मापदण्डविपरीत खाद्य पदार्थ उत्पादन गर्नेविरुद्ध मुद्दा दायर

खाद्य प्रविधि तथा गुण नियन्त्रण  कार्यालय जनकपुरधामले मानव स्वास्थ्यमा असर पर्ने तथा सरकारले तोकेको मापदण्डविपरीत खाद्यपदार्थ उत्पादन र बिक्री वितरण गर्नेविरुद्ध मुद्दा दायर गरेको छ । उक्त कार्यमा संलग्न उद्योग सञ्चालकमाथि मुद्दा दायर गरिएको हो । 

कार्यालयले उद्योगको नमुना जाँच गर्दा गुणस्तरहीन खाद्यपदार्थ उत्पादन गरेको जाँचको क्रममा फेला परेपछि गत आर्थिक वर्ष २०८०/८१ मा ती मुद्दा दायर गरेको हो । मधेस प्रदेशको आठ जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयअन्तर्गतका कार्यालयले विभिन्न उद्योगबाट उत्पादित सामग्रीको जाँच गर्दा गुणस्तरहीन खाद्यपदार्थ भेटिएपछि मुद्दा दायर गरिएको कार्यालयका खाद्य अनुसन्धान अधिकृत प्रवीण तिवारीले बताए । 

खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय जलेश्वर, मलगङ्वा, वीरगञ्ज, जनकपुर तथा राजविराजस्थित डिभिजन कार्यालयले आ–आफना सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् । अधिकृत तिवारीका अनुसार गत आर्थिक वर्षमा मधेश प्रदेशको आठ जिल्लाबाट तीन हजार पाँच सय ८७  खाद्यपदार्थको नमुना जाँच गर्दा ७४ वटा न्यून गुणस्तरीय पाइएका थिए । तीमध्ये ३१ वटाको मुद्दा दायर, १६ वटाको बयान सकिएको तथा अन्यको बयान लिन बाँकी रहेको छ । सो कार्यालयले  उक्त अवधिमा खाध अनुज्ञापत्र  वितरण, नवीकरण र कारबाहीबापत रु २६ लाख ७७ हजार राजस्व संकलन गरेको छ ।

कार्यालयअन्तर्गत मधेस प्रदेशमा चारवटा डिभिजन कार्यालय रहेका छन् । त्यहाँबाट बजारको अनुगमन तथा नमूना संकलन कार्य भई खाद्यपदार्थको जाँच गर्ने र गराउने कार्य हुने गरेको प्रमुख तिवारीले बताए । दूध तथा दुग्ध पदार्थ, तेल र तेलहन पदार्थ, फल तथा सागपात, मसला, चिया, कफी, नुन, दाल, दलहन, प्रोशोधित पिउने पानी, गुलियोपदार्थ, मासु, दाना लगायतका खाद्यपदार्थको नमुना जाँच गरिएको कार्यालयले जनाएको छ ।