बजारमा सामान किने जसरी बुवा/आमा किन्न कति पर्छ होला है ?

आज पनि आँखामा आँसु भरिएर आयो । बाहिर चिसो बतास चल्दैछ, मेरो मनभित्र आगोको भुग्रो जस्तो राप सल्किरहेछ । तर कसैलाई सुनाउन सकेको छैन, या भनँु सुनाउने पनि कोहि छैन, एक्लै बस्दैछु यो एकान्तमा । बत्तिमा किरा ठोक्किएको आवाज म सुन्छु, चिसो हावाको आवाज सुन्छु, यो खोलाको कल कल आवाज सुन्छु तर मेरो मनको चिच्याहट कस्ले सुनिदिन्छ ? अरुको रुहाई म सुन्थे तर यहाँ मेरो सुन्ने को छ ? आफै आफैमा प्रश्न गर्दै बितिरहेछ मेरो असी बर्षको उमेर । 
अहिले खानिखोला छु, मेरो मन भतभत तातो हावा अनि पिडाले खाईरहेछ, यहाँ पनि खानिखोला मै बस्दैछु, सायद मेरो र यो खोलाको उस्तै बेथा छ होला ? खोला त निकै शान्त सँग बग्छ भन्थे तर यो खोलाको आवाज जस्तै नाम पनि खानि किन राखिएको होला ? मलाई पनि यहि खोलाले खान्छ होला कि खाँदैन होला ? जोगिलाइ खोलाले लान्छ कि लादैन होला ? यस्ता प्रश्न म आफँैलाई सोध्दैछु, अनि उत्तर पनि आँफै खोज्दैछु, यो कहालि लाग्दो शहरमा ..। 
आँगनमा तोतेबोली बोल्दै गर्दा कतिको प्यारो भएँ सिमा छैन । कतिको काँखमा बसे पत्तो छैन । तर साँच्चि भन्दा म धेरैको प्यारो थिएँ । कसैले चकलेट दिन्थे, कसैले खेलौना दिन्थे । बाल्यकालका उमेर मलाई अहिले पनि यादमा छ साथि, 
आमाले काँखमा राखेर कति द;ुख गरेर हुर्काएका मलाई अहिले सुख दिन सकिन साथि, दिनभरि मेलापात गरेर दिएको एक मुठि चिउरा र तरकारी पोल्टामा थाप्दै आँफैले नखाई दिएको मैले कसरी भुल्न सक्छु ? 

आज मेरो हातमा कमन्डलु छ, दिए खाँन्छु, नदिए भगवान निठुरि रहेछन् भन्दै धिकार्छु अनि सम्झन्छु आमा र बाबालाई । खाना नखाँदा हैन, थोरै खाँदा पनि मेरो छोरोले भातै खाएन भन्ने मेरी आमाको माया म खोलाको किनारमा कसरी पाउन सक्छु ? थाहै छैन म घरबाट कसरी निस्किए, म मेरो गाउँबाट यति टाढा आए, बस यत्ति थाहा छ, निधारमा भाविले लेखेको कुरा भोग्दैछु, अझै म धेरै बाच्ुछु जस्तो लागिरहेछ, उमेरले असी टेकेपनि मनले जोश दिएजस्तो लाग्छ, मेरो छोरा बलियो बनाउनुपर्छ भन्दै आमाले थालमा एक चम्चा घिउ अझै खाँदैछु जस्तो लाउछ, तर टाढा छु म धेरै टाढा छु, 
बिद्यालय उमेरमा पढ्न जाने म पनि भएँ, पछाडि सानो झोला अनि साना कापी किताब, बडो खुसिले स्कुल जाने म, कसरी म यहाँ आएँ ? 
समय पार गर्दै म पनि बने बुवा अनि मेरा बुबा  हजुरबुवा अनि आमा हजुर आमा बनिन् । समय सधै एउटै कहाँ रहन्छ र साथि, कुमालेको चक्र भन्दा छिटो त मेरो भाग्य र यो समय चल्दो रहेछ । अन्जान म अहिले बुवाको दर्जामा छु, बडो खुसि लागिरहेछ, मैले मेरो छोरोबाट धेरै आशा राखेको छु, जवसम्म म कमाउन सक्छु कमाउछु, अनि मेरो छोराले मलाई कमाएर खुवाउछ, अहिले स्कुल मेरो छोरा जान्छ म हैन । आमा र बुवा नातिको बडो ख्याल गर्नुहुन्छ, मैले मेरो छोरामा देखेको सपना मेरो बुवाले म माथिपनि देख्नु भएको थियो होला तर अहँ पूरा गर्नै सकेको छैन, अनगिन्ति चाहाना अनि अनगिन्ति आबश्यकतामा मैले बुवाको कुनै कुरा पुरा गर्ने सकेको छैन । जिवन कसरी अगाडी बढ्दैछ थाहा छैन । आशाको जिवनमा आशै गरेर यो संसार छोड्नुपर्छ । यो सत्य हो । तर छोरा भएर छोराकोे कर्तब्य पूरा गर्न नसक्दा आफुलाई बडो लन्जाबोध हुन्छ । आखिर के रहेछ र आश अनि के रहेछ र जीवन ? केही समय मानव रुपि मानिस हामी आयाँै तर जानुछ एक दिन, लानु छैन केही तर मन शान्त छैन, पोलिरहेछ, छोराको भबिष्य, घरको पीडा अनि बुढेशकाल लाग्दै गरेको बुबा अनि आमाको उमेरले । 

