घुससहित पक्राउ परेका पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल भ्रष्टाचार मुद्दामा दोषी ठहर, एक वर्ष कैद र ६ लाख रुपैयाँ जरिवाना हुने फैसला

घुससहित पक्राउ परेका पर्यटन मन्त्रालयका प्राविधिक उपसचिव प्रमोद नेपाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतले उनलाई एक वर्ष कैद र ६ लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको हो । १७ साउन २०७९ मा ६ लाख रुपैयाँ सहित पक्राउ परेका नेपाललाई विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले दोषी ठहर गरेको हो ।

उपसचिव नेपालले पोखराको एक प्याराग्लाइटिङ कम्पनीको इजाजतका लागि ६ लाख रुपैयाँ घुस मागेका थिए । तरपछि बरामद गर्ने क्रममा साढे १६ लाख रुपैयाँ भेटिएको थियो ।

अख्तियारले उपसचिव नेपालको फोन सम्पर्कको विवरण (कल डिटेल) र रेष्टुरेन्टको सीसीटीभी फुटेजका आधारमा बीबी एयरबेजका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठले घुस दिएको निष्कर्ष निकाल्यो र उनलाई पनि मुद्दा चलाएको थियो । विशेष अदालतले भने घुस दिएको आरोप लागेका श्रेष्ठलाई सफाइ दिएको छ ।