स्यानिटरी प्याड खरिदमा भ्रष्ट्राचार गर्ने धनुषा शहीदनगर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

स्यानिटरी प्याड खरिद गर्दा सार्वजनिक खरिद ऐन नियमावलीविरुद्ध गएर खरिद गरेपछि धनुषा शहीदनगर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका तत्कालीन मेयर उदयकुमार यादव, उपमेयर शिला देवी कापर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शत्रुधन यादव, लेखापाल लोकबहादुर नेपाली, जिन्सी शाखा प्रमुख सुदिपकुमार भट्टराई, स्वास्थ्य संयोजक कपिलदेवप्रसाद अधिकारी, सव–इन्जिनियर सरोजकुमार महतो र रेजा ट्रेडिङ प्रालिका सञ्चालक एवम् रेज टुडे पत्रिकाका प्रकाशक अकवर मंसुर श्री माध्यामिक विद्यालयका तत्कालीन प्रधानाध्यापक श्रीकृष्ण भिनवारविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७७/०७८ मा नगरपालिकाले सशर्त अनुदानतर्फको स्यानिटरी प्याड खरिदको लागि फागुन १९ मा रेजासँग खरिद सम्झौता भएकोमा सम्झौता हुन अघि नै फागुन १३ मा १३ लाख ९३ हजार ६ सय ८७ रुपैँया भुक्तानी गरेको आयोगको अनुसन्धानबाट खुलेको छ ।

खरिद सम्झौता हुँदा स्यानिटरी प्याडको आवश्यक संख्या समेत नखुलाइकनै रेजाले आपूर्ति गरेपछि मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि रेग्मीले बताए । रेजा टुडे पत्रिकाले सूचना प्रकाशन गरेको भनेर झुटा विवरण उल्लेख गरेपछि उसको प्रकाशकलाई समेत मुद्दा दायर गरेको आयोगले जनाएको छ । 

आयोगले नगरप्रमुख यादव, उपप्रमुख कापर, प्रशासकीय अधिकृत यादव, लेखापाल नेपाली, जिन्सी शाखा प्रमुख भट्टराई, स्वास्थ्य संयोजक अधिकारी, प्रधानाध्यापक भिनवार र सव– इन्जिनियर महतो विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) (ङ) बमोजिम कसुर भएकोले सोही ऐनको दफा ८ को उपदफा १ बमोजिम कैद र बिगो बमोजिमको जरिवाना गरी विगो समेत असुल उपर हुने मागदावी लिइएको छ । बिगो रकम १३ लाख ९३ हजार ६ सय ८७ रुपैँया मागदावी लिइएको छ ।

रेजा ट्रेडिङ प्रालिका प्रोपाइटर एवं रेजा टुडे पत्रिकाका प्रकाशक मंसुरविरुद्ध बिगो रकम एउटै भएपनि भ्रष्टाचार निवारण ऐन, २०५८ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर भएकोले ऐ। दफा ८ को उपदफा (४) बमोजिम सजाय मागदावी गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।