कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय विरुद्ध परेको योगराज ढकाल ‘रिगल’ विरुद्धको रिटमा बिहीबार सर्वोच्चमा पेशी

नेपालगन्जका योगराज ढकाल ‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा बिहीबार सुनुवाइ हुने गरी पेशी तोकिएको छ । रिगलले खुँडा प्रहार गरेर नेपालगन्जका चेतन मानन्धरको हत्या गरेका थिए ।  चेतनकी पत्नी भारती शेर्पाले गत आइतबार रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । 

आफ्ना पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरेर उनलाई फेरि कैदमा पठाउन शेर्पाले माग गरेकी छन् । उनले ढकालको कैद मिनाहाको सिफारिस गर्ने जिल्ला कारागार र जिल्ला प्रशासन कार्यालय दाङ, गृह मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय र कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय पनि बदर गर्न माग गरेकी छन् ।

उक्त निवेदनमाथि दुई पटक पेशी तोकिए पनि न्यायाधीशहरुले मुद्दा हेर्न नभ्याएका कारण सुनुवाइ हुन सकेको छैन ।