विमानस्थलबाट हुने अवैध धन्दामा कर्मचारीकै सेटिङ, नक्कली कागजातमा विदेश पठाउनेदेखि सुन तस्करसम्मका गिरोहसँग साँठगाँठ मानव बेचबिखनको योजना नेपालमै बन्न थालेको प्रहरीको दाबी

नेपाललाई बाँकी विश्वसँग जोड्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापना भएको ६० वर्ष नाघिसकेको छ । विकल्पमा अन्य दुई विमानस्थल बनेका छन् । तर यी तीनै विमानस्थलको सुरक्षा र व्यवस्थापनलाई लिएर बारम्बार प्रश्न उठ्ने गरेको छ । अझ त्रिभुवन विमानस्थलमा त राज्यले अवैध काम रोक्न खटाएका कर्मचारी नै आपराधिक समूहको सञ्जालसँग जोडिएको देखिएपछि थप जोखिम बढेको छ ।

नेपालबाट मानव तस्करी भएको भन्दै सरकारले केही मुलुकका लागि भिजिट भिसामा कडाइ गर्दै आएको छ । विशेषगरी संयुक्त अरब इमिरेट्स लगिएका नेपालीलाई तेस्रो मुलुक लैजाने गिरोह नै सक्रिय भएपछि कडाइ गरिएको हो । तर यस्ता अवैध गतिविधि रोक्न भनेर विमानस्थलमा खटाइएका राज्य संयन्त्र नै मानव तस्करीको गिरोहका साझेदार बनेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले यही मंसिर २७ गते नक्कली कागजात तयार पारेर विदेश पठाउने गिरोहका ३३ जनालाई सार्वजनिक गर्‍यो । जसमा थिए, पाँच सरकारी कर्मचारी-अध्यागमन अधिकृत नरविर खड्का, विमानस्थलमा सुरुवातमै कागजात हेर्ने दुई प्रहरी, टिकटका आधारमा बोर्डिङ पास दिने नेपाल एयरलायन्सका दुई अधिकृत होम पोखरेल र अरविन्द यादव । यी सबैले नक्कली कागजात बाकेर भिजिट भिसामा जाने भन्दै विमानस्थल पुगेकालाई माफियाको योजनामा साथ दिएका हुन् ।

अध्यागमन अधिकृत खड्काको मोबाइलबाट नक्कली कागजात बोकेका ३० जनालाई पास गराइएको सूची नै बरामद भएको छ । १ लाख ५० हजारमा नक्कली कागजात बनाउने कन्सलटेन्सी सञ्चालकदेखि विमानस्थलमा सेटिङ मिलाउने बिचौलिया, एयरलायन्सका कर्मचारी र अध्यागमन कर्मचारीसम्मको सञ्जाल अन्तर्राष्ट्रिय विमानस्थलमा बनेको छ । जसमा १५ सयभन्दा बढी राहदानी त प्रहरीले एकै पटकमा बरामद गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्र राठौरले भने, ‘डेढ लाखदेखि दुई लाख दिइएको छ । यो सेटिङमै चलेको छ । प्रमाणको आधारमा अस्ति पक्राउ पर्नु भएका नविन खड्काकै कुरा गर्दा पनि उहाँको फोनमा केही चिटहरु फेला परेका छन् । हामीलाई प्राप्त सूचनाअनुसार त्यसैअनुसार मानिसहरु पठाइएको भन्ने छ । यसबाट सेटिङमा हुन्छ भन्ने तथ्य प्रमाणित छ ।’

सरकारले अवैध रुपमा विदेश पठाउनेहरुलाई नियन्त्रणका लागि भन्दै मानव बेचबिखन ब्युरोको टोली पनि विमानस्थलमा राखेको थियो । जसले एक वर्षमा नक्कली कागजात बोकेर विदेश जान खोज्ने ७ हजार ६ सय ४७ जनालाई विमानस्थलबाटै फिर्ता गरेको थियो । तर स्पष्ट जिम्मेवारी नदिइनुका साथै दबाबसमेत आएको भन्दै ब्युरो त्यहाँबाट बाहिरियो । मावन बेचबिखनको डरलाग्दो स्वरुप नेपालबाटै तयार हुने गरेको ब्युरोको बुझाइ छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमख जीवनकुमार श्रेष्ठ भन्छन्, ‘सुरुवातदेखि हाम्रो ऐन, कानुन दुरुस्त हुनुपर्‍यो । ऐन कानुनको कार्यान्वयन दुरुस्त ढंगले हुनु पर्‍यो । र ऐन कानुन कार्यान्वयनका लागि बसेका जति पनि निकायका व्यक्तिहरु छन् उनीहरुको आचरण ठिक हुनु पर्‍यो । हामीसँग स्रोत साधन पनि त्यही अवस्थामा उपलब्ध हुनुपर्‍यो । यति गर्न सक्यो भने सायद प्रभावकारी काम हुनसक्छ ।’

त्यसो अन्तर्राष्ट्रिय विमानस्थलभित्र राज्यले परिचालन गरेको संयन्त्र कसरी आपराधिक समूहको प्रभावमा छ भन्ने सुन तस्करीले पनि देखाउँछ । विद्युतीय चुरोटमा सुन ल्याउनेदेखि चिनियाँ समूहको ३ सय किलो सुन तस्करीमा साथ दिने भन्सार एजेन्ट, भन्सार कर्मचारी, सरसफाइ कर्मचारीसम्म गरेर २४ जना यसै वर्षमात्रै पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय सुरक्षाको गम्भीर चासो रहने विमानस्थलमा सरकारी कर्मचारीकै आपराधिक समूहसँगको यो तहको संलग्नता डरलाग्दो भएको पूर्वप्रहरी प्रमुख धीरजप्रताप सिंह बताउँछन् ।

एउटा अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेको गैरकानुनी कामसमेत रोक्न नसकिरहेका बेला थपिएका अन्य दुई विमानस्थललाई कसरी सुरक्षित बनाउने र माफियाको प्रभावबाट कसरी मुक्त गर्ने भन्ने विषय चुनौतीपूर्ण छ । त्यसैले अन्तर्राष्ट्रिय विमानस्थलमा परिचालन गरिएका सरकारी संयन्त्रको दक्षता र प्रभावकारितामाथि बेलैमा सचेत नभए कुनै पनि बेला दुर्घटना निम्तिन सक्छ । यो समाचार कान्तिपुर टिभि अनलाईनबाट साभार गरिएको हो ।