वाइडबडी प्रकरणमा पूर्वमन्त्री जीवनबहादुर शाहीसहित ३२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा, १ अर्ब ४७ करोड माग दाबी

नेपाल वायुसेवा निगमको वाइडबडी दुई जहाज खरिद गर्दा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही, पूर्वसचिवद्वय शिशिरकुमार ढुंगाना र शंकर अधिकारी, वायुसेवा निगमका तत्कालीन प्रमुख सुगतरत्न कंशाकार, सहसचिव बुद्धि सागर लामिछाने, टेकनाथ आचार्य, निमा नुरु शेर्पा, मुक्तिराम पाण्डे, जीवन सिटौला र अच्युतराज पहाडी लगायत ६ जना बिदेसी नागरिकलाई अख्तियारले प्रतिवादी बनाएको छ। अख्तियारले वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ ।

शाही हाल नेपाली कांग्रेस कर्णाली प्रदेशको संसदीय दलको नेता छन् । उनी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका बेला २ वटा वाइडबडी जहाज खरिद गर्ने निर्णय भएको थियो । २०७४ वैशाखमा मन्त्रिपरिषद् बैठकमा निर्णय भएर विमान खरिद भएकोमा ३ अर्ब बढी भ्रष्टाचार भएको आरोप लागेको थियो । त्यस बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै थिए ।

यो प्रकरणको अनुसन्धानमा तानिएका पूर्वमन्त्रीहरू जितेन्द्रनारायण देव र दिलनाथ गिरीको भने संलग्नता पूष्टी नभएकाले अभियोग दायर नभएको अख्तियारले जनाएको छ ।