बागलुङमा पहिरोमा पुरिएर एकजनाको मृत्यु

सोमबार बेलुकादेखि आएको अविरल वर्षाका कारण पहिरो जाँदा बागलुङमा एकजनाको मृत्यु भएको छ। जिल्लाको बडिगाड गाउँपालिका– ९ दर्लिङखोला भन्ने ठाउँमा घरमाथिबाट आएको पहिरोमा पुरिएर स्थानीय श्यामलाल परियारका १५ वर्षीय छोरा विधान परियारको मृत्यु भएको छ।पहिरोका कारण स्थानीयहरूका केही घर पुरिनुका साथै जोखिममा रहेको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन् । नयाँबस्ती सारिएको क्षेत्रमा पहिरो गएका कारण अन्य के–कति क्षति भएको छ सोको विवरण आइनसकेको गाउँपालिका अध्यक्ष अधिकारीले बताइन्।

पहिरोका कारण बडिगाड गाउँपालिकाकै वडा नम्बर १० दर्लिङमा एक घरगोठ बगाउँदा तीनजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । स्थानीय चक्रबहादुर बुढाको घरगोठ बगाउँदा बुढासहित श्रीमती र एक छोरी बेपत्ता भएका छन्।