घुससहित पक्राउ परेको पोखरा महानगरपालिकाका अधिकृत कपिल गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । चैत ७ गते महानगरपालिकाको उजुरी फछ्र्यौट तथा समन्वय शाखामा कार्यरत गिरी २५ हजार घुससहित पक्राउ परेका थिए । उनलाई अख्तियारको पोखरा कार्यालयले महानगरको गेटबाटै रंगेहात पक्राउ गरेको थियो ।
अख्तियारमा उजुरी परेको र प्रमाण मेटाई दिन्छु भन्दै उनले सेवाग्राहीबाट २५ हजार घुस लिएको पुष्टि भएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम २५ हजार बिगो कायम गरी र सोही दफा, उपदफाको कैद सजाय, जरियानाको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता पौडेलले बताए ।