'झापा कारागारको हुलदङ्गा नियन्त्रणमा आइसक्यो' : प्रजिअ पोखरेल

झापा - झापा कारागारको हुलदङ्गा नियन्त्रणमा आइसकेको छ । आज दिउँसो असन्तुष्ट कैदीबन्दीले गरेको आगजनी र ढुङ्गामुढा एक घण्टापछि नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए ।

मनोज लावती नामका कैदीबन्दीलाई चन्द्रगढी कारागारबाट सुनसरीको झुम्का कारागारमा सरुवा गर्न लाग्दा असन्तुष्ट कैदीबन्दीको समूहले कारागारभित्र आगजनी गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए ।

उनका अनुसार अपराह्न ३ बजेतिर कैदी लावतीलाई कारागार प्रशासनले झुम्का लैजान कारागारबाट बाहिर निकाल्नासाथ कैदीबन्दीले नारा जुलुस र ढुङ्गामुढा सुरु गरेका थिए । कारागारभित्र उनीहरुले आगजनी गर्दा धुँवाको मुस्लो फैलिएको थियो ।