सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग भन्सारका कर्मचारीको निकटस्थ सम्बन्ध

सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग भन्सारका कर्मचारीको निकटस्थ सम्बन्ध देखिएको छ । रसुवाबाट काठमाडौं आउने तथा सिंहदरबार जाने क्रममा तस्करीमा संलग्नकै गाडीमा भन्सार कर्मचारीहरू ओहोरदोहोर गर्ने प्रहरी अनुसन्धानले देखाएको हो । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन तस्करी भएको घटनाको दोस्रो चरणमा अनुसन्धान गरिरहेको छ । जसमा भन्सार कर्मचारीहरूले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सघाएका तथ्य भेटिएका छन् । तर, यसरी सघाउने भन्सार कर्मचारीमाथि कारबाही भएको छैन ।

सिआइबी स्रोतका अनुसार भन्सार अधिकृत भरतराज अधिकारी त पटक–पटक सुन तस्करीमा संलग्न चिनियाँकै गाडीमा ओहोरदोहोर गर्थे । सुन तस्करीको समयमा गत वर्ष अधिकारी रसुवा भन्सार कार्यालयमा कार्यरत थिए । उनी रसुवाबाट सुन तस्करीका अभियुक्त दावाजिन वाङकै गाडीमा पटक–पटक काठमाडौं आउने गरेका थिए । वाङले भेपमा लुकाएर सुन तस्करी गर्ने गरेकोमा शंका लागेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयले बरामद गरेको थियो । सो भेप छुटाउन अधिकारीले सहजीकरण गरेका थिए । 

भन्सार अधिकृत अधिकारीलाई जाँचबुझ आयोगले कारबाही सिफारिस गरे पनि उनी अझै ठूलो भन्सार कार्यालय वीरगन्जमा कार्यरत छन् । अनुसन्धानको क्रममा अधिकृत अधिकारी आफैँले पनि तस्करीमा संलग्न चिनियाँसँग काठमाडौं आउने गरेको तथा सिंहदरबार जाने गरेको स्वीकार गरेका छन् । 

सिआइबी स्रोतका अनुसार भन्सारले भेप नियन्त्रणमा लिएपछि चिनियाँले सुरुमा अधिकारीलाई सम्पर्क गरेका थिए । छुटाउन सहयोग गरेकोमा १० लाख रुपैयाँ दिने प्रस्ताव उनलाई गरिएको थियो । त्यसका लागि उनले अप्रत्यक्ष रूपमा पहल पनि गरेका थिए । उनले चिनियाँलाई विमानस्थलका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल र प्रमुख भन्सार अधिकृत मुक्तिबहादुर श्रेष्ठको मोबाइल नम्बर उपलब्ध गराएका थिए । प्रहरीको सोधपुछको क्रममा उनले सो कुरा स्वीकार गरिसकेका छन् । 

चिनियाँ नागरिक वाङका चालक लोकेन्द्र पौडेलले पनि बयानको क्रममा अधिकृत अधिकारीलाई आफूले पटक–पटक उनको घरमा छाडेको कुरा बताएका छन् । त्यति मात्र नभई वाङ, राहुल महरा र लोकेन्द्र पौडेलसँग उनको अस्वाभाविक टेलिफोन सम्पर्क देखिएको थियो । जस आधारमा अधिकारीले सो समूहलाई सहयोग गरेको प्रस्ट देखिन्छ । त्यही सहयोग गरेको आधारमा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल पक्राउ परेका थिए । राहुल हाल पुर्पक्षका लागि कारागारमा छन् भने महरालाई सिआइबीले हाजिरी जमानीमा राखेर अनुसन्धान गरिरहेको छ । गत ५ चैतमा पक्राउ परेका महरालाई स्वास्थ्यको कारण देखाई सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छाडेको थियो । तर, अनुसन्धान अझै पूरा भएको छैन । 

६० किलो सुन तस्करी प्रकरणको हालै दोस्रो चरणको अनुसन्धान पूरा भएर मुद्दा दायर भएको र अब भेप प्रकरणमा अनुसन्धान केन्द्रित भएको सिआइबीले जनाएको छ । जाँचबुझ आयोगको समेत प्रतिवेदनका आधारमा सो घटनाको अनुसन्धान जारी रहेको सिआइबीका प्रवक्ता होबिन्द्र बोगटी बताउँछन् । ‘विगतमा नखुलेका कतिपय विषयमा विस्तृत अनुसन्धान अघि बढेको छ,’ उनले भने । 

