आज मातातीर्थ औँसी । हरेक वर्ष वैशाखकृष्ण पक्षको औँसीका दिन आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ । आज आमालाई मीठा खानेकुरा र उपहार दिई आशीर्वाद लिइन्छ । आमा नभएकाले भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवङ्गत आमाले गरेका काम सम्झने गर्छन् ।
आज विशेषगरी काठमाण्डौको चन्द्रागिरी नगरपालिकामा रहेको मातातीर्थमा मेला लाग्छ । बिहानैदेखि मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । यस वर्ष गुरु अस्त भएकाले र विश्वका केही देशमा सूर्यग्रहण देखिने भएकाले आमाको मुख हेर्न नहुने भनी गरिएको प्रचार सही नभएको समितिले जनाएको छ ।