प्रेसविरोधी अभिव्यक्तिको चौतर्फी आलोचना

काठमाडौँ - सरकार छाड्ने निर्णय गरेपछि आइतबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई लक्षित गर्दै दिएका अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ । सञ्चारसम्बद्ध पेसागत संघसंस्था, संविधानविद्, कानुन व्यवसायी, नागरिक समाजका अगुवा र राजनीतिकर्मीले लामिछानेले पदमुक्त हुँदाको आक्रोश मिडियामाथि पोखेको बताएका छन् ।

नेपाल पत्रकार महासंघले प्रेस विज्ञप्ति जारी गरी लामिछानेले नेपाली सञ्चार क्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाउँदै धम्कीपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भएको जनाएको छ । ‘सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रूपमा धम्की दिइनुले नेपालका सञ्चार प्रतिष्ठान र सञ्चारकर्मी असुरक्षित हुन सक्ने तथ्यप्रति महासंघ चिन्ता प्रकट गर्दछ,’ महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लामिछानेको अभिव्यक्तिले कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी स्वयं लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीले लिनुपर्नेमा महासंघ प्रस्ट पार्न चाहन्छ ।’

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र नागरिक अधिकारको पक्षमा निरन्तर संघर्ष गरेको नेपाली प्रेस कुनै पनि दल वा व्यक्तिको धम्कीबाट विचलित नहुने पनि महासंघले भनेको छ । महासंघले लामिछानेलाई आफ्ना अभिव्यक्ति फिर्ता लिई प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न आग्रह गरेको छ । महासंघका पूर्वअध्यक्ष सुरेश आचार्य लामिछानेको आक्रोश आफूलाई कानुनभन्दा माथि राखेर राज्यबाट प्राप्त हुने अधिकार दुरुपयोगको सपना बिथोलिएपछिको विचलित मानसिकताको परिणाम भएको बताउँछन् । लामिछाने विगतमा मिडियालाई दुरुपयोग गरेर स्थापित भएको र अहिले मिडियालाई नै गाली गरेर आफू चोखिने प्रयत्न गरिरहेको आचार्यको भनाइ छ । ‘लामिछानेमाथि लागेका आरोपलाई मिडियाले निरन्तर उठाइरहेका छन्, जसबाट उम्किन सक्ने अवस्था छैन,’ उनले भने, ‘त्यसैले आक्रामक भएर सहानभूति लिने दुष्प्रयास गरिरहेका छन् ।’

महासंघका अर्का पूर्वअध्यक्ष शिव गाउँलेले नेपाली प्रेसले लामिछानेमाथि उठाएका प्रश्नलाई अदालतले फैसलामार्फत वैधानिकता दिएपछि उनी असहिष्णु भएर पत्रकारितामाथि खनिएको बताए । ‘शक्तिबाट बाहिरिएपछि नयाँ हुन् वा पुराना राजनीतिज्ञहरू मिडियाप्रति असहिष्णु हुने गरेका छन्, दीर्घकालको सम्भावना बोकेका राजनीतिज्ञले हतासमा संयम गुमाउनु राम्रो होइन,’ उनले भने, ‘यसले प्रेस आक्रोशित बनेको छ, लामिछानेले चाँडै क्षमायाचना गर्नुपर्छ ।’