नेपाल आयल निगमले पेट्रोलको मूल्य बढायो, पेट्रोल प्रतिलिटर कति पुग्यो ?

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । आईतवार रातिदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४.७६ रुपैयाँले बढेर आएपछि नेपालमा पनि बढाइएको निगमले जनाएको छ ।

डिजेल र मट्टीतेलको मूल्य प्रतलिटर ०.३९ रुपैयाँ, हवाई इन्धनको मूल्य ०.३८ रुपैयाँ र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २७.४४ रुपैयाँले घटेर आए पनि अहिलेलाई यथावत् राखिएको निगमले बताएको छ ।

निगमका अनुसार एलपी ग्यासमा निगमलाई अहिले प्रतिसिलिन्डर २९६ रुपैयाँ घाटा रहेको छ । मूल्य बढेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १७२.५० रुपैयाँ पुगेको छ ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७४ रुपैयाँ पुगेको छ । तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ पुगेको छ ।