जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाही, नवलपुरमा कार्यरत ट्राफिक प्रहरी जवानमाथि छुरा प्रहार भएको छ । ट्राफिक प्रहरी जवान प्रमोद महतोमाथि शुक्रवार कार्यालयमै छुरा प्रहार भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख एवम् प्रहरी निरीक्षक मदन थापाले जानकारी दिए । छुरा प्रहार गर्ने रौतहटको राजपुर नगरपालिका–१ घर भएका यमामुद्दिन देमानलाई प्रहरीले पक्राउ गरेको छ ।
छुरा प्रहारबाट प्रहरी जवान महतोको निधार, घाँटी, हात र पेटमा चोट लागेको छ । घाइते महतोको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।