मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएको छ। दुर्गा प्रसाईंले गैरकानुनी रूपमा आफूलाई हिरासतमा लिएको र हिरासतमुक्त हुन पाउनुपर्ने माग राखिएको रिट खारेज भएको हो। बुधबार न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको छ।
सर्वोच्चका प्रवक्ता अच्युत कुईकेलका अनुसार रिट खारेज भएपनि निर्देशनात्मक आदेशमा के छ भन्ने कुरा खुलिसकेको छैन। ‘रिट खारेज भयो। निर्देशनात्मक आदेशमा भएको कुरा हात परिसकेको छैन,’ उनले भने। प्रसाईंको रिट खारेज भएसँगै उनी हिरासतमुक्त नहुने भएका हुन्।
सर्वोच्चमा उनका छोरा निराजन प्रसाईंले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको भन्ने आरोप लगाएपछि साइबर अपराधमा प्रसाईंलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको थियो।