नागरिकसँग नेपाल स्टाटस__३ : धादिङका जनप्रतिनिधीसँग दिगो बिकासका कुरा

धुनिवेशी - दिगो विकासको ध्येय पृथ्वीका स्रोत साधन नास नगरी आर्थिक र सामाजिक विकास गर्नु हो । दिगो विकास सम्पुर्ण जिवित मानिसहरूको कल्याणमा केन्द्रित हुन्छ । विकास निर्माणमा वातावरण प्रतिकुल कार्य गरिए विकासबाट आशा गरिएका लक्ष्यसम्म पुग्न कठिन हुन्छ । दिगो विकासमा स्रोत र साधनको उचित प्रयोग हुने भएकाले वातावरण संरक्षण र संवर्धनमा सहयोग पुग्छ । प्राकृतिक स्रोत र पशुपन्छी सम्बन्धमा हाम्रो दृष्टिकोणमा परिवर्तन आउने हुनाले यसले मानिसको दृष्टिकोणमा परिवर्तन ल्याइ दायित्वबोध समेत गराउँछ ।

अहिले संघियता आएपछि देशका ओझेलमा परेका बिबिध क्षेत्रहरुले बिकासको मुख देख्न पाएका छन् । यो बिकास नै भोलीको दिगो रुपमा रहन्छ ? अथवा रहँदैन ? मुख्य रुपमा यस्ता कुरामा ध्यान दिन जरुरी छ । बिषेश गरि धादिङका बिभिन्न क्षेत्रका नागरिकदेखि जनप्रतिनिधीहरुले दिगो बिकासलाई ध्यान दिएर विकासको काम अगाडी बढाउनुपर्ने देखिन्छ । अहिलेको नेपालको बिकास दिगो रुपमा हुन सकेको छैन । मुख्यत ग्रामिण क्षेत्रका सडकदेखि सहर बजारमै हुने पुल, ढल निकास लगायतका बिकास दिगो रुपमा हुन नसकेको प्रस्ट देख्न सकिन्छ ।

धुनिवेशी नगरपालिका

धादिङ धुनिवेशी नगरपालिकाले बिकासको कामलाई उत्कृष्ट तवरले अगाडी बढाईरहेको छ । सडक पिचका कामदेखि, नहरहरुको ढलान,स्वास्थ्य चौकीहरुको निर्माण, स्वयम् नगरको भवन, बृद्धश्राम भवन लगायत दिगो बिकासका धेरै आधारहरु निर्माण भईरहेका छन् । स्थानिय सरकार आएपछि धुनिवेशी नगरपालिकाको मुहार फेरिएको प्रत्यक्ष देख्न सकिन्छ । एक घर एक धाराको योजना सम्पन्न भईसकेको छ ।
सडकमा सडक बत्ति हाल्ने काम पनि सकिएको छ । बिकासको काम अग्रणी रुपमा अगाडी बढाउँदै लगेका धुनिबेशी नगरपालिका प्रमुख बालकृष्ण आचार्यले धेरै काम हुने चरणमै रहेको बताए । स्मार्ट शहर बनाउने देखि पार्क निर्माणका काम धमाधम बनिरहेको बताए । यसरी समग्र रुपमा हेर्दा धादिङ जिल्लाका अन्य पालिकाभन्दा धुनिबेशी नगरमा दिगो रुपमा रहने कामहरु उत्कृष्ट भएको स्थानियहरु बताउँछन् ।

थाक्रे गाउँपालिका

धादिङको थाक्रे गाउँपालिकामा बिकासको कामले निकै प्राथमिकता पाएको छ । खानेपानीको समस्या भएका ठाउँहरुमा डिप बोरिङबाट प्रत्येक घरमा पानीका धारा जडान भएका छन् । सडकहरु बाह्रै महिना सञ्चालन गर्न सकिने गरि स्तरोन्नती गरिएको छ । थाक्रे ८ का केहि स्थानियहरुसँग पालिकाको कामप्रतिको धारणा बुझ्दा सबै राम्रो रहेको बताएका थिए । थाक्रे गाउँपालिकाले न्यायिक क्षेत्रदेखि बिकासका काममा उल्लेख्य प्रगति भएको थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले बताए । ‘सम्वृद्ध थाक्रे र सुखी थाक्रेबासी’ को नाराले अगाडी बढीरहेको छ ।

धादिङ थाक्रे गाउँपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सुदर्शन पाण्डेले अहिले आफ्नो वडामा दिगो बिकासको लक्ष्यलाई आत्मसात गर्दै काम गरिरहेको बताए । खानेपानी, सिंचाई, शिक्षा लगायत मानिसका आधारभुत पक्षहरुलाई दिगो रुपमै हुने गरि बनाईएको उनले बताए । पहिले हिउँद याममा मात्र सञ्चालन हुने ग्रामिण कृषि सडकहरु अहिले बाह्रै महिना सञ्चालनको ब्यबस्था मिलाईएको उनले भने । ११ नम्बर वडाभित्र रहेका अधिकांश बिद्यालयकाहरुको दिगो रुपमै बिकास भएको उनको भनाई छ ।

धादिङ थाक्रे गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष आशराम तामाङले देशमा शान्ति सुरक्षादेखि रोजगारीको प्रत्याभूती पनि दिगो बिकासकै एउटा हाँगा भएको बताउँछन् । बेरोजगार ब्यक्तिहरुको संख्या घटाउँदै, गरिवीको अबस्थालाई पनि कम गर्दै बिकासका पक्षमा ध्यान दिन जरुरी रहेको बताए । हरेक बर्ष एउटै बाटोमा रकम हाल्नुभन्दा एकैपल्ट अलि बढी खर्चिएर दिगो लक्ष्यअनुसार अगाडी जाने बाटो आफ्नो रोजाईमा परेको उनले बताए ।

गल्छि गाउँपालिका
धादिङ गल्छि गाउँपालिका उपाध्यक्ष भाइकाजी तिवारीको भनाई पनि उस्तै छ । दिगो बिकास लक्ष्यलाई अगाडी बढाउँदै बिकासका काम भईरहेको बताए । दिगो बिकासले भोलीका सन्ततीदेखी अहिलेका पिँढीलाई पनि रोजगारी देखि हरेक पक्षमा सुबिधा पुग्ने बताए । महिलाहरुको क्षेत्रमा हेर्दा दिगो बिकासका हरेक पक्षमा रहेर काम भईरहेको बताए । पालिकामा सञ्चालन हुने बिभिन्न तालिमहरुले दिगो आयआर्जनका पाटामा सहजता आउने बताए ।

सिद्धलेक गाउँपालिका
धादिङ सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले पनि दिगो बिकासको लक्ष्यको खुड्किलोमा टेकेर काम भईरहेको बताए । मुख्यगरि सडक मार्गलाई महत्व दिएर अन्य क्षेत्रलाई पनि प्राथमिकतामा राखेको बताए । प्रत्येक वडाहरुमा भुकम्प प्रतिरोधी भवनहरु निर्माण भईसकेको उनले बताए । पालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरु पनि दिगो रुपमै निर्माण भएको बताए ।

गंगा जमुना गाउँपालिका
धादिङ गंगा जमुना गाउँपालिका उपाध्यक्ष रामेश्वर सिम्खडाले बेरोजगारी हटाउने अभियानमा लागेको बताए । पालिकाभित्र रहेका जतिपनि बेरोजगारी छन्, गरिवीका रेखामुनी रहेका सबैलाई रोजगारीको ब्यबस्था गर्दै भोलीका सन्ततीलाई हुनेगरि नै बिकासका कामहरु अगाडी बढीरहेको बताए । 

दिगो विकास भन्नाले धान्न सकिने र टिकाउपूर्ण विकास भन्ने वुझिन्छ । प्राकृतिक सम्पदाको अत्यधिक विनाशबाट उत्पन्न हुने वातावरणीय दुस्परिणाम र भविष्यका सन्ततिहरूलाई जिउने अधिकारको हनन् नहुने गरी विकासको फल वर्तमान सन्ततिले मात्र उपयोग गर्नुपर्छ भन्ने मान्यता नै दिगो विकासको मान्यता हो । त्यसैले वातावरण र विकासबिच सन्तुलन नै दिगो विकास भनिएको हो । विकास लाभ र गतिबाट प्राप्त प्रतिफललाई वर्तमानका पुस्तामा मात्र सीमित नगरी भविष्यका पिँढीलाई समेत सुनिश्चितता प्रदान गरिने विकासको अवधारणा दिगो विकास हो । यसले अन्तरपुस्ता समता कायम रहनुपर्ने मान्यतालाई स्वीकार गर्दै आत्मसाथ गर्नुपर्ने जोड दिन्छ । विकास र वातावरणबिचमा सन्तुलन र संयोजन गर्दै भावी सन्ततीको स्वच्छ वातावरण र सन्तुलित अर्थतन्त्रमा बाँच्ने मौलिक हक सुनिश्चितता गर्दै अहिलेको पुस्ताको गुणस्तरीय जीवन अभिवृद्धि गर्ने मान्यताको वकालत गर्दछ ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१६ देखि २०३० सम्म विश्वको रुपान्तरण र विकासका हरेक आयाममा कसैलाई पनि पछाडि नछोड्ने प्रतिवद्धताका साथ सन् २०१५ को सेप्टेम्बरमा दिगो विकासका लक्ष्यहरु घोषणा गरेको थियो । दिगो विकास लक्ष्यमा विश्वका सबै राष्ट्रमा सहभागितामूलक, अधिकारमुखी र समतामूलक विकास गरी गरिबीको र भोकमरीको अन्त्य गर्ने , सबैलाई स्वास्थ्य र शिक्षा पुर्याउने जस्ता विषय समेटिएका छन् । यसैगरी, लैंगिक समानता, सबैका लागि स्वच्छ पानी, सबैमा उर्जाको पहुँच, रोजगारीको प्रवद्र्धन, आर्थिक वृद्धि, उद्योग, पुर्वाधार विकास र दिगो शहरीकरण जस्ता विषयलाई समेटिएको छ ।

संयुक्त भेलामा दिगो विकासका लक्ष्य हासिल गर्नका लागि गरिबी निवारण, कृषि, शिक्षा, स्वास्थ्य र सरसफाई, भौतिक पूर्वाधार र खानेपानी, जलवायु परिवर्तन, लैगिक समानता र समावेशीकरणका विषयमा प्रदेशको अवस्थाबारे प्रत्येक प्रदेशबाट एक एक जना गरी ७ जना प्रदेश सभा सांसदले आ–आफ्नो प्रदेशको समग्र अवस्था, चुनौति र अवसरका सम्बन्धमा प्रस्तुतीकरण गरेका थिए ।

विवेकशील मानव प्राणीको निरन्तरको विवेकहीन चिन्तन, आचरण र व्यवहारले सिंगो प्राणीजगतकै अस्तित्व संकट उन्मुख अवस्थामा पुगेको छ । विश्वव्यापी तापमानमा वृद्धी, मानव समुदाय बीच विद्यमान लैंगिक, सामाजिक, आर्थिक असमानता, असमान पुर्नवितरण प्रणाली, गरिबी र भोकमरीको कहाली लाग्दो अवस्था, आतंकवाद, मानव अधिकारको हननको डरलाग्दो चित्र, वहुआयामिक विपद आदि समकालीन विश्व समुदायको साझा समस्याको रुपमा रहेका छन ।

सन् २०१२ मा ब्राजिलको रियोमा सम्पन्न रियो २० सम्मेलनमा विश्वव्यापी विकास एजेण्डाको खोज स्वरुप दीगो विकासको अवधारणाको जन्म भएको हो । सन् २०१३ मा संयूक्त राष्ट्र संघद्वारा गठित ३० सदस्यिय कार्य समुहले १५ वर्षे दीगो विकास लक्ष्यको प्रस्ताव तयार पारेको थियो ।

विश्व विकासको साझा प्रतिवद्धता स्वरुप विकासको दीगोपनाको निम्ति सन् २०१६ देखि २०३० सम्मका लागि निर्धारण गरिएका लक्ष्यहरु नै दीगो विकास लक्ष्य हो ।