लुम्बिनी प्रदेशका तत्कालीन सचिव वैकुण्ठ अधिकारीसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका तत्कालीन सचिव वैकुण्ठ अधिकारीसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले गैरकानुनी लाभ तथा हानि पुर्‍याई भ्रष्टाचार गरेको भन्दै आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

अख्तियारले मुद्दा दायर गरेका अरू व्यक्तिमा लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन महाशाखा प्रमुख श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपाली र आधुनिक कृषि किसान संसार र सो संस्थाका प्रबन्ध निर्देशक राजाराम तिवारी छन् ।

आर्थिक वर्ष २०७५/७६ मा सञ्चालित कृषि यान्त्रिकीकरण कार्यक्रममा कृषकलाई कम गुणस्तरको कृषि उपकरण उपलब्ध गराएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान गरेको थियो ।

तत्कालीन प्रदेश सचिव अधिकारीले सम्झौताबमोजिम खरिदसम्बन्धी सम्पूर्ण कागजात अध्ययन र स्थलगत अनुगमन समेत नगरी÷नगराई भुक्तानी टिप्पणी सदर गरेको पाइएको अख्तियारले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनीहरूसँग एक करोड ३१ लाख ६० हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।