पीडा भएको ब्यक्तिलाइ नै थप पीडा दिदा देउतालाई पनि  खुसि लाग्दो रहेछ । सबै पिडामा छन्, कोहि छैनन् शान्त । तर मेरै थाप्लोमा बज्रपात परेजस्तो किन लाग्दैछ मलाई ? आँगनमा मिलाई राखेका ढुङ्गा एकै पटक तल खसेजस्तो किन लाग्दैछ मलाई ? आकाश मडारिएर पानी बर्षेको २ घण्टा भयो तर मेरो मन शान्त र शितल भएन । आँगन मात्र थिएन त्यहाँ मैले त मेरै घर पनि देख्न छाडे, अस्तिमात्र आँखाको उपचार गरेको, बुवा र आमा  बन्दै देख्नुहुन्न, आँगनको डिलसँगै बग्यो घरपनि, बगायो खानेकुरा, बग्यो खेतवारि अनि बगायो मेरा अन्तर मनका सपनाहरु । मेरो सपना, छोराको सपना बिलिन भए । अचेल खोला भएका छन् हाम्रा साथि, बगर भए हाम्रा जमिन अनि किनार भए जिवनका आयामहरु । 
समयको खेल न थियो आखिर टुहुरोे बनाई छाडयो । सुखका दिन देखाउछु, हातभरि पैसा थमाउँछु भन्दै थिए, तर सपना सपना भयो,वर अनि पिपल नै ढलेपछि के अर्थ रह्यो र त्यो ढुङ्गाका पर्खालहरुको । छेउमै राखि सितल दिने छहारिको अभाव पछि कहाँ जाने ? कहाँ बसि पानी खाउँ अनि कहाँ गएर पिडा सुनाउँ ? कहाँ छन् होला खुसिका टुक्राहरु ? अब भेट हुन्छ कि हुँदैन होला ? बजारमा सामान किने जसरि बुवा र आमा किन्न कति पर्छ होला ? किनेका बुवा ममिले पहिले जस्तैगरि माया गर्छन् कि गर्दैनन् होला है ? मेला जाँदा पटुकिमा राखि चिउरा र तरकारि ल्याउँछिन् कि ल्याउँदिनन् होला ? भात थोरै खाँदा पनि मन दुखाउनि आमा बजारमा किन्न पाईन्छ कि पाईदैन होला ?? म आफैलाइ प्रश्न गरिरहेछु । 

बगरमै छु, छोरो पनि बगरमै छ, मैले पनि देखेको छु भोलिको सुख, मेरो छेउमै सुतिरहेछ, बल्ल बुझ्दैछ घरको पीडा । मैले उसमाथि देखेको सपना पूरा गर्छ कि गर्दैन होला है आमा ? एक पटक फेरि सोध्न मनछ मलाई, मेरो सपना अनि सुखको अनुभव गर्नै नपाई उमेर आयो भने ? अँहँ तर आउदैन, समयले कोल्टे फेर्याे ।
 दुई जना बिदेशिले छोरालाई ठुलो कक्षा सम्म पढाउने भए, उनिहरुकै देश जानुपर्नि अरे । नजा भनुँ किनारको बास आखिर कहिलेसम्म ? जा भनु मुटु नै चुँडिएर आउँछ, अन्त्यमा मुटु चुडिनि पिडाले जित्यो । किनारको बासले  हार खायो । छोरो गयो मुग्लान, अनि म भए एक्लो, भित्तो हेर्छु, छोरा देख्छु, दायाँ बायाँ हेर्छु आमा बुबा देख्छु, अलि पर हेर्छु खोला देख्छु झनै पर हेर्छु जँगलमा सिनो खान पर्खिरहेका गिद्दका बथान देख्छु अनि बिरक्तिन्छु म, मेरो मन आतिन्छ ? कहिले म त्यहि बगरका ढुङ्गाहरुसँग बोल्छु, उनीहरु सुनिरहन्छन् केही बोल्दैनन, म मात्र बोलि रहेछु, मेरो बोलिमा बोलि मिलाउन मेरो छोरालाई पर्खिरहेछु । तर अँहँ उ आएको छैन, अब मलाइ यहाँ बस्नै रहर नै छैन, म अन्तै गए भने मेरो छोराले मलाई कहाँ खोज्छ होला है ? मलाई त्यो किनाराले कति खोज्छ होला ? मलाई त्यो खोलाको पानीले कति खोज्छ होला ? जहाँ हरेक पल्ट म रुँदा उस्ले आँखा कयौँ पटक धोएको थियो, अब त्यो किनारा छाड्ने निर्णय गरेँ । 

आशै आशमा चलेको जिवनमा अझैपनि त्यहि छोराको आश छ । कतैबाट बुवा भनिहाल्छ कि जस्तो लागि रहेछ ? अहिले एउटा पेट पाल्न म आँफै संघर्ष गरिरहेछु, असी लागे पनि अझै सुखका दिनको पर्खाईमा बसिरहेछु । जोगि बनेको एक पेट पाल्न नसकेर हो, सायद अब छिट्टै मेरो छोरा आउने छ अनि मलाई यो खानिखोलाको खानिबाट निकालेर छुट्टै शहरमा लानेछ । अनि भन्नेछ उसले  तिमी बस बाबा म कमाउँछु, तिमिलाई पाल्छु, तर अँहँ उ अहिलेसम्म आएकै छैन । म हेरिरहेछु मेरो छोराको बाटो ...।