१४ किलो सुन प्रकरणमा एक अर्ब ४० करोड बिगोसहित जिल्ला अदालत काठमाडाैमा मुद्दा दायर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको घटनाको मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सोमबार जिल्‍ला अदालत काठमाडौंमा सरकारी वकिल कार्यालयमार्फत मुद्दा दर्ता भएको प्रमुख भन्सार अधिकृत मणिराम पौडेलले जानकारी दिए।

गत मंसिर २१ गते भन्सार कार्यालयले फ्लाई दुबईबाट काठमाडौं आएका चन्द्र घलेबाट १४ किलो सुन बरामद गरेको थियो। उनले ज्याकेटभित्र लुकाएर ल्याएका थिए। यसको अनुसन्धानपछि भन्सार कार्यालयले सोमबार १० जनाविरूद्ध मुद्दा दायर गरेको हो। भन्सार कार्यालयले ८ जनालाई पक्राउ गरेको थियो। दुई जनालाई फरार कायम गरी मुद्दा दायर गरेको हो। 

यसको अनुसन्धान गर्न प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। छानबिन समितिले अनुसन्धान गरी पुस ८ गते नै कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो। भन्सार कार्यालयले यसमा मिनबहादुर घले, चन्द्र घले, कृष्णकुमार श्रेष्ठ, डनबहादुर गुरूङ र उनकी श्रीमती बिना गुरूङलाई मुख्य प्रतिवादी बनाएको थियो। 

चन्द्र र कृष्णकुमारले भरियाको काम गर्थे। डनबहादुरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेटिङ मिलाएर सुन बुझ्ने काम गर्ने गरेको खुलेको हो। यसमा उनकी श्रीमती बिनाको पनि संलग्नता देखिएपछि भन्सार कार्यालयले उनीहरूविरूद्ध पनि मुद्दा दायर गरेको हो। बिना क्यान्सरकी बिरामी रहेको कारण तारेखमा राखिएको थियो। तर सोमबार अदालतमा उपस्थित नभएपछि उनी र उनका श्रीमान डनबहादुरलाई फरार कायम गरी मुद्दा चलाएको हो। 

यस्तै विमानस्थलका कर्मचारी प्लम्बर शेरबहादुर बस्नेत, कार्यालय सहयोगी रमेश देउला, लेकबहादुर तामाङ, एयर कन्डिसनर चलाउने/मर्मत गर्ने राधाकृष्ण श्रेष्ठ र अनिल श्रेष्ठविरूद्ध पनि मुद्दा दायर भएको हो। उनीहरूलाई सहयोगीको रूपमा कायम गरी मुद्दा दायर गरेको हो। 

अनुसन्धानको क्रममा उनीहरूले १३८ किलो सुन विमानस्थलबाट भित्र्याएको खुलेको थियो। भन्सारसँग बयान गर्नेक्रममा उनीहरूले १३८ किलो सुन तस्करी गरेको स्विकारेको प्रमुख भन्सार अधिकृत मणिराम पौडेलले बताए।  ‘हामीसँगको बयानमा उनीहरूले सुन तस्करी गरेको स्वीकारेका छन्। कृष्णकुमारले ९८ किलो, चन्द्र घलेले २६ किलो र मीन घलेले १४ किलो सुन भित्र्याएको स्वीकारेका छन्,’ उनले भने। 

१३८ किलोको एक अर्ब ४० करोड रुपैयाँको बिगो मागदाबी गरेको छ। भन्सार ऐन, २०६४ अनुसार उनीहरूलाई कैद सजाय मागदाबी गरेको छ।  उक्त ऐन अनुसार तीन करोडभन्दा बढी सुन तस्करी गरेको मुद्दामा ५ वर्षसम्म कैद सजाय हुनसक्ने प्रावधान छ। बिगोको हकमा उक्त बिगो असुल गरी त्यतिनै रकम बराबरको जरिवाना पनि मागदाबी गरिएको छ।