आजको मौसम : तीन दिन देशभरी नै मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ - अहिले देशमा मनसुनी वायुको प्रभाव उल्लेख्य रुपमा परेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तर तथा पूर्वतिर सरदर स्थानभन्दा दक्षिणतिर रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गए राति बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा भएको छ ।

मौसम विज्ञान विभाग, जल तथा मौसम पूर्वानुमान महाशाखाले यी प्रदेशका केही स्थानमा भारी वर्षा भएसंगै नदीमा जलसतह बढ्ने तथा बाढी, पहिरो जान सक्ने सम्भावना भएकाले सचेत रहन आग्रह गरेको छ ।

महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार आगामी तीन दिन अर्थात मंगलबारसम्म नै देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना छ । मानन्धरका अनुसार मनसुनी वायुको प्रभाव साथै भारतको मध्य प्रदेश आसपास रहेको न्यूनचापीय प्रभाव रहेकाले देशभरकै मौसम बदली रहेको छ ।