राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध हुने 

 काठमाण्डौँ - राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध हुने भएकि छिन् । उपाध्यक्षका लागि तोकिएको मनोनयनको समयमा अर्यालको एक मात्र प्रस्ताव दर्ता भएको छ । कार्यकाल सकिएको करिब एक वर्षपछि राष्ट्रिय सभा उपाध्यक्ष चयनको प्रक्रिया अघि बढाइएको हो। अर्याललाई सत्ता गठबन्धनबाट माओवादी केन्द्र, नेकपा ९एमाले०लगायतका दलहरूको समर्थन छ। 

उपाध्यक्ष चयनको औपचारिक प्रक्रिया सोमबारको राष्ट्रिय सभा बैठकले अघि बढाउने छ । प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गरेपछि दलीय आधारमा प्रस्तावमाथि छलफल हुनेछ । प्रस्तावको छलफल सकिएपछि एक मात्र प्रस्ताव भएकाले निर्विरोध भएको घोषणा बैठकमा गरिनेछ । 

अर्यालको प्रस्तावकमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र समर्थकमा देवेन्द्र दाहाल र खिमलाल देवकोटा छन् । हाल ५८ सदस्यीय राष्ट्रिय सभामा प्रस्तावक र समर्थक दलको स्पष्ट बहुमत छ । एमालेका तर्फबाट निर्वाचित खिमलाल भट्टराईको स्थानमा निर्वाचन प्रक्रिया अघि बढिसकेको छ। माघ २५ गते उक्त स्थानमा निर्वाचन हुँदैछ । माओवादी केन्द्रका १५ र एमालेका १५ सदस्य छन् । यस्तै सभामा  कांग्रेसका १०, एकीकृत समाजवादीका आठ, जनता समाजवादीका तीन, लोकतान्त्रिक समाजवादीका एक, स्वतन्त्र सदस्य एक, राष्ट्रिय जनमोर्चाका एक र मनोनीत तीन सदस्य छन् ।