुल सेन्टरमा छापा मारेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार उपत्यकाभित्रका एक सय ४२ ड्राइभिङ स्कुलमा छापा हानेको हो । सवारीसाधन अनुमतिपत्र लिन प्रयोग हुने सवारीसाधन गैरकानुनी रहेको सूचनापछि छापा हानेको प्रहरीले जनाएको छ ।
छापापछि गैरकानुनी रूपमा प्रयोग गरिएका २१ वटा चारपांग्रे, २७ वटा मोटरसाइकल र २२ वटा स्कुटरलाई प्रहरीले कारबाहीका लागि यातायात व्यवस्था कार्यालयमा सिफारिस गरेको छ । प्रहरीका अनुसार कारबाही सिफारिस गरिएका सवारीसाधनमध्ये कतिपय नवीकरण नगरिएका र कतिपय दर्ता नै नभएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । ‘उपत्यकाभित्र सञ्चालित ड्राइभिङ स्कुलमा प्रहरीले छापा मारेको छ । ट्रायलमा प्रयोग गरिएका सवारीसाधन गैरकानुनी रहेको सूचनापछि स्कुलमा छापा मारिएको हो । यसक्रममा २१ वटा चारपांग्रे, २७ वटा मोटरसाइकल र २२ वटा स्कुटर गैरकानुनी रूपमा प्रयोग भएको भेटिएको छ,’ उनले भने ।
प्रहरीका अनुसार कारबाही सिफारिस गरिएका अधिकांश सवारीसाधनको पाँच वर्षसम्म नवीकरण गरिएको छैन । यो कार्यले राजस्व संकलनमा क्षति पु¥याएको प्रहरीको भनाइ छ । कतिपय सवारीसाधन दर्ता नै गरिएका छैनन् । यस्ता सवारीसाधन भित्रिने स्रोतमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । ‘छापा मारेपछि कारबाही सिफारिस गरिएका सवारीसाधन पाँच वर्षसम्म नवीकरण भएका छैन । नवीकरण नहुँदा राजस्व छली भयो, जुन गैरकानुनी हो । त्यस्तै कतिपय सवारीसाधन दर्ता गरिएका छैनन् । यस्ता सवारीसाधन कसरी भित्रिए भन्ने विषयमा प्रहरी अनुसन्धानरत छ,’ एसपी रेग्मीले भने ।
ड्राइभिङ सेन्टरले सवारीचालक अनुमतिपत्र लिन चाहने प्रशिक्षार्थी चालकका लागि आफैँ सवारीसाधन उपलब्ध गराउने गर्छ । सेन्टरले प्रशिक्षार्थीलाई सवारीचालक अनुमतिपत्रका लागि परीक्षा लिँदा सोही सवारीसाधन उपलब्ध गराउने गर्छ । गैरकानुनी तवरले प्रयोग हुँदै आएको सोही सवारीसाधन हो । त्यससँगै अधिकांश सेन्टरले सवारीसाधनका इन्जिनको स्वाभाविक चाललाई ‘मोडिफाई’ गरेका हुन्छन्, ताकि आफूकहाँ आएका बढीभन्दा बढी प्रशिक्षर्थीले सजिलै सवारीचालक अनुमतिपत्र लिन सकून् र सेन्टरको आम्दानी बढ्न सकोस् । यो धन्दाका लागि ट्रायल सेन्टरले परीक्षणमा खटिने प्रहरी र यातायात व्यवस्था कार्यालयका कर्मचारीसँग सेटिङ गरेको पाइएको प्रहरीले जनाएका छन् । जसकारण प्रशिक्षार्थीले सजिलै सवारीचालक अनुमतिपत्र लिन्छन् ।
सवारीसाधन दुर्घटना हुने कारणमध्ये एउटा यही रहेको प्रहरीको भनाइ छ । ‘हामीले गैरकानुनी ढंगले चल्दै आएका सवारीसाधन पक्राउ गरेर कारबाहीका लागि यातायात व्यवस्था कार्यालयमा सिफारिस गरेका छौँ । बाँकी अनुसन्धान गर्ने काम सम्बन्धित कार्यालयबाटै होला,’ एसपी रेग्मीले भने ।