दोलखा जिरीका २ सामुदायिक वनमा व्यापक वन फडानी गरि हानी नोक्सानी पुर्याएको भन्दै जिल्ला अदालत दोलखामा ५ जना विरुद्ध मुद्दा  दायर

जिल्ला डिभिजन वन कार्यालय दोलखाले गत  भाद्र ३१ गते जिल्ला सरकारी वकिल कार्यालय चरिकोटको निर्णय मुताविक जिल्ला अदालत दोलखामा वृक्षारोपन गर्ने भन्दै जिरीका दुईसामुदायिक वनमा व्यापक वन फँडानी गरेको अभियोगमा दुईवटा छुट्टा छुट्टै मुद्धा पेश गरेको छ । राष्ट्रिय वन क्षेत्रमा विना इजाजत रुख विरुवा कटान गरी हानिनाेक्सानी गरेको अभियोगमा दोलखा जिरी नगरपालिका-९ स्थित भुसुने सुंगुरे सामुदायिक वन उपभाेक्ता समुहका अध्यक्ष ५३ वर्षिय नारद सुनुवार, दोलखा जिरी नगरपालिका ९ बस्ने २५ वर्षको सुनिन्द्र सुनुवार र जिरी नगरपालिका-९ ठुलोपातलका २८ वर्षिय नवीन सुनवार रहेका छन् ।

 

ईलाका वन कार्यालय जिरी दोलखाका अनुसार भुसुने सुंगुरे सामुदायिक वन क्षेत्रमा ४९ वटा लामपाते, झिगाने, उत्तिस, गोब्रे सल्ला जातको १४२.४८ क्यू.फि. र लामापाते, अंगेरी लगायतका जातको दाउरा ३.९५ चट्टा काठदाउरा बरावरको ३७१७६.४६ विगो र वन एेन २०७६ को दफा ४९ (छ) बमोजिमको कसूरमा सोहि एेनको दफा ५० (६) बमोजिम पैदावर जफत गरी सोहि एेनको दफा (६) (ग) बमोजिम बिगो जरिवाना र ३ महिना सम्मको कैद वा दुवै सजायको फाैजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची २० बमोजिमको अभियोग पत्र मागदावी गरी जिल्ला अदालत दोलखामा मुद्धा दायर गरिएको ईलाका वन कार्यालय जिरी कार्यक्षेत्रका वन अधिकृत एवं अनुसन्धान अधिकृत विष्णु केसीले जानकारी दिए । 

त्यस्तै राष्ट्रिय वन क्षेत्रमा विना इजाजत रुख विरुवा कटान गरी हानिनोक्सानी गरेको अभियोग लगाइ दोलखा जिरी नगरपालिका-९ स्थित झाक्रेचोल्पे समुदायिक वन उपभोक्ता समुहको अध्यक्ष दोलखा जिरी-९ ठुलोपातल बस्ने ७५ वर्षिय टेक बहादुर खत्री र जिरी नगरपालिका-९ ठुलोपातल बस्ने ४० वर्षिय बिध बहादुर सुनुवार भन्ने बुद्दे बहादुर सुनुवारविरुद्धमा मुद्धा पेश गरेका छन् ।

उनीहरु विरुद्धमा झाक्रेचोल्पे सामुदायिक वन क्षेत्रमा ९६ वटा माैवाको रुख, चिलाउने र उत्तिस गरी ४१.९८ क्यू.फि. र माैवा, अंगेरी, गराँस लगायतका दाउरा ४.१५ चट्टा दाउरा बरावरको रु २२६५९.८९ विगो सहित वन एेन, २०७६ को दफा ४९(छ) बमोजिमको कसूरमा साेही एेनको दफा ५०(६) बमोजिम पैदावर जफत गरी सोहि एेनको दफा ५०(६) (ग) बमोजिम बिगो बमोजिम जरिवाना वा ३ महिना सम्म कैद वा दुवै सजाय समेत मागदावी गरी मुद्धा दायर गरिएको हो ।

दुईवटा सामुदायिक वन उपभाेक्ता समितिका अध्यक्ष लगायतको मिलेमतोमा विना ईजाजत रुख कटान गरी हानीनाेक्सानी पुर्याएको अभियोगमा जिल्ला अदालत दोलखामा अभियोग पत्र दायर गरिएको सामुदायिक वनहरुको नियमन गर्ने निकाय डिभिजन वन कार्यालय दोलखाका  डिभिजन वन कार्यालय प्रमुख  थीरबहादुर कार्कीले बताए ।

यसअघि दुईवटा सामुदायिक वन भुसुने सुंगुरे सामुदायिक वन उपभाेक्ता समुह र झाक्रेचोल्पे सामुदायिक वन समुहको पदाधिकारीको मिलोमतोमा डिभिजन वन कार्यालय दोलखा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, वन तथा वातावरण विभाग र ईलाका वन कार्यालय जिरी दोलखामा वन ऎन विपरीत स्थानीय वन उपभोक्ता समुहलाई कुनै जानकारी विना सूचना  जारी नगरी रुख बर्खाको समयमा गैर कानुनी हिसाबले वन फडानी गरेको भन्दै   स्थानीय ७ जना  उपभाेक्ताहरुले वन फँडानी सम्बन्धमा छानविनको लागि उजुरी निवेदन दिएका थिए । स्थानीय उपभोक्ताहरुले  धेरै वन क्षेती पुर्यायतापनी  राजनीतिक नेतृत्व, वन माफिया र विचौलियाको  दबाबमा परि  इलाका वन कार्यालय जिरी र जिल्ला डिभिजन वन कार्यालय दोलखाले नाममात्रको मुद्दा जिल्ला अदालतमा   उजुरी दर्ता गरेको आरोप छ।

दोलखा जिरी नगरपालिका-९ स्थित झाक्रेचोल्पे समुदायिक वन उपभोक्ता समुहको अध्यक्ष दोलखा जिरी-९ ठुलोपातल बस्ने ७५ वर्षिय टेक बहादुर खत्रीले  वर्षादमा जिल्ला डिभिजन वन कार्यालयबाट प्राप्त नर्सरी बोटविरुवा रोप्ने प्रयोजनको लागि मात्र झाँडी फँडानी गरेको सामुदायिक वन लाई हानी नोक्सानी क्षति पुर्याई रुख कटान नगरिएको बताए ।

जिल्ला अदालत दोलखाका उच्च श्रोतका  अनुसार सामुदायिक वन फँडानी गरिएको मुद्धा जिल्ला अदालत दोलखामा दायर भई भुसुने सुंगुरे सामुदायिक वन उपभाेक्ता समुहका अध्यक्ष ५३ वर्षिय नारद सुनुवार लाई रु २० हजार धराैटि र झाक्रेचोल्पे सामुदायिक वन उपभाेक्ता समुहका अध्यक्ष टेक बहादुर खत्रीलाई रु १० हजार धराैटीमा रिहा भई तारेखमा छोडिएको अन्य ३ जना आरोपीहरु सुनिन्द्र सुनुवार, नवीन सुनवार र बिध बहादुर सुनुवार भन्ने बुद्दे बहादुर सुनुवारलाई बाटोको म्याद बाहेक २१ दिन भित्र जिल्ला अदालत दोलखामा हाजिर हुन स्थानीय जनप्रतिनिधिको रोहवरमा म्याद तामेल गरिएको बताए ।