दोलखा पहिरो अपडेट : एक जनाको शव भेटियो, तीन जना अझै बेपत्ता

काठमाडौँ - दोलखाको गौरीशंकर गाउँपालिकामा पहिरोले घर पुरिँदा हराएका चार जनामध्ये एक जनाको शव फेला परेको छ । तीन वर्षीय बालक प्रिन्स थामीको शव फेला परेको प्रहरीले जनाएको छ ।

पहिरोमा अझै तीन जना बेपत्ता छन् । पहिरोमा पुरिएर स्थानीय कृष्णबहादुर मगर, उनकी श्रीमती देव मगर र हरिलाल श्रेष्ठ बेपत्ता भएका हुन् । 
बुधबार रातिदेखि अविरल वर्षासँगै गौरीशङ्कर–८ मा गएको पहिरोले वडा नम्बर ७ को टोपाटारमा अत्यधिक क्षति पुर्‍याएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले जानकारी दिए । 

बिहीबार साँझ खसेको पहिरोले ५ घर पुरेको छ । पहिरोमा पुरिएकाहरुको सुरक्षाकर्मी र स्थानीयबासीले खोजी गरिरहेको गौरीशंकर गाउँपालिका( ७ वडाध्यक्ष दावा शेर्पाले जानकारी दिएका छन् ।