नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा सुनुवाइ सकिएकाले आज आदेश आउन सक्ने

आज उच्च अदालत पाटनबाट नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आदेश आउने सम्भावना रहेको छ । काठमाडौं जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ सकिएकाले आज आदेश आउने सम्भावना रहेको हो । 

उच्च अदालत पाटनमा गत हप्तादेखि न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा भएको सुनुवाइमा बिहीबार सबै पक्षको बहस सकिएको हो । मंगलबार प्रतिवादी तर्फका वकिलको बहस सकिएको थियो भने बुधबार र बिहीबार खाजा समयअघि सरकारी वकिलको बहस भएको थियो । बिहीबार खाजा समयपछि प्रतिवादीका वकिलले जवाफी बहस गरेसँगै सुनुवाइ सकिएको पाटन उच्च अदालतका सहरजिष्ट्रार तीर्थराज भट्टराईले जानकारी दिए ।

न्यायाधीशद्वयको इजलासमा उक्त मुद्दा हेर्दा हेर्दैमा राखिएको छ । सम्भवतः शुक्रबार आदेश आउने भट्टराईको भनाइ छ ।नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन नेपाल सरकारका मन्त्री र उच्च सरकारी अधिकारी समेत संलग्न भएको भन्दै पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण तथा तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा चलेको थियो ।