वैवाहिक बलात्कार मुद्धामा नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडविरुद्ध पक्राउ पूर्जी जारी

गायक रवि ओडविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । उनी नेपाल आइडल सिजन २ का विजेतासमेत हुन ।  उनकी श्रीमतीले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै रविविरुद्ध उजुरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले जिल्ला अदालतको अनुमति लिएर पक्राउ पुर्जी जारी गरिएको बताए । चैत २० गते ओडकी श्रीमतीले प्रहरीमा किटानी उजुरी दिएकी थिइन् । सोही दिन अदालतले पनि पक्राउ पुर्जीको अनुमति दिएको थियो ।

पक्राउ पुर्जी जारी भएपछि गायक ओडको खोजीलाई तीव्र पारिएको र उनी हुनसक्ने ठाउँमा पत्राचार समेत गरिएको जनाए । ‘हामीले उहाँ हुनसक्ने ठाउँमा पत्राचार समेत गरेर खोजी तीव्र पारेका छौं,’ डीएसपी जोशीले भने । कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत ओडकी श्रीमतीले जाहेरी दिएकी हुन् । ओडले २०७५ पुस ६ गते नेपाल आइडलको दोस्रो सिजनको उपाधि जितेका थिए । ओडको स्थायी ठेगाना गुलरियाको कृष्णपुर नगरपालिका हो ।