पहिलो चरणमा सिआइबीले गत वर्ष २७ असारमा नौजनाविरुद्ध मुद्दा दायर गरेको थियो । जसमा महरा परिवारलगायतलाई उन्मुक्ति दिएको भन्दै आलोचना भएपछि यसको समेत छानबिन गर्ने जिम्मेवारी जाँचबुझ आयोगलाई दिइएको थियो । जस आधारमा पूर्वसभामुख महरालगायत छानबिनमा तानिएका हुन् । 

यसमा थप भन्सार कर्मचारीहरूको भूमिकासमेत पत्ता लागेको छ । यो प्रकरणमा तत्कालीन भन्सार प्रमुख अरुण पोखरेल, प्रमुख भन्सार अधिकृत श्रीधर टन्डन, मुक्तिप्रसाद श्रेष्ठको समेत भूमिका शंकास्पद देखिए पनि प्रहरीले विस्तृत अनुसन्धान गरेको छैन । उनीहरूमाथि विभागीय कारबाहीको सिफारिससमेत कार्यान्वयन हुन सकेको छैन । पोखरेललाई त गृह मन्त्रालयले पूर्वी नवलपरासीको प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनाएर ‘पुरस्कृत’ गरेको छ । यस प्रकरणमा भन्सारका कर्मचारीले सिआइबीमाथि सामूहिक रूपमा दबाब दिइरहेका छन् । यसमा भन्सारका तत्कालीन नासु रेवन्त खड्कालाई मात्र सिआइबीले पक्राउ गरेकामा हाल उनी पुर्पक्षका लागि कारागारमा छन् । 

कसरी तस्करी भएको थियो सुन ? 
१० पुस ०७९ मा फ्लाई दुबईको उडानमार्फत काठमाडौं आएका चिनियाँ नागरिक ली हासोङका दुई सुटकेसमा भेप शंका लागी भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो । सो भेपभित्र करिब नौ केजी सुन थियो । सुन रहेको दुई सुटकेस डेढ महिनासम्म आगमन कक्षकै छेउमा थन्किन्छ ।

२९ माघमा विमानस्थल भन्सार कार्यालयको प्रशासनिक भवनमा सारिन्छ । यहीबीचमा विमानस्थल भन्सार कार्यालयका पूर्वसुरक्षागार्ड निर्मल विकले सुराकी पाउँछन्– सो सुटकेसमा रहेका विद्युतीय चुरोटभित्र सुन लुकाइएको छ । उनले पाएको जानकारी थियो– यसरी सुन रहेको विद्युतीय चुरोट तान्दा धुवाँ आउँदैन । एउटा चुरोट निकालेर उनले परीक्षण गर्छन्, तान्दा धुवाँ आउँदैन । त्यसलाई थप निश्चित गर्न चुरोट फुटाएर सुन पनि निकाल्छन् । त्यसपछि भन्सारभित्र हल्ला चल्छ, विद्युतीय चुरोटभित्र ठूलो मात्रामा सुन छ ।

भन्सार एजेन्ट दिनेश बस्नेतले पनि त्यो कुरा थाहा पाउँछन् । सुन हात पार्न उनले नाटकीय योजना बनाउँछन्– सुटकेसभित्र अर्काे विद्युतीय चुरोट लगेर राख्ने र त्यो निकालेर सुन बेच्ने । त्यसका लागि उनले भन्सारको मुद्दा शाखामा कार्यरत नायब सुब्बा रेवन्त खड्कालाई साझेदार बनाउँछन् । खड्का पनि लोभिन्छन् । योजनाअनुसार २९ फागुनमा नासु खड्काले दुईवटा सुटकेस कोठाबाट भन्सारको फोहोर राख्न कोठामा लैजान्छन् । त्यो कोठामा सिसिक्यामेरा नभएकाले विद्युतीय चुरोट साट्न त्यसरी सारिएको थियो । सोही कोठामा अर्काे विद्युतीय चुरोट राखेर सुन भएको निकालिन्छ । १८ मार्चदेखि १५ अप्रिलको बीचमा त्यसरी विद्युतीय चुरोट साटिएको सिआइबी अनुसन्धानको निष्कर्ष छ । 

भन्सारका अन्य कर्मचारीले पनि त्यसमा सुन रहेको सूचना पाएपछि पछि खोलेर हेर्दा पहिलेभन्दा फरक विद्युतीय चुरोट देखिन्छ । जसका आधारमा सुन चोरी भएको आशंकामा भन्सार कार्यालयले ०८० वैशाखमा सिआइबीमा निवेदन दिएको थियो । करिब दुई महिना लामो अनुसन्धानमा भन्सार कर्मचारी, भन्सार एजेन्टसहित ६ जनालाई पक्राउ गरी २७ असार ०८० मा मुद्दा दायर भएको थियो । 

भन्सार कार्यालयको मुद्दा शाखामा नायब सुब्बा रेवन्त खड्काले त्यसरी सुन तस्करी गर्न सहयोग गर्दा ६५ लाख रूपैयाँ लिएको खुल्छ । उनलाई पैसा दिने व्यक्ति भन्सार एजेन्ट दिनेश बस्नेत हुन् । बस्नेतले सो सुन भिनाजु गोपाल सुवेदी र भाइ दिपेश बस्नेतमार्फत बिक्री गरेका थिए । सो सुन बिक्रीमा विशालबजारमा घडी तथा चस्मा पसल चलाउने साहेब राव मर्गलेले मध्यस्थता गरेका थिए । उनले सुनको जाँच गर्ने व्यवसायमा संलग्न भारतीय नागरिक नन्दकुमार पाण्डरम मर्गलेलगायतलाई सुन बिक्री गरेका थिए । उनी अनुसन्धान सुरु हुुनुअघि नै भारत भागेका थिए । जसकारण सुन भने हालसम्म बरामद हुन सकेको छैन । 

करिब नौ किलो सुन ६ करोडमा बिक्री भएको थियो । बिक्री गरेकोमध्ये ८० लाख भन्सार एजेन्ट बस्नेतकै बैंक खातामा भेटिएको थियो । त्यस्तै, उनीहरूले सिन्धुपल्चोक घर भएका मेडिकल व्यवसायी अमृत कार्कीको नाममा भक्तपुरको ठिमीमा जग्गा पनि खरिद गरेका थिए । कार्कीलाई पनि सिआइबीले पक्राउ गरी मुद्दा दायर गरेको थियो । 

दिनेशले आफ्ना ससुुरा रामकेशव थापा क्षेत्रीको नाममा पनि केही सम्पत्ति लुकाएका थिए । यो घटनामा नासु खड्का, भन्सार एजेन्ट बस्नेत, भन्सारका पूर्वसुरक्षागार्ड निर्मल विक, सुन बेच्न मध्यस्थता गर्ने वेदप्रकाश अग्रवाल र साहेब राव पान्डुरङ मर्गले तथा सुनको पैसाले जग्गा किन्ने अमृत कार्कीलाई सिआइबीले पक्राउ गरेको थियो । सिआइबीले तस्करी गर्ने समूहसँग पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुलको अस्वभाविक टेलिफोन सम्पर्क देखाउँदै अनुसन्धानमा प्रतिवेदन पेश गरेको थियो । तर, उनीहरूलाई सोधपुछ भने गरेन । पछि सो कुरा बाहिर आएपछि प्रहरीले राहुललाई पक्राउ गरेको थियो । पूर्वसभामुखको हकमा भने जाँचबुझ आयोगको सिफारिसअनुसार अनुसन्धान अघि बढेको हो । 

थप क–कसको संलग्नता खुल्यो ? 
यसअघि सिआइबीले १० जनाविरुद्ध मुद्दा दायर गरेकोमा हाल थप व्यक्तिहरूको संलग्नता देखिएको छ । प्रमुख भन्सार अधिकृत विष्णु पौडेलका चालक अनिवास राउतमाथि पनि अनुसन्धान भइरहेको छ । निर्मलकुमार विकले भेपबाट सुन चोरेर बिक्री गर्ने क्रममा उनले सहयोग गरेका थिए । पसलबाट दुई हजार पाँच सय रुपैयाँ उनले लिएका थिए । सुन चोरीबारे जानकारी हुँदा पनि उनले आफ्ना हाकिमलाई त्यसबारे जानकारी गराएका थिएनन् । पछि निर्मललाई भगाउनसमेत उनको भूमिका देखिएको थियो । 

त्यस्तै, यसअघि १४ किलो सुन तस्करीमा पक्राउ परी धरौटीमा छुटेका प्लाटिनम कलेजका सञ्चालक जीवन गुरुङले पनि यसअघि मुद्दामा उन्मुक्ति पाएका थिए । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार रहेका उनको तस्करी समूहसँग आर्थिक कारोबार देखिएको थियो । उनलाई भारत हुँदै भागेकोमा उनीविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी गर्ने प्रक्रिया अघि बढेको छ । 

त्यस्तै, यसअघि सिआइबीले अनुसन्धानमा छुटाएका नन्दकुमार पान्डुरङ मरगले पनि अहिले सिआइबीको छानबिनमा छन् । यसअघि पक्राउ परेका साहेव राव पान्डुरङ मर्गले नन्दकुमार पान्डुरङकै दाइ हुन् । तस्करीको सुन बिक्रीमा उनको प्रत्यक्ष भूमिका देखिएको छ । 

त्यस्तै, अहिले यो प्रकरणमा श्यामसुन्दर साहसमेत अनुसन्धानको दायरामा छन् । उनले बरामद भएको सुनसहितको भेप छुटाउन पहल गरेका थिए । उनको दावाजिन वाङसँग ४२ पटक र उनका चालक लोकेन्द्र पौडेलसँग एक सय ८३ पटक सम्पर्क देखिएको थियो । तर, यसअघि उनी अनुसन्धानको दायरामा थिएनन् । साथै भेप र ६० किलो सुन तस्करी गर्ने समूहबीच पनि अन्तरसम्बन्ध देखिएको थियो । त्यसमा अन्य केही व्यक्तिहरूको पनि संलग्नता खुलेको सिआइबी स्रोत बताउँछ ।  पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्षताको ‘सुनको अवैध पैठारी(तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग २०८०’ ले पनि सो यस घटनामा प्रहरीको अनुसन्धान अपूरो रहेको भन्दै विस्तृत अनुसन्धान गर्न सिफारिस गरेको थियो । 

भन्सार अधिकृत भरतराज अधिकारी - जो तस्करका गाडीमा आवतजावत गर्थे, ठाउँठाउँमा सम्पर्कसूत्रको काम गर्थे

  • भन्सार अधिकृत भरतराज अधिकारी विद्युतीय चुरोट (भेप)मा राखेर दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भित्र्याएको सुन तस्करीका मुख्य नाइके चिनियाँ नागरिक दावाजिन वाङको गाडीमा पटक–पटक ओहोरदोहोर गरेको सिआइबी अनुसन्धानमा खुलेको छ । गत वर्ष रसुवा भन्सार कार्यालयमा कार्यरत छँदा उनी वाङको गाडीमा रसुवाबाट काठमाडौं आउने र सिंहदरबारसम्म जाने गरेको अनुसन्धानमा स्वयंले स्विकारको सिआइबी स्रोतले बतायो । तर, उनी हाल अझै ठूलो भन्सार कार्यालय वीरगन्जमा कार्यरत छन् ।
  • विमानस्थल भन्सार कार्यालयले बरामद गरेको भेप छुटाउनसमेत अधिकारीले सहजीकरण गरेका थिए । सिआइबी स्रोतका अनुसार भन्सारले भेप नियन्त्रणमा लिएपछि चिनियाँले सुरुमा अधिकारीलाई सम्पर्क गरेका थिए । छुटाउन सहयोग गरेकामा १० लाख रुपैयाँ दिने प्रस्ताव उनलाई गरिएको थियो । त्यसका लागि उनले अप्रत्यक्ष रूपमा पहल पनि गरेका थिए । उनले चिनियाँलाई विमानस्थलका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल र प्रमुख भन्सार अधिकृत मुक्तिबहादुर श्रेष्ठको मोबाइल नम्बर उपलब्ध गराएका थिए । प्रहरीको सोधपुछको क्रममा उनले सो कुरा स्वीकार गरिसकेका छन् । 
  • चिनियाँ नागरिक वाङका चालक लोकेन्द्र पौडेलले पनि भरतराजलाई आफूले पटक–पटक उनको घरमा पु¥याएको बयान दिएका छन् । त्यति मात्र नभई वाङ, राहुल महरा र लोकेन्द्र पौडेलसँग उनको अस्वाभाविक टेलिफोन सम्पर्क देखिएको थियो । 

यो समाचार नयाँ पत्रिका दैनिकबाट साभार गरिएको हो ।