पोखरा महानगरपालिका–१८ मा पर्ने साराङकोटको सार्वजनिक जग्गा व्यक्तिको नाममा गरिदिने जनप्रतिनिधिसहित ६ जना भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले तत्कालीन ग्यारजाती गाविस र परिवर्तित साराङकोट गाविसका जनप्रतिनिधिसहित मतियारसमेतलाई जनही एक लाख ७१ हजार जरिवानाको फैसला गरेको हो ।
साराङकोट गाविसका तत्कालीन अध्यक्षहरू मोदनाथ रेग्मी, झपटबहादुर थापा, वडा नम्बर–७ का तत्कालीन अध्यक्ष मानबहादुर थापा, वडा नम्बर–७ कै तत्कालीन सदस्य एमबहादुर गुरुङ र तत्कालीन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष भरतबहादुर थापालाई जनही एक लाख ७१ हजार २०० जरिवानाको फैसला भएको छ ।
मतियारको भूमिका निर्वाह गरेको ठहर गर्दै सार्वजनिक जग्गा आफ्नो नाममा दर्ता गर्न पहल गरेका दिलबहादुर गुरुङलाई पनि मुख्य प्रतिवादीसरहकै जरिवाना हुने फैसला भएको छ ।