वर्षाले रोकिएको खेल भोलि हुने, अब खेल कसरी सुरु गरिन्छ ? 

 काठमाडौँ - एसीसी मेन्स प्रिमियर कपको आजको फाइनल खेल वर्षाका कारण रोकिएको छ । मौसम पूर्वानुमानअनुसार आज बिहानको तुलनामा दिउँसो र अपरान्ह पानी पर्ने सम्भावना बढी देखिएको छ । यस्तो अवस्थामा आज बाँकी खेल हुन नसक्ने सम्भावना पनि बढेको छ ।

एसीसी प्रिमियर कपको लागि भोलि मंगलबार रिजर्भ डे राखिएको छ । रिजर्भ डे भनेको खेलको लागि तय गरिएको दिनमा कारणवश खेल हुन नसके वा अवरुद्ध भए त्यो खेललाई जारी राख्नको लागि छुट्याइएको वैकल्पिक दिन हो । तर, खेल भोलि रिजर्भ डेमा हुने भए पनि भोलि यो खेल फेरि शुन्यदेखि सुरु हुने छैन । आइसीसीले मे २०२१ देखि लागू गरेको नियममा रिजर्भ डेलाई खेलको पुनः सुरुवात नभइ खेलको निरन्तरता भनेर व्याख्या गरेको छ